
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संसदीय छानबिन समितिको मागबाट आफ्नो पार्टी पछि नहटेको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी पुन: दाेहाेर्याउँदै यस्तै प्रकारकाे अभियाेगमा पक्राउ पुर्जी जारी भएर सांसद गीता बस्नेत फरार सूचीमा रहेकाे र अर्का व्यक्ति गृहमन्त्री भएकाे बताए।
उनले आइतबार गृहमन्त्री लामिछानेले संसदमा नबोलेर लामाे बर्बराएको आरोप लगाए। सांसद पाण्डेले गृहमन्त्रीले कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्रीमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिए।
उनले भने, ‘गृहमन्त्रीले हाम्रो पार्टी उपसभापति र महामन्त्रीमाथि जुन किसिमको लाञ्छना लगाउनुभयो म चुनौती दिन चाहन्छु, गृहमन्त्रीले हाम्रो पार्टीका उपसभापति र महामन्त्रीको नाम किटेरै टिओआर लेख्नुपर्ने हो कि कांग्रेसकै नाम लेख्नुपर्ने परेपनि लेख्नुस्। छानबिनको समय पनि तोक्नुस् र छानबिनको निचोड हाम्रो उपसभापति र महामन्त्री दोषी हुनुभयो भने कांग्रेसका कोकोलाई कारबाही गर्न सक्नुहुन्छ।उहाँले देशको सूचना बेच्ने एजेण्ट यही सदनमा छ भन्नुभयो। माननीय त्यो देखाउननुस् हामी गलहत्याउन तयार छौँ, होइन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई गलहत्याउन पनि हामी चुक्ने छैनौँ।’