१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
रासस चितवन
२o८१ जेठ ६ आइतबार १५:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्ड ड्रिंक्स’ निषेध, अतिथिको स्वागतमा दही र मोही

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:१३:oo

चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्ड ड्रिंक्स’ निषेध गरेको छ। स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो।

इच्छाकामनाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गरिन्छ। गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोग गरिएको छ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाका किसानलाई फाइदा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको बताए। उनले भने, ‘गर्मीमा प्रयोग गरिने ‘कोल्ड ड्रिंक्सभन्दा दही र मोही प्रयोग गर्न सके स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ भनेर हामीले सो काम गरेका हौँ, स्वास्थ्यको दृष्टिकोणले पनि दही र मोही नै राम्रो हुन्छ।’ 
   
अध्यक्ष गुरुङले गाउँपालिकाअन्तर्गतका वडा कार्यालयमा पनि सोही प्रकारको सर्कुलर गर्ने तयारी गरेको जानकारी दिए। गाउँपालिकाले जाडो मौसममा भने चियाको प्रयोग गर्ने जनाएको छ। गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिकाभित्र कोक, स्प्राइटलगायतका कोल्ड ड्रिंक्स निषेध गरेको हो। अहिले कार्यक्रम हुँदा गाउँपालिकामा १० लिटरसम्म मोही प्रयोग हुने गरेको अध्यक्ष गुरुङले बताए।

यसैबीच, गाउँपालिकाले पशु सुत्केरी सुधार र बिमा कार्यक्रमसमेत सञ्चालन गरेको छ। किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दुधको उत्पादन बढाउन उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताए।

आन्तरिक स्रोतमार्फत गाईभैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम सञ्चालन गरिएको हो। कृत्रिम गर्भधारण कार्यक्रमबाट सुत्केरी भएका गाइभैँसीको सुत्केरी भत्ताबापत गाउँपालिकाले रु. एक हजार पाँच सय उपलब्ध गराउनेछ। बढी दुध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरूप पुरस्कार उपलब्ध गराउने तयारी रहेको अध्यक्ष गुरुङको भनाइ छ।

ad
ad