माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) पुनरावलोकन गर्ने ऊर्जामन्त्री शक्ति बस्नेतले बताएका छन् । जिल्ला समन्वय समिति दोलखाले गरेको एक कार्यक्रमको निर्णयसहितको पत्र बुझ्दै ऊर्जामन्त्री शक्ति बस्नेतले पिपिए पुनरावलोकन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, पूर्वप्रदेशमन्त्री विशाल खड्कालगायतको टोलीले मन्त्री बस्नेतकै उपस्थितिमा भएको ७बुँदे निर्णय बुझाएका हुन् ।
प्राधिकरणसँग पिपिए गरेका अन्य जलविद्युत् आयोजनाहरूको प्रतियुनिट बर्सातमा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँ रहे पनि माथिल्लो तामाकोशीमा बर्सातमा तीन रुपैयाँ र हिउँदमा चार रुपैयाँ मात्रै हुने गरी सम्झौता भएको छ । पिपिए कम भएकै कारण तामाकोशीको आम्दानी कम देखिँदा आयोजना पूरा भएको तीन वर्ष पुगिसक्दासमेत लगानीकर्ताको हात खाली छ । आयोजनामा आठ लाखभन्दा बढी सर्वसाधारणको लगानी छ ।
त्यस्तै, खिम्ती–१ जलविद्युत् आयोजनाको हिमाल पावर लिमिटेड र सरकारको संयुक्त बन्ने कम्पनीमा दोलखा र रामेछापवासीका लागि सेयर सुनिश्चित गर्न पनि माग गरिएको छ । संयुक्त कम्पनी बन्दा स्थानीयको २० प्रतिशत सेयर सुनिश्चित गर्नसमेत मन्त्रालय पुगेको टोलीले माग गरेको छ ।