१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नीलकण्ठ नगरपालिका– ३ धादिङबेँसीमा आन्दोलित बालमन्दिर माध्यमिक विद्यालयका अभिभावक तथा विद्यार्थी बिहीबार जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गर्दै ।
२o८१ बैशाख २० बिहीबार १o:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नीलकण्ठसँग मर्ज गरिएपछि आन्दोलनमा उत्रिए बालमन्दिर माविका अभिभावक र विद्यार्थी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४६:oo

नीलकण्ठ नगरपालिका– ३ धादिङबेँसीमा रहेको बालमन्दिर माध्यमिक विद्यालयलाई समायोजन गर्न खोजेको भन्दै अभिभावक र विद्यार्थी आन्दोलित बनेका छन् । धादिङका चर्चित र धेरै संख्यामा विद्यार्थी रहेको नीलकण्ठ मावि, बालमन्दिर माविसहित तीन सामुदायिक विद्यालय समायोजन गरी शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाउन खोजेको भन्दै अभिभावकहरूले विरोध गरेका हुन् ।

ठूलो संख्यामा विद्यार्थी रहेको बालमन्दिर माध्यमिक विद्यालयलाई छलफल र जानकारीविनै अर्काे विद्यालयमा गरेको समायोजनले विद्यालयको अस्तित्व गुम्ने र शिक्षाको गुणतर खस्किने भन्दै अभिभावक र विद्यार्थी आन्दोलनमा उत्रेका हुन् । बालमन्दिर माध्यमिक विद्यालय पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउन लागिपरेको बालमन्दिर शिक्षक अभिभावक संघका अध्यक्ष दीपक अधिकारीले बताए । 

सामुदायिक विद्यालयमा पढिरहेका बालबालिकालाई निजी विद्यालयमा पठाउने षड्यन्त्र रहेको उनले बताए । ‘म बालमन्दिर विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष हुँ । तर, विद्यालय मर्ज भएको मलाई नै थाहा छैन । म मात्र होइन, बालमन्दिर माध्यमिक विद्यालयका धेरै शिक्षक, अभिभावक तथा विद्यार्थीलाई जानकारी छैन,’ उनले भने, ‘कति अभिभावकले छोराछोरीलाई विद्यालयमा भर्ना गर्न जाँदा विद्यालय अन्तै गाभिएको जानकारी पाए । केही विद्यार्थीलाई त साथीभाइले अब नीलकण्ठमै पढ्ने त हो नि भनेपछि थाहा पाए । सीमित मानिसहरूको राजनीतिका लागि ११ सय विद्यार्थीको भविष्यसँग खेल्न मिल्छ ?’

नीलकण्ठ नगरपालिकाले ११ वैशाखसम्म विद्यालय समायोजन गरेको निर्णय बदर नगरे चरणबद्ध रूपमा आन्दोलन गर्ने अधिकारीले बताए । ‘यदि ११ वैशाखसम्म दिइएको अल्टिमेटम समयमै पूरा नभए १२ गतेबाट नगरपालिकामा आमरण अनशन बस्छौँ । अनशन बस्दा भएको क्षति नीलकण्ठ नगरपालिकाले व्यहोर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यति गर्दा पनि माग पूरा नभए कानुनी ढोका ढकढकाउन बाध्य हुन्छौँ । शिक्षामन्त्री सुमना श्रेष्ठसँग पनि कुरा भइरहेको छ । स्थानीय सरकारले बालमन्दिर माध्यमिक विद्यालयको अस्तित्व बचाउन सहयोग गर्ने विश्वास छ ।’ 

आन्दोलनमा उत्रिएका अभिभावक, विद्यार्थीले नाराबाजी गर्दै जिल्ला सदरमुकाम धादिङबेँसी बजारमा परिक्रमा गरी नीलकण्ठ नगरपालिका कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रशासन कार्यालय धादिङमा नगरपालिकाले गरेको विद्यालय समायोजनको निर्णय फिर्ता गर्न र गराउन माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।नयाँ वर्षकै अवसर पारेर नीलकण्ठ नगरपालिकाको शिक्षा समितिले गत ३० चैतमा नगरपालिकाभित्र रहेको धादिङबेँसीका चर्चित दुई ठूला नीलकण्ठ माध्यमिक विद्यालय र बालमन्दिर माध्यमिक विद्यालयसहित इजारा आधारभूत विद्यालयलाई समायोजन गरेको हो । नीलकण्ठ माध्यमिक विद्यालयमा करिब २७ सय, बालमन्दिरमा करिब ११ सय र इजारा आधारभूत विद्यालयमा करिब ७५ जना विद्यार्थी छन् । 

नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय भनेर नामकरण गर्ने प्रस्ताव गरिएको समायोजनपछिको विद्यालयमा यी तीन विद्यालयका विद्यार्थीबाहेक बाहिरबाट आएका बालकक्षादेखि कक्षा ९ सम्म तीन सय २५ जनासम्म मात्र भर्ना गर्न सकिने भनेर कोटा निर्धारण गरी नगरपालिकामा जनशक्ति व्यवस्थापनका लागि पठाइएको हालको नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले बताए । नयाँ विद्यार्थीका लागि प्रवेश परीक्षा शुक्रबार लिने तयारी छ । हालसम्म पाँच सयको हाराहारीमा विद्यार्थीले आवेदन दिएको उनको भनाइ छ । 

ad
ad