१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १o:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीको मालिकाले गुमेकाे आँखाको ज्योति फर्काउँदै 

पाँच वर्षमा करिब तीन सय नागरिकको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:२२:oo

गुल्मीको मालिका गाउँपालिकाले पहिलो स्थानीय तहको निर्वाचनपछिको नीति कार्यक्रममै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको थियो । जसका कारण नागरिकका आँखाको उपचार, बर्थिङ सेन्टर स्थापना, सामुदायिक स्वास्थ्य एकाइ स्थापना, स्वास्थ्य संस्थाहरूको सबलीकरणसहित मालिकाले स्वास्थ्यका महत्वपूर्ण राष्ट्रिय अभियानमा आफूलाई अग्रस्थानसमेत स्थापित गरेको छ । स्वास्थ्यका राम्रा काममध्ये आँखा उपचार एक हो । मालिका गाउँपालिकाले पाँच वर्षमा करिब तीन सय नागरिकको मोतीविन्दुको नि:शुल्क शल्यक्रिया गरेको छ ।

मालिका गाउँपालिका– ४ स्थित अर्खावाङ स्वास्थ्यचौकी र वडा नं. २, ६ र ८ मा भर्खरै नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा एक हजार एक सय २० जना आँखाका रोगीको नि:शुल्क परीक्षणसहित औषधि वितरण र ७० वर्षभन्दा माथिका एक सय १७ जना ज्येष्ठ नागरिकलाई नि:शुल्क चस्मा वितरण गरिएको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले जानकारी दिए । शिविरको क्रममा मोतीविन्दुको समस्या भएका ४५ जना नागरिकको नि:शुल्क शल्यक्रिया गरिएको भुसालले बताए । 

गाउँगाउँमा बर्सेनि आँखा शिविर सञ्चालन, बिरामीलाई नि:शुल्क यातायात
मालिका गाउँपालिकाले बर्सेनि गाउँगाउँमा नि:शुल्क आँखा उपचार शिविर आयोजना गर्ने गरेको छ । मालिकाले आर्थिक वर्ष ०७५/७६ मा ४६, ०७६/७७ मा ७२, ०७७/७८ मा ६५, ०७९/८० मा ६२ र ०८०/८१ म ४५ जना गरेर दुई सय ९० जना मोतीविन्दुका समस्या भएका नागरिकको नि:शुल्क शल्यक्रिया गरेको छ ।

पालिकाले नि:शुल्क शल्यक्रियासहित बिरामीलाई घरसम्म आउने–जाने यातायातको सुविधासमेत नि:शुल्क रूपमा प्रदान गर्दै आएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए । उनले पालिकाको सुविधाको कारण वर्षौँ आँखाको ज्योति गुमाएर पनि घरमै पीडा सहेका नागरिक शिविरमा आउन थालेको बताए । 

स्थानीय सरकारलाई नेत्रज्योति संघको साथ
गाउँपालिकाको केन्द्र अर्खावाङ स्वास्थ्यचौकीमा २३ वैशाखमा नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र गुल्मी र सिमलटारी आँखा उपचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो । शिविरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र, भैरहवा रुपन्देहीमा कार्यरत प्रोफेसर डाक्टर लक्ष्मीदेवी मानन्धर नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको सफल शल्यक्रिया गरेकाे थियाे ।

नेपाल नेत्रज्योति संघले जिल्लाका नागरिकको अन्धोपन निवारणमा ठूलो भूमिका खेलेको छ । आफैँले नि:शुल्क तथा पालिका र संघसंस्थाहरूमा प्राविधिक सहयोग संघले गर्दै आएको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले आर्थिक वा चेतनाको अभावको कारण आँखा गुमाएर बसेका नागरिकलाई सेवा दिन पाउँदा आफूलाई सबैभन्दा बढी खुसी र सन्तुष्टिको महसुस हुने बताए । ‘स्थानीय तहभन्दा पहिले भौगोलिक विकटताबीच नागरिकमा कैयन पीडा थिए । जनप्रतिनिधि निर्वाचित भएपछि क्रमशः समस्या समाधान भएका छन्,’ उनले भने, ‘नागरिकको स्वास्थ्य हाम्रो प्राथमिकताको विषय हो ।’

बन्द भएका आँखाले पुन: संसार देख्न पाउँदा...
मालिका गाउँपालिका– ३ ह्वाङदीकी ९० वर्षीया पुनीकला विकले झन्डै एक दशकदेखि राम्रोसँग आँखा देख्दैनथिन् । गत दसैँदेखि दुवै आँखा ठप्प भएपछि बुढेसकाल निकै पीडादायी बनेका थियो । पाँच भाइ छोरा भारतमा छन् । उनका श्रीमान् भर्खर बितेका छन् । पुनीकला घरमा एक्लै बस्ने अवस्था नभएपछि छोरीकोमा बस्थिन् । उनी गाउँपालिकाले नि:शुल्क मोतीविन्दुको शल्यक्रिया गरिदिएपछि अहिले देख्ने भएकी छिन् । ‘दुवै आँखा बन्द भएपछि संसार अँध्यारो थियो । अब त लठ्ठी टेकेर पनि केही गर्छु,’ उनले भनिन्, ‘ज्योति फर्काउने सरकारलाई धन्यवाद ।’ घरमै आउने–जाने व्यवस्था गरेर नि:शुल्क शल्यक्रिया गराउन पाउँदा निकै खुसी लागेको विकले सुनाइन् । 

देब्रे आँखामा फुलो र दाहिने आँखामा मोतीविन्दु भएपछि मालिका गाउँपालिका– ७ का ८१ वर्षीय प्रेमबहादुर नेपालीले निकै सास्ती खेपेका थिए । उनलाई घरमा सहारा दिने कोही छैनन् । बुढेसकालमा उनका छोराबुहारी छुट्टिएर अलग्गै बसेका छन् । आँखा ठीक हुने वेलासम्म प्रेमबहादुरको हातमा मादल बनाउने सीप थियो । २० वर्षको उमेरदेखि मादल बनाउने नेपालीका आँखा बन्द भएपछि पीडामा थिए । उनी पनि गत वर्ष पालिकाले आँखाको नि:शुल्क शल्यक्रिया गरिदिएपछि अहिले पुरानै जीवनमा फर्किएका छन् । बन्द भएका आँखाले पुन: संसार देख्न पाउँदा उनी  खुसीले दंग छन् । 

ad
ad