
राजस्थान रोयल्सलाई सय रनले हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ । जयपुरमा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा राजस्थानले १६.१ ओभरमा अलआउट हुँदै ११७ रन बनाउन सक्यो । आइपिएलमा सातौँ जित निकालेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । चौथो हारपछि राजस्थानको प्ले अफ सम्भावना सकिएको छ । एक खेल कम खेलेको रोयल च्यालेन्जर बेंगलुरु (आरसिबी)सँग समान १४ अंक भए पनि मुम्बईले नेट रनरेटमा पछि पारेको हो । आरसिबी दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानको पन्जाब किंग्सको १३ अंक रह्यो । गुजरात चौथो, दिल्ली पाँचौँ र लखनउ सुपर जायन्ट्स छैटौँ स्थानमा छन् ।
यसअघि मुम्बईले सुरुवाती पाँचमध्ये चार खेल गुमाएको थियो । त्यसपछिका ६ खेलमा टोली लगातार विजयी भएको छ । मुम्बई चेन्नई, गुजरात, लखनउ र आरसिबीसँग पराजित भएको थियो । यता, राजस्थान भने लगातार पाँच खेलमा पराजित भएपछि पछिल्लो खेलमा गुजरातलाई हराउन सफल भएको थियो । बुधबार भएको खेलमा पराजित भएपछि चेन्नई सुपर किंग्स भने प्लेअफमा पुग्न असफल भयो ।
चलेन राजस्थानको ब्याटिङ
विशाल लक्ष्य पछ्याएको राजस्थानले कमजोर सुरुवात ग¥यो । ४.५ ओभरमा ४७ रन बनाउँदा महत्वपूर्ण चार विकेट गुमायो । अघिल्लो खेलमा शतक बनाएर चर्चित बनेका वैभव सूर्यवंशी डकआउट भए । दुई बल खेलेका वैभवलाई दीपक चहरले ज्याक्सबाट क्याच आउट गराएका थिए । चौथो बलमा उनी आउट हुँदा राजस्थानले १ रन जोडेको थियो । १४ वर्षीय खेलाडीले अघिल्लो खेलमा गुजरातविरुद्ध १०१ रन बनाएका थिए । उनी आइपिएलको इतिहासकै कम बलमा शतक बनाउने पहिलो खेलाडी हुन् ।
जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाएका थिए । उनले २७ बलमा दुई चौका र दुई छक्का हिर्काए । अर्का ओपनर यशस्वी जैसवालले १३ रन मात्रै बनाए । तेस्रो नम्बर क्रिजमा पुगेको नीतीश राना पनि ९ रन बनाएर पेभिलियन फर्किए । कप्तान रियानले १६ रन मात्रै जोडे । आशा गरिएका सिमरोन हेटमेयर पनि जसप्रित बुमराहबाट गोल्डेन डकआउट भएपछि राजस्थान दबाबमा आएको हो । शुभम दुबेले पनि १५ रन बनाएका थिए । ध्रुव जुरेल केही समय क्रिजमा टिक्ने प्रयास गरे पनि ११ रन बनाएर आउट भए । मुम्बईलाई जिताउन ट्रेन्ट बोल्ट र करन शर्माले समान तीन विकेट हात पारेका थिए । जसप्रित बुमराहको नाममा दुई विकेट रह्यो ।
रायन र रोहितको शतकीय साझेदारी
ओपनरद्वय रायन रिकेल्टन र रोहित शर्माले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेपछि मुम्बई बलियो स्थितिमा पुगेको थियो । दुई खेलाडीबिच शतकीय साझेदारी हुँदा मुम्बईले ११.५ ओभरमा पहिलो विकेट गुमायो । रायनले ६१ तथा रोहितले ५३ रन बनाए । रायनले ३८ बलमा सात चौका र तीन छक्का हिर्काएका हुन् । रोहितले ३६ बलमा नौ चौका प्रहार गरे । यस्तै, सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले समान अविजित ४८ रन बनाएका थिए । दुई खेलाडीबिच तेस्रो विकेटका लागि ४४ बलमा अविजित ९४ रनको साझेदारी भएको थियो । राजस्थानका महिस थेक्सान र रियान परागले समान एक विकेट हात पारेका थिए ।
अय्यरलाई १२ लाख जरिवाना
पन्जाब किंग्सका कप्तान श्रेयस अय्यरलाई १२ लाख भारु जरिवाना तोकिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले स्लो ओभर रेटिङका कारण अय्यरलाई कारबाही गरेको हो । बुधबार पन्जाबले चेन्नई सुपर किंग्सविरुद्ध चार विकेटको जित निकालेको थियो । उक्त खेलमा पन्जाबले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेको थिएन ।
जारी सिजनमा पन्जाबको यो पहिलो गल्ती भएकाले श्रेयसलाई १२ लाख जरिवाना गरिएको हो । यो सिजन स्लो ओभर रेटिङका कारण जरिवाना गरिएको यो नवौँ घटना हो । यसअघि राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सलाई समान दुई तथा रोयल च्यालेन्जर्स बेंगलुरु, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सलाई समान एकपटक जरिवाना गरिएको थियो ।