रुसी उपरक्षामन्त्री तैमुर इभानोभ बुधबार भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन् । रक्षामन्त्री सेर्गेई सोइगुका लामो समयदेखिका सहयात्री रहेका इभानोभको अचानकको गिरफ्तारीले धेरैलाई आश्चर्यचकित बनाएको छ । युक्रेनविरुद्ध जारी सैन्य अभियानबीच सेनामा खर्च बढिरहेका वेला यो कदम चालिएको छ ।
४८ वर्षीय इभानोभले देशको सशस्त्र बललाई आवश्यक सामग्री खरिद–बिक्रीको रेखदेख गर्दै आएका थिए । यसअघि नै रुसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको समूहले गरेको अनुसन्धानले इभानोभले भ्रष्टाचार गरेको देखाएको थियो ।
‘रुसी महासंघका उपरक्षामन्त्रीलाई पूर्पक्षका लागि थुनामा राखिएको छ,’ मस्को अदालतको सञ्चार सेवाद्वारा सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ । आरोपअनुरूप ठूलो परिमाणमा घुस लिएको अभियोग प्रमाणित भएमा उनलाई १५ वर्षको जेल सजाय हुन सक्ने बताइएको छ । केही स्वतन्त्र रुसी सञ्चारमाध्यमले इभानोभ र उनको परिवारले रक्षा मन्त्रालयका केही सम्झौतबाट गैरकानुनी लाभ लिएर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् ।
सन् २०२२ को डिसेम्बरमा नाभाल्नीको समूहले इभानोभकी श्रीमती स्वेतलाना मनिओविचबाट चुहेका हजारौँ इमेल अध्ययन गर्दा मनिओविचले फ्रान्समा विलासी कार, गहना, लुगाफाटा, पार्टी खरिद गर्न लाखौँ युरो खर्च गरेको देखिएको बताएको थियो । तीमध्ये केही रकम रक्षा मन्त्रालयका ठेकेदारलगायत तेस्रो पक्षमार्फत हुने गरेको उनीहरूको आरोप छ ।