१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o६:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एमसिसी परियोजना पहिलो निर्माण ठेक्का : तीन करोड ५३ लाख डलरमा नयाँ बुटवल सबस्टेसन बनाउने सम्झौता

ठेक्का लिने भारतीय कम्पनी लिंकसन इन्डियाले तीन वर्ष तीन महिनामा सबस्टेसन बनाइसक्नुपर्ने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:१२:oo

सरकारको लगानी र मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानमा बन्ने तीन सबस्टेसनमध्ये एउटा सबस्टेसनको निर्माणका लागि ठेक्का सम्झौता भएको छ । मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम)मा बन्ने चार सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी लिंकसन इन्डिया प्रालिसँग ठेक्का सम्झौता गरेको छ । एमसिसी परियोजना निर्माणका लागि भएको यो पहिलो ठेक्का सम्झौता हो । 

बिहीबार नवलपरासीमा एक विशेष समारोहबीच एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिंकसनका सेल्स डाइरेक्टर मयंक पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । तीन करोड ५३ लाख डलरमा ठेक्का सम्झौता भएको एमसिए नेपालले उपलब्ध गराएको लिखित जवाफमा उल्लेख छ । ठेक्काको अवधि भने तीन वर्ष तीन महिना रहेको छ । आवश्यक प्राविधिक तयारी पूरा गरेर ठेक्काको अवधि सुरु हुनेछ ।

एमसिएले यसअन्तर्गत रातमाटे र दमौलीमा पनि चार सय केभी क्षमताका एक–एकवटा सबस्टेसन बनाउँदै छ । ती दुई सबस्टेसन निर्माणका लागि कम्पनीको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको एमसिए नेपालले जनाएको छ । एमसिएले तीन सबस्टेसनलाई तीन लटमा विभाजन गरेर १० चैत ०७९ देखि २ कात्तिक ०८० सम्म टेन्डर आह्वान गरेको थियो । त्यसमा भारतको पाँच, साउदी अरेबियाको एक र टर्की तथा अफगानिस्तानको संयुक्तमा एक गरी सात कम्पनीले टेन्डर हालेका थिए । ६ कम्पनी प्राविधिक रूपमा उत्तीर्ण भएका छन् । 

लट एकमा रातमाटे सबस्टेसन, लट दुईमा न्यु बुटवल सबस्टेसन र लट तीनमा न्यु दमौली सबस्टेसन राखिएको छ । अहिले लट दुईअन्तर्गतको टेन्डरमा ठेक्का सम्झौता भएको हो । यसमा लिंकसनले तीन करोड ९६ लाख ९१ हजार डलर, केइसी इन्टरनेसनलले चार करोड ३९ लाख पाँच हजार डलर, साइमेन्स लिमिटेडले चार करोड ५४ लाख ७१ हजार डलर, नेसनल कन्ट्राक्टिङले पाँच करोड ६३ लाख ६५ हजार डलर र टाटा प्रोजेक्ट्सले ६ करोड २५ लाख ३६ हजार डलर वित्तीय प्रस्ताव गरेका थिए । सबैभन्दा कम वित्तीय प्रस्ताव गरेको लिंकसनले १०.३ प्रतिशत छुट दिने प्रस्तावसमेत गरेको थियो । सोहीअुनसार यो ठेक्काका लागि उक्त कम्पनी छनोट भएको बताइएको छ । 

बिहीबार ठेक्का सम्झौता समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसन, स्थानीय अधिकारी तथा निर्वाचित जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।कार्यक्रममा राजदूत थम्पसनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । ‘घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दाे एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा यस चार सय केभी नयाँ बुटवल सबस्टेसनले सुधार ल्याउनेछ,’ उनले बताए । 

यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यो परियोजना प्राधिकरणको पनि प्राथमिकतामा रहेको बताए । ‘यसले सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान दुई सय २० केभी सबस्टेसनलाई सघाउनेछ,’ उनले बताए । 

यसैगरी, एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका प्रगतिबारे जानकारी दिएका थिए । ‘एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारणलाइन र सबस्टेसनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ । बाँकी दुईवटा सबस्टेसनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ,’ उनले बताए ।  

