१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o७:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जताततै सडक निर्माणले संकटमा अन्नपूर्ण पदमार्ग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:५७:oo

पर्यटकको पदयात्रा छोटिँदै गएपछि होटेल व्यवसायी चिन्तित

जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । यसअघि २१ दिन लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको हो । यसबाट होटेल व्यवसाय नै संकटमा परेको व्यवसायीको गुनासो छ । 

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढे पनि पदायात्रा छोटिँदै गएपछि होटेल व्यवसाय संकटमा परेको लामो समयदेखि पदमार्गमा होटेल सञ्चालन गरेकी पारु गुरुङ बताउँछिन् । पर्यटक आगमन वृद्धि हुँदै गए पनि जथाभावी कच्ची सडक निर्माणले पदयात्रा छोटिँदै गएको उनको भनाइ छ । सडक निर्माणले पर्यटकको पदयात्रा र बसाइ अवधि छोटिएकाले उनीहरूले गर्ने खर्चसमेत घटेको पर्यटन व्यवसायी पाल्देन गुरुङ बताउँछन् । ‘पदयात्रा अवधिसँगै यस क्षेत्रका स्थानीयको पर्यटन व्यवसायबाट हुने आम्दानी पनि घटेको छ,’ उनले भने ।

लोकेन्द्र घले, अध्यक्ष, चामे गाउँपालिका
पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग अहिले सातदेखि १० दिनमा पूरा गर्न सकिने भएको छ ।

आधा दशकअगाडिसम्म दैनिक डेढ सयको हाराहारीमा पर्यटक आवत–जावत गर्ने पदमार्गका सडकमा सवारीसाधन बेँसीसहरबाट सीधै मनाङ पुग्न थालेपछि पदमार्गका होटेल अहिले संकटमा परेका छन् । पदमार्ग हुँदै धुलेसडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा पर्दै जान थालेको छ । हिमाली जिल्ला मनाङ पुग्न सहज बनाउने उद्देश्यले ३१ वर्षअघि नेपाली सेनाले ट्रयाक खोल्यो । सेनाले ०६९ मा लमजुङ सदरमुकाम बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकको ट्रयाक खोलेर यात्रा सहज बनाइदियो । सेनाले सडक सरकारलाई हस्तान्तरण गर्दा यहाँका धेरैजनामा खुसियाली छाएको थियो । सडक सञ्जाल निर्माण भएपछि भने यहाँका स्थानीय, पर्यटक र भारी बोकेर दैनिकी चलाउने मजदुरलाई असर गरेको छ । यसले पदमार्ग नै प्रभावित भएको छ । 

केही स्थानमा पदमार्ग र सडक एउटै बनेपछि यसले स्थानीय, पर्यटक र ज्यालादारी मजदुरलाई प्रत्यक्ष प्रभाव परेको छ । मनाङको माथिल्लो क्षेत्रमा पनि सडक सञ्जाल पुर्‍याइएको छ । मनाङ ०७१ मा सडक सञ्जालले जोडिएको हो । यसको तीन वर्षपछि त्यहाँभन्दा ६ किलोमिटरमाथिको खाङ्सारसम्मै सडकमा जोडिएको थियो । लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट)को यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली क्षेत्र थोराङ्ला भन्ज्याङ (५,४१६ मि) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुंगिन्छ । यस पदमार्गसम्मै सडक पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन् । कैयौँ पदमार्गबाटै सडक त कैयौँ पदमार्ग नै मेटिएका छन् ।

पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग अहिले सातदेखि १० दिनमा पूरा गर्न सकिने चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । ‘मनाङमा ०५० सम्म होटेल खुलेका थिएनन् । चक्रीय अन्नपूर्ण पदमार्गको पनि प्रचार–प्रसार थिएन । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि यसले संरक्षण र पर्यटन क्षेत्रको काम गर्न थालेको हो,’ उनले भने ।

सन् १९९६ देखि पदमार्गमा आउने पर्यटकको तथ्यांक लिने र यसको प्रचार–प्रसार हुन थालेको बताइन्छ । त्यतिवेलासम्म पनि मनाङमा सामग्री ढुवानीमा अन्य कुनै पनि साधन प्रयोग हुँदैनथ्यो । भरियाले बेँसीसहरबाट ५/६ दिन लगाएर भारी बोकेर सामग्री पुर्‍याउने गर्थे ।

सडक विस्तारपछि होटेल बन्द गरेर अन्य व्यवसायतिर
०६९ मा मनाङ सदरमुकाम चामे सडक सञ्जालमा जोडिएको दुई वर्षभित्रै माथिल्लो मनाङसम्म मोटर चल्यो । चामेबाट माथिल्लो मनाङ गाउँसम्म मोटर चल्न थालेपछि पहिले भरिया लिएर बाटोमा क्याम्पिङ गर्दै पदमार्गमा जाने पर्यटक अहिले सीधै होटेलमा वास बस्न पुग्छन् । अहिले सवारीसाधन चलेपछि काठमाडौं–पोखराबाट पर्यटक सीधै मनाङ पुग्छन् । खाङ्सारदेखि तिलिचो र माथिल्लो मनाङदेखि थोराङ्ला भन्ज्याङ हुँदै मुक्तिनाथसम्म तीन–चार दिनका लागि चाहिने भरिया बेँसीसहरबाटै लैजानुपर्ने हुन्थ्यो । ०६९ सम्म बेँसीसहरको मनाङे चौतारा, पुमाखोला, चनौटे, बेलौती बिसौनाआसपास बस्ने भरियाले विदेशी पर्यटकको भारी बोक्दै २१ दिनको यात्रा गर्थे । ०७०/७१ मा माथिल्लो मनाङसम्मै जिप पुग्न थालेपछि त्यसमाथिका ठाउँको भारी बोक्न खच्चड प्रयोग हुन थालेको मनाङवासी बताउँछन् । मनाङ जाने बाटोमा भर्‍याङ बनाएर डोरीमा झुन्डिएर जानुपर्ने बाध्यता थियो । खच्चड हिँड्न थालेपछि सामग्री ढुवानीमा सहज भएको थियो ।

ad
ad