Skip This
‘हाइपर फन्ड’का नाममा ठगी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Sunday, 16 June, 2024
नवराज मैनाली काठमाडौं
२o८१ जेठ १० बिहीबार १५:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

‘हाइपर फन्ड’का नाममा ठगी 

सिआइबीद्वारा एक आरोपी पक्राउ, ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सुरु 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार १५:५८:oo

‘हाइपर फन्ड’का नाममा हजारौँ सर्वसाधारण ठगिएको पाइएपछि प्रहरीले अनुसन्धान थालेको छ। नेटवर्किङ शैलीको यस्तो अपराधमा संलग्न एक आरोपीलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान अघि बढाएको छ। 

ललितपुरको इमाडोल बस्ने नानु घिमिरे (काजल)लाई दुई साताअघि पक्राउ गरी सिआइबीले अनुसन्धान थालेको हो। हालसम्म ४० जनाले करिब पाँच करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी दिइसकेका छन्। 

ठगीमा ५० भन्दा धेरै व्यक्तिको संलग्नता देखिएको छ। २४ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ। 

‘हाइपर फन्ड’का नाममा संगठित प्रकृतिको ठगी भइरहेको देखिएपछि यसमा अनुसन्धान अघि बढाइएको सिआइबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीले बताए। 

‘लगानी गरेको छोटो अवधिमै तेब्बर आम्दानी हुने प्रलोभन देखाएर ठगी गरिएको देखिन्छ । खासगरी यो गिरोहबाट विदेशमा भएका नेपाली ठगिएको उजुरी आएका छन्,’ उनले भने, ‘ठगी गर्ने गिरोका नाइकेहरू पनि विभिन्न देशमा रहेका छन्।’ 

पक्राउ परेकी घिमिरे सो समूहको नेपालकी प्रमुख रहेको हालसम्मको अनुसन्धानमा देखिएको छ। धेरै रकम उनी र उनीनिकट व्यक्तिको बैंक खाताबाट कारोबार भएको छ।

२० महिनाभित्र तेब्बर फिर्ता दिने आश्वासनसहित धेरैजसोलाई सुरुमा तीन सय अमेरिकी डलर लगानी गर्न लगाइन्थ्यो । सुरुमा थोरै प्रतिफल दिएर मोटो रकम लगानीका लागि प्रोत्साहित गरिन्थयो। 

यसका लागि उनीहरूले एक वेबसाइट बनाएका थिए। जहाँ गएर सदस्य बनेकाले आफ्नो ब्यालेन्स हेर्न पाउँथे। कम्पनी आधिकारिक नै भएको आश्वासनमा यसरी वेबसाइटमा ब्यालेन्स देखाएर ठगी भएको हो। सो वेबसाइट नै बन्द भएपछि सर्वसाधारणले आफूहरू ठगी भएको थाहा पाएका छन्। 

एकैजनाको एक करोड ३८ लाख रुपैयाँसम्म ठगी भएको उजुरी प्रहरीमा परेको अनुसन्धानमा संलग्न सिआइबीकी इन्स्पेक्टर जयन्ती थापा बताउँछिन्। सबैभन्दा धेरै पोर्चुगल र बेलायतमा रहेका नेपालीसँग पैसा उठाइएको छ। खाडी देशमा समेत गिरोहको सञ्जाल थियो। 

गैरआवासीय नेपाली संघमा आबद्ध कतिपय व्यक्तिसमेत ठगीमा संलग्न रहेको पीडितले जनाएका छन् । नेपालमा बस्ने पनि ठगिएका छन् । हालसम्मको अनुसन्धानमा गिरोहका मुख्य नाइके बेलायतमा र त्यसपछिका दुईजना पोर्चुगलमा रहेको अनुसन्धानमा खुलेको छ। 

सुरुमा हाइपरभर्स नाममा खोलिएको सो कम्पनीको मुख्य कार्यालय अस्ट्रेलियामा रहेको र चिनियाँ मूलका अस्ट्रेलियन नागरिकलाई प्रमुख भनेर चिनाइएको थियो। 

वेबसाइटमा पनि सोही विवरण राखिएको थियो। पिरामिड शैलीको नेटवर्किङ कारोबारमा थप सदस्य बनाएमा आफ्नो आम्दानी बढ्दै जाने गरी एकपछि अर्काेलाई यसरी ठगीको जालमा फसाइएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्। यस कसुरमा मंगलबार जिल्ला अदालतते संगठित कसुरमा समेत अनुसन्धान गर्न अनुमति दिएको सिआइबीकी इन्स्पेक्टर थापाले बताइन्। 

हाइपर फन्डबाट ठगिएकालाई उजुरी गर्नसमेत सिआइबीले आग्रह गरेको छ। ‘हाइपर फन्ड’का नाममा धेरै समूहले पैसा उठाउँदै आएका छन्। यसको सूचना पाएपछि दुई वर्षअघि नै नेपाल राष्ट्र बैंक र सिआइबीले सूचना प्रकाशन गरी ‘हाइपर फन्ड’ अवैध भएकाले यसमा लगानी नगर्न सचेत गराएको थियो।

ad
ad
ad
ad