प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन्।
प्रेस सेन्टर कैलालीले धनगढी विमानस्थलमा आज गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन पूरै अवधिसम्म जाने दाबी गरे।
‘बाहिर विभिन्न खालका चर्चा–परिचर्चा भए पनि त्यस्तो केही छैन। यो समीकरण पूरै अवधि जान्छ,’ प्रचण्डले भने, ‘प्रदेशमा सरकार बनाउने प्रक्रिया पनि करिब–करिब अन्तिम चरणमा छ।’ उनले अहिले वामपन्थीको मात्र भनेर सत्ता समीकरण निर्माण नगरिएको बताए।
‘अहिले हामी वामपन्थीको मात्र भनेर समीकरण गरेका होइनौँ। त्यसकारण अहिले वाम एकता भन्नु सही पनि छैन। किनभने गठबन्धनमा वाम–गैरवाम सबै छन्,’ उनले भने, ‘यसलाई सत्तासमीकरणको रूपमा लिएका छौँ। राम्रो काम छलफल हुँदै गए, समझदारी राम्रो हुँदै गए विचार मिल्ने एक ठाउँमा हुन पनि सक्छन्।’
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले सरकारले गर्न लागेको लगानी सम्मेलनको तयारी लगभग पूरा भएको जानकारी दिए। उनले लगानी सम्मेलनमा करिब ४० देशको सहभागिता रहने बताए।
लगानी सम्मेलनलाई मध्यनजर गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि करिब एक दर्जन ऐन अध्यादेशबाट संशोधन गर्ने तयारी सरकारले गरेको पनि प्रधानमन्त्रीले जानकारी दिए। प्रधानमन्त्रीका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गर्नेछ।
‘लगानी सम्मेलनलाई लिएर सबैतिरबाट सकारात्मक र उत्साहबर्द्धक प्रतिक्रिया छन्। झन्डै ४० देशको सहभागिता हुने अहिलेसम्मको आकलन छ,’ उनले भने, ‘लगानी सम्मेलनको निम्ति लगानीमैत्री वातावरण तयार गर्न अध्यादेशमार्फत केही ऐन संशोन गर्दैछौँ। एक दर्जन ऐन अध्यादेशमार्फत संशोधन गरेर लगानीमैत्री वातावरण बनाउँदैछौँ।’
प्रधानमन्त्रीले सरकारले यसपालि बजेट पनि परम्परागतभन्दा फरक तरिकाले ल्याउन लागेको बताए। बजेटको तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले बजेटलाई वैज्ञानिक र वस्तुगत बनाइने दाबी गरे। प्रधानमन्त्री दाहाल कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन यहाँ आएका छन्।