१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २३:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

जीवन जीवन्तको ‘चरैवेति’ उपन्यास विमोचन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २३:१o:oo

उपन्यासकार जीवन जीवन्तको उपन्यास कृति ‘चरैवेति’को लोकार्पण र परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । 
नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, लेखक भुवनहरि सिग्देल, समीक्षक द्वय डा. अशोक थापा र सुमन वर्षाका साथ सुनपकुवा मा. वि. मोरङका संस्थापक प्रधानाध्यापक प्रेमचन्द्र सापकोटाले कृति सार्वजनिक गरेका थिए । 

‘नेपाली उपन्यासमा अधिआख्यान’ शीर्षकमा विद्यावारिधि गरेका उपन्यासकार जीवन जीवन्त उपन्यास विधामा आधारित रहेर डेढ दशकदेखि सक्रिय खोजअनुन्धाता एवम् समालोचक हुन् । 

‘चरैवेति’ उपन्यासको लोकापर्णपछि परिसंवाद कार्यक्रम भयो । नयनराज पाण्डेको प्रमुख आतिथ्यमा उपन्यासकार जीवन्त, डा. अशोक थापा र सुमन वर्षाबिच भएको परिसंंवादमा कवि महेश क्षितिजले सहजीकरण गरेका थिए । 

उपन्यासकार जीवन्तले केही व्यक्तिगत जीवनका सन्दर्भ र वर्तमान सामाजिक राजनीतिक परिवेशमा उब्जिएका प्रश्नहरुको समाधानका लागि समालोचना विधाबाट आख्यान क्षेत्रमा आएको विचार व्यक्त गरेका थिए । उनले धर्म परिर्वतन गरेपछिको वैयक्तिक मानसिकता र नेपालमा आदिबासी जनजातिहरुको पहिचान सङ्कटमा इसाईहरुको भूमिका जस्ता सन्दर्भबाट उब्जिएका प्रश्नहरुको सन्धानबाट यो उपन्यास सिर्जना भएको विचार व्यक्त गरे । 

समीक्षक थापाले धर्मपरिर्वतनको विषय उठान गरी चरैवेति उपन्यासले नेपाली उपन्यास परम्परामा नवीन आयाम थप गरेको विचार व्यक्त गरे । बाइबल ग्रन्थको भौतिकवादी समाजशास्त्रीय व्याख्या गरी तिनका विरोधाभासलाई विषय बनाई उपन्यासकारले चुनौती उठाएको धारणा पनि प्रस्तुत गरे । 

सुमन वर्षाले पूर्वी नेपालको भौगोलिक परिवेशमा किपट क्षेत्रको इतिहास र झोरा फाँडेर बस्ती बसेको सन्दर्भलाई सजीव ढङ्गले उपन्यासमा प्रस्तुत गरिएको विचार व्यक्त गरिन् । उनले यस उपन्यासको नवीन ज्ञान र सत्यको खोजीका लागि निरन्तर अघि बढिरहनुपर्छ भन्ने भाव ग्रिसेली मिथक ओडिसीसँग सादृश्य रहेको धारणा प्रस्तुत गरिन् । 

परिसंवाद कार्यक्रममा उठेका सन्दर्भहरुलाई संश्लेषण गर्दै प्रमुख अतिथि पाण्डेले उपन्यासमा सामान्य कमीकमजोरी भए पनि यसले उठान गरेको विषय समय सान्दर्भिक र नवीन विषय भएको साथै सुन्दर कला संयोजन रहेकाले २०८० सालको उत्कृष्ट कृति भएको धारणा व्यक्त गरे । 

उक्त कार्यक्रममा सुनपकुवा माध्यमिक विद्यालय, मङ्गलबारे मोरङका पूर्वविद्यार्थीहरुका तर्फबाट अवकाश प्राप्त प्रधानाध्यापक प्रेमचन्द्र सापकोटालाई अभिनन्दन गरी ताम्रपत्र पनि प्रदान गरिएको थियो । तीन दशकभन्दा लामो समयसम्म शिक्षा क्षेत्रमा सेवा गरेका अवकाश प्राप्त प्र.अ. सापकोटाले आफ्ना विद्यार्थीहरुले गरेको प्रगति र उन्नतिमा सबैभन्दा ठुलो आनन्द मिल्ने विचार व्यक्त गरेका थिए । यसले आफ्नो रोगी जीवनमा बाँच्ने हौसला बढाएको भन्दै हर्ष प्रकट गर्नुका साथै उपन्यासकार जीवन्तको सफलताको शुभकामना पनि दिएका थिए । 

ad
ad