 ‘सीमापार’ प्रसारणलाइन टेन्डरको म्याद १४ जेठसम्म
एमसिएले ‘न्यु बुटवल–नेपाल/भारत सीमा’ प्रसारणलाइन निर्माणका लागि आह्वान गरिएको ग्लोबल टेन्डर म्याद १४ जेठसम्म पुर्‍याएको छ । यसअघि त्यसको म्याद ३ जेठसम्म थियो । चार सय केभी डबल सर्किट क्षमताको उक्त प्रसारणलाइनको प्लान्ट डिजाइन, सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेस्टिङलगायत काम गर्ने गरी गत चैत २ गते टेन्डर आह्वान गरिएको थियो ।  

यो नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारणलाइन (न्यु बुटवल–गोरखपुर)को नेपाल खण्ड हो । भारत खण्डको निर्माण ०२६ भित्र सक्ने गरी काम अघि बढेको थियो । नेपाल खण्डको निर्माण भने एमसिए नेपालले गर्नुपर्नेछ । तर, एमसिए नेपालले आफ्नो सबै प्रसारणलाइन निर्माणका लागि एकमुस्ट रूपमा नयाँ टेन्डर निकाल्न समय लाग्ने देखिएपछि यसको छुट्टै टेन्डर निकालिएको थियो । 

एमसिएले चार सय केभी डबल सर्किट क्षमतामा तीन सय १५ किमिबराबरको चार प्रसारणलाइन बनाउँदै छ । त्यसमा १८ किमिको यो (बुटवल–नेपाल/भारत सीमा)सहित लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा (११७ किमि), रातमाटे–न्यु दमौली (९० किमि) र न्यु दमौली– न्यु बुटुवल (९० किमि) प्रसारणलाइन छन् । एमसिएले यी चारवटा प्रसारणलाइन निर्माणका लागि १२ मंसिर ०७९ देखि ७ जेठ ०८० सम्म टेन्डर आह्वान गरेको थियो । तर, त्यसमा न्यूनतम वित्तीय प्रस्ताव नै अनुमानित लागतभन्दा ६५ प्रतिशत बढीको परेपछि २६ असोजमा टेन्डर रद्द गरिएको थियो । अब बुटवल–नेपाल÷भारत सीमाको टेन्डर अवधि सकिएपछि बाँकी प्रसारणलाइनको टेन्डर आह्वान गर्ने एमसिएको तयारी छ । 

 बाँकी दुई सबस्टेसनको ठेक्का सम्झौता जुन महिनाभित्र हुने
एमसिए नेपालले अन्य दुई सबस्टेसनको ठेक्का सम्झौताको तयारी पनि अन्तिम चरणमा पुगेको बताएको छ । ‘बाँकी दुईवटा सबस्टेसनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ,’ एमसिएले जारी गरेको विज्ञप्तिमा कार्यकारी निर्देशक खड्काले बताएका छन् । सम्भवतः जुन महिनाभित्र दुई सबस्टेसनको ठेक्का सम्झौता हुने एमसिए नेपालले उपलब्ध गराएको लिखित जवाफमा उल्लेख छ ।

रातमाटे सबस्टेसन टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङले सबैभन्दा कम अर्थात् पाँच करोड १७ लाख ९६ हजार डलरबराबरको वित्तीय प्रस्ताव गरेको छ । यसैगरी, साइमेन्स लिमिटेडले ६ करोड ७६ लाख ३८ हजार डलर र केइसी इन्टरनेसनलले सात करोड २९ लाख ४५ हजार डलरबराबरको वित्तीय प्रस्ताव गरेका छन् । एमसिए नेपालले अब त्यसमध्येबाट कुनै एक कम्पनीलाई ठेक्का सम्झौताका लागि छनोट गर्न सक्नेछन् । 

यसैगरी, न्यु दमौली सबस्टेसनमा टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङले नै सबैभन्दा कम अर्थात् तीन करोड ९८ लाख २० हजार डलरबराबरको वित्तीय प्रस्ताव गरेको छ । यसबाहेक केइसी इन्टरनेसनलले चार करोड ८४ लाख १८ हजार डलर, साइमेन्स लिमिटेडले पाँच करोड २३ लाख २२ हजार डलर र नेसनल कन्ट्राक्टिङ कम्पनी लिमिटेडले ६ करोड ११ लाख १० हजार डलरबराबरको वित्तीय प्रस्ताव गरेका छन् ।

ad
ad