१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
२o८१ जेठ १५ मंगलबार ११:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिराहा कारागारमा क्षमताभन्दा तीन दोब्बर बढी कैदीबन्दी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार ११:१o:oo

सिराहा जिल्ला सदरमुकाम सिराहास्थित कारागारमा क्षमताभन्दा तीन दोब्बर बढी कैदी राखिएको छ। क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा गर्मीमा समेत कोचिएर सुत्नुपर्ने बाध्यता रहेको कैदीबन्दीको गुनासो छ । 

सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिराहा कारागारमा दुई आश्रित बालबालिका, २६ महिला र चार सय ८० जना पुरुष कैदी थुनुवा गरी कुल पाँच सय आठजना राखिएका छन् । उनका अनुसार कारागारमा दुई सय ५१ पुरुष र १५ महिला कैदी तथा दुई सय २९ पुरुष र ११ महिला थुनुवा र दुई आश्रित बालबालिका छन् । 

०२८ सालमा स्थापित सिराहा कारागारमा १५ महिला र एक सय ३५ पुरुष गरी कुल एक सय ५० जना कैदीबन्दी बस्ने क्षमता भए पनि तीन गुणाभन्दा पनि बढी कैदी र थुनुवा राखिएपछि तीन–तीनजनासँग मिलेर सुत्नुपर्ने बाध्यता रहेको कारागारका चौकीदार कैलाश ठाकुरले गुनासो गरे । 

क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा सुत्न, शौचालय तथा खानपानीको धारा प्रयोग गर्न पनि लामो समय पालो पर्खिनुपर्ने बाध्यताको कारणले कैदीहरूको प्रयासमा कारागारको छतमा करिब एक सयजना बस्न सकिने ट्रस निर्माण गरिएपछि केही सहज भएको उनले बताए । 

‘शौचालय, खानेपानीको धारा पनि अपुग थियो,’ उनले भने, ‘पुरुष कैदी  र थुनुवाका लागि आठवटा थपेर १६ वटा शौचालय बनायौँ, महिला ब्लकमा दुईवटा शौचालय छन् ।’ खानेपानीका लागि पाँचवटा हातेकलमा विद्युतीय मोटर जडान गरी प्रयोग भइरहेको उनले बताए । 

लागुऔषधका बन्दी धेरै  
सिराहा कारागार प्रशासनका अनुसार पुर्पक्षका लागि थुनामा राखिएका तथा अदालतबाट कैद सजाय फैसला भई कारागारमा राखिएकामध्ये ठूलो संख्या लागुऔषध मुद्दाका थुनुवा र कैदी रहेका छन् । 

‘१८ देखि ५० वर्ष उमेर समूहका आधाभन्दा बढी कैदी र थुनुवा लागुऔषध मुद्दाका छन्,’ निमित्त कारागार प्रमुख साहले भने, ‘लागुऔषधपछि जबर्जस्ती करणी र अन्य मुद्दासँग सम्बन्धित कैदी थुनुवा कारागारमा राखिएका छन् ।’ 

 


 

ad
ad