
नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित युथ लिग भिआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ। सोमबार सम्पन्न प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम गर्दै किकर्सको यू–१४ टोली च्याम्पियन बनेको हो।
राउन्ड रोबिन लिग र फाइनल चरणका गरी १३ खेल खेलेको किकर्सले ९ खेलमा जित र चार खेलमा बराबरीको नतिजा निकाल्दै ३१ अंक जोड्यो। किकर्सको यस समूहमा जर्मनीको विभिन्न एकेडेमीका अन्य ९ टोली सहभागी थिए।
टोलीले अन्तिम दिनको खेलमा चारमध्ये तीनमा जित र एकमा बराबरीको नतिजा निकाल्दै उपाधि सुनिश्चित गरेको हो। टोलीले आफ्नो अन्तिम खेलमा एसभी सिलेन्बाकलाई २–० गोल अन्तरले पराजित गर्यो। टोलीको यो महत्त्वपूर्ण जितमा आर्यवीर सिंह एक्लैले दुई गोल गरे। आर्यवीर आफ्नो समूहमा सर्वाधिक गोलकर्तासमेत बने। उनले प्रतियोगिता अवधिभर आठ गोल गरे।
नेपाली टोलीलाई जर्मनीको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी एवं बुन्डेस लिगा क्लब स्टुटगार्टका पूर्वकप्तान थोमस हिल्सपर्गरले पुरस्कार वितरण गरेका थिए। विश्वकपसमेत खेलिसकेका हिल्सपर्गरले नेपाली खेलाडीहरूसँगसमेत केही समय बिताएका थिए।
तीन दिनसम्म सञ्चालन भएको यस प्रतियोगिताबाट नेपाली खेलाडीहरूले महत्त्वपूर्ण अनुभव लिने अवसर पाएको किकर्सका अध्यक्ष नवीन पाण्डेले बताए। ‘हाम्रो उद्देश्य नेपाली खेलाडीहरूलाई पनि जर्मनीको जस्तो विकसित फुटबल संस्कृतिको अनुभव गराऔँ, उनीहरूलाई पनि यो स्तरको फुटबल खेल्ने अवसर दिऔँ भन्ने हो,’ अध्यक्ष पाण्डे भन्छन्, ‘मलाई विश्वास छ कि नेपाली खेलाडीहरूले जर्मनीको यो प्रतियोगिताबाट त्यो अवसर पाएका छन्। हाम्रो यो उद्देश्यलाई साथ दिने खेलाडीका अभिभावक र सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु।’
मोम्मेन्डोर्फ फुटबल क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको यस प्रतियोगिताको यो ५५औँ संस्करण हो। प्रतियोगितामा विभिन्न उमेर समूहमा गरी ७६ टोली र २० क्लबका गरी १२ सयभन्दा बढी खेलाडीले भाग लिएका थिए।