१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 07 September, 2024
नयाँ पत्रिका न्यूयोर्क
२o८१ जेठ ५ शनिबार o८:५९:oo
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

अमेरिकाको न्युयोर्कमा 'नेपाल डे परेड' गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:५९:oo

परेड सफल बनाउन पर्यटन प्रवर्द्धकको अपिल

अमेरिकाको न्युयोर्कमा 'नेपाल डे परेड' गरिने भएको छ। गैरआवासीय नेपाली संघ, अमेरिका न्युयोर्क च्याप्टरको मूल आयोजना तथा स्थानीय नेपाली संघसंस्थाहरूको सहभागितामा यही आइतबार न्युयोर्कको म्यानहाटन सहरमा परेड गर्न लागिएको हो ।

परेडलाई सफल बनाउन न्युयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले वक्तव्य जारी गर्दै 'नेपाल डे परेड'मा सहभागी हुन डायस्पोराका सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन्। वक्तव्यमा भनिएको छ, 'नेपाल र नेपालीको पहिचान, कला, संस्कृति र सभ्यताको आफ्नै इतिहास र विरासत सगरमाथाजस्तै उँचो छ। यो गौरवशाली इतिहास र विरासतको संवर्द्धन नेपालमा मात्र नभई नेपालीहरू रहेका हरेक ठाउँबाट हुँदै आएको छ। परेडले अमेरिकामा नेपाल र नेपालीका लागि आफ्नो पहिचान, एकता र अस्तित्व स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।'

गैरआवासीय नेपाली संघ, अमेरिका न्युयोर्क च्याप्टरको आयोजना एवं स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समर्थनमा नेपाल डे परेड हुन लागेको हो। कार्यक्रमले नेपालको मौलिक भेषभूषा, कला, संस्कृतिको प्रवर्द्धनसँगै नेपाल र अमेरिकाको सम्बन्धलाई जनस्तरमा पुर्‍याउन मद्दत गर्ने प्रवर्द्धक श्रेष्ठले दाबी गरेका छन्। उनले नेपाल डे परेडले नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। वक्तव्यमा भनिएको छ, 'कार्यक्रम सफल बनाउनु तपाईं–हामी सबै नेपालीको दायित्व हो। कार्यक्रममा सहभागिता जनाएर नेपाली एवं नेपाली मूलका अमेरिकी नागरिकहरूले अपनत्व महसुस गराउने ऐतिहासिक अवसर पनि हो।'

उनले नेपाल डे परेडमा सम्पूर्ण नेपाली समुदायका महानुभावहरूलाई सहभागिताका लागि आह्वान गर्दै सबै मिलेर म्यानहाटन सहरबाट सगरमाथाको देश नेपाल र नेपालीको कला–संस्कृति विश्वभर फैलाउन र गौरवशाली विरासतको प्रवर्द्धनमा आ–आफ्नो तर्फबाट योगदान पुर्‍याउन आग्रह गरे।

सन् २०१६ देखि प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसर पारेर नेपाल डे परेड गरिँदै आएको छ। परेडमा न्युयोर्कलगायत न्युजर्सी र कनेक्टिकट राज्यबाट पनि नेपाली एवं नेपाली मूलका अमेरिकीहरूको उल्लेख्य सहभागिता हुने गरेको छ।

परेडमा नेपाली कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रदर्शनीसमेत गरिनेछ। परेड म्यानहाटन सहरमा र्‍याली र बाजागाजासहित परिक्रमापछि बृहत् सभा गरिनेछ।

परेडका लागि ई. टेम्बा शेर्पालाई कन्भेनर तोकिएको छ भने सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समितिहरू निर्माण गरिएको परेड एवं एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्लले जानकारी दिए।