१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २९ मंगलबार
  • Friday, 04 July, 2025
२o८१ जेठ २९ मंगलबार १७:३६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकीमा मन्त्रिपरिषद् विस्तार : दुई मन्त्री थपिए, राजीव गुरुङ छैटौँपटक मन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २९ मंगलबार १७:३६:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिएको भोलिपल्ट मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री थप गरेका छन्। दुई मन्त्री थपिएसँगै गण्डकीमा मन्त्रिपरिषद् सदस्यको संख्या पाँच पुगेको छ।

मंगलबार विश्वासको मत लिएका मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषदमा हेरफेर गरेका हुन्।

थपिएका दुई मन्त्रीमा मनाङ १ (ख)बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री र माओवादीको चुनावचिह्न लिएर गोरखाबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त भएका छन्।

मनाङे छैटौँपटक र देवकोटा पहिलोपटक मन्त्री भएका हुन्। सांसदका रूपमा मनाङेको यो दोस्रो कार्यकाल हो। पहिलो कार्यकालमा उनी तीन र दोस्रो कार्यकालमा तीनपटक मन्त्री भएका छन्।

मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा आफ्नो पद जोखिममा राखेर फ्लोर क्रस गर्दै देवकोटाले मत दिएपछि मुख्यमन्त्रीलाई आवश्यक बहुमत पुगेको थियो। नियुक्त दुई मन्त्रीले बुधबार शपथसँगै आफ्नो कार्यभारसमेत सम्हालेका छन्।

१६ जेठमा नेपालको संविधानको धारा, १६८ को उपधारा (३) अनुसार पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सोही दिन पाण्डेले विन्दुकुमार थापालाई सामाजिक विकास तथा स्वास्थ्यसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी गरी दुई मन्त्रालयको जिम्मा दिएका थिए भने डा. टकराज गुरुङलाई आर्थिक मामिलामन्त्रीको जिम्मेवारी तोकेका थिए।