१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Friday, 02 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ बैशाख १८ बिहीबार o९:२१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मझगाउँ विमानस्थलमा कालोपत्रे

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार o९:२१:oo
  • ६० मिटर लम्बाइ ९० मिटर चौडाइ रहेको पार्किङस्थलको काम अघि बढेसँगै निर्माणकार्य समयमै सम्पन्न हुने विश्वास, विमानस्थल पुनः सञ्चालनका लागि स्थानीयस्तरबाट दबाब सिर्जना भएपछि तीनै तहका सरकारबाट पहल 

कञ्चनपुरमा निर्माणाधीन मझगाउँ विमानस्थलमा एप्रोन अस्पाल्ट कंक्रिटबाट कालोपत्रे सुरु भएको छ । भीमदत्त नगरपालिका १६ मझगाउँ विमानस्थल बुधबारदेखि कालोपत्रेकोे काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ । कान्छाराम कुमार श्रेष्ठ/अनमोल कस्ट्रक्सनले कालोपत्रेको काम सुरु भएको जनाएको छ । निर्माण कम्पनीका इन्जिनियर युवराज रिजालले यसअघि बेस निर्माण भएको एप्रोन, रनवेको कालोपत्रे सुरु गरिएको बताए ।

‘आजदेखि हामीले जहाज पार्किङस्थलमा कालोपत्रेको काम सुरु गरेका छौँ,’ उनले भने, ‘यो स्थलमा जहाजमा इन्धन भर्नेदेखि यात्रु ओराल्ने, चढाउने स्थलको कालोपत्रे सकेपछि रनवेको काम सक्छौँ ।’ ६० मिटर लम्बाइ ९० मिटर चौडाइ रहेको उक्त पार्किङस्थलको काम अघि बढेसँगै निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास बढेको भीमदत्त नगरपालिका १६ का वडाध्यक्ष केशव विष्टले बताए । 

भीमदत्त नगरका मेयर पदम बोगटीले तीनै तहका सरकारबाट सञ्चालन भएको मझगाउँ विमानस्थलले गति लिएको बताए । ‘कालोपत्रेको काम सुरु भइसकेको छ,’ मेयर बोगटीले भने, दक्षिणतर्फ रनवे विस्तारका लागि सेनाले पनि जमिन छाड्ने सहमति गरिसकेको छ, विमानस्थलको काम सम्पन्न भएर चाँडै सञ्चालनमा आउँछ ।’ 
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले पनि विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले बजेटको कमी हुन नदिने बताए ।

आर्थिक मामिलामन्त्री थापाले तीनै तहका सरकारको संयुक्त लगानीमा सञ्चालन भइरहेको विमानस्थल समयमै निर्माण सकेर यातायात सेवा सञ्चालन गरिने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले पश्चिम नेपाल सीमावर्ती कञ्चनपुरको विमानस्थल सञ्चालन भएसँगै स्वदेशी तथा भारतीय पर्यटकलाई समेत नेपालका अन्य पर्यटकीय गन्तव्यमा पुर्‍याउन सहज हुने बताए ।

‘यो मझगाउँ विमानस्थल सुचारु भएसँगै नेपालकै अर्थतन्त्रमा समेत केही सुधार आउँछ, ‘उनले भने, ‘अब निर्माण कार्य ढिलाइ गर्न नहुने देखिन्छ ।’ कालोपत्रेकोे जिम्मा पाएको अनमोल कस्ट्रक्सनका सञ्चालक तेजबहादुर चन्दले मूल निर्माण कम्पनीसँग भएको सम्झौताअनुरूप विमानस्थलको पूरै कालोपत्रेकोे काम समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्ने बताए । ‘हामीलाई दायित्वमा आएको काम समयमै सम्पन्न गर्छौँ, ‘उनले भने, ‘कालोपत्रे सम्पन्नपछि बाँकी योजना पनि सुचारु गरेर विमानस्थल छिट्टै सञ्चालनमा ल्याउनुपर्छ ।’ दशकौँदेखि बन्द भएको विमानस्थल पुनः सञ्चालनका लागि स्थानीयस्तरबाट दबाब सिर्जना भएपछि तीनै तहका सरकारबाट कामकाज अघि बढिरहेको छ ।