१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मन्त्रीहरूलाई लगाम लगाउँदै एमाले 

केन्द्रीय कार्यालयमा नियमित अन्तर्संवाद गराइने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:३१:oo

एमालेले मन्त्रीहरूलाई विभागीय काम र समस्यामा केन्द्रित गराउने योजना कार्यान्वयनमा लैजाने तयारी गरेको छ । मन्त्रीहरूले धेरै समय औपचारिक उद्घाटनका कार्यक्रम, अनावश्यक भेटघाटमा खर्चिंदा सरकारको काम र मन्त्रालयको काममा असर पर्न सक्ने भन्दै एमाले केन्द्रीय कार्यालयले उनीहरूलाई विभागीय काम र समस्यामा मात्र केन्द्रित गराउने गरी योजना बनाएको हो । 

पार्टी केन्द्रीय कार्यालयले मन्त्रीहरूलाई विभागीय काम र समस्यामा मात्र केन्द्रित गराउने नीतिगत निर्णय गरेपछि केन्द्रीय कार्यालयले पार्टीबाट सरकारमा सामेल मन्त्रीहरूलाई नियमित रूपमा केन्द्रीय कार्यालयमा उपस्थित गराउने गरी कार्यतालिका कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । जसअनुसार नयाँ वर्षसँगै कुनै न कुनै मन्त्री अनिवार्य रूपमा केन्द्रीय कार्यालय, च्यासलमा उपस्थित हुनेछन् ।

२१ फागुनमा एमालेको निर्णायक पहलमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पुनर्गठन भएको थियो । पाँचदलीय समीकरणको अहिलेको सरकारमा एमालेबाट उपप्रधानमन्त्री रघुवीर महासेठले नेतृत्व गरिरहेका छन् । उनको नेतृत्वमा एमालेबाट आठ मन्त्री सरकारमा सामेल छन् । जसअनुसार महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात, पदम गिरी कानुन, न्याय तथा संघीय मामिला, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण, राजेन्द्रकुमार राई खानेपानी तथा सरसफाइ र हरिप्रसाद उप्रेती रक्षामन्त्रीको जिम्मेवारीमा छन् ।

डा. भीष्म अधिकारी, सचिव, केन्द्रीय कार्यालय, एमाले
मन्त्रीहरूलाई आफ्ना विभागीय काम र समस्यामा केन्द्रित गराउने गरी पार्टीले नियमित रूपमा पालैपालो केन्द्रीय कार्यालयमा उपस्थित गराउने नीतिगत निर्णय गरेको छ । उहाँहरू कार्यालयमा आएपछि नेताहरूसँग भेटघाट र संवाद गरेर फिडब्याक लिनुहुनेछ । भेट्न चाहने नेता–कार्यकर्तासँग अन्तरक्रिया गर्ने, सुझाव लिने र कामका विषयमा अन्तर्संवाद र छलफल गर्नुहुनेछ ।

सबै मन्त्रीलाई पार्टीको नीतिगत निर्णयअनुसार पालैपालो पार्टी केन्द्रीय कार्यालयमा उपस्थित गराएर विभागीय काम र समस्यामा केन्द्रित गराउने गरी पार्टीले आन्तरिक कार्यतालिका बनाइरहेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । ‘मन्त्रीहरूलाई आफ्ना विभागीय काम र समस्यामा केन्द्रित गराउने गरी पार्टीले नियमित रूपमा पालैपालो केन्द्रीय कार्यालयमा उपस्थित गराउने नीतिगत निर्णय गरेको छ,’ उनले भने, ‘उहाँहरू कार्यालयमा आएपछि नेताहरूसँग भेटघाट र संवाद गरेर फिडब्याक लिनुहुनेछ । भेट्न चाहने नेता–कार्यकर्तासँग अन्तरक्रिया गर्ने, सुझाव लिने र कामका विषयमा अन्तर्संवाद र छलफल गर्नुहुनेछ ।’

चैत पहिलो साता सम्पन्न केन्द्रीय विभागहरूको संयुक्त बैठकले पार्टीका विभागहरूले नीतिगत कामहरू गरिरहे पनि ती विभाग र मन्त्रालयबीच समन्वय हुन नसकेकाले आगामी दिनमा समन्वयात्मक ढंगले काम गर्ने निष्कर्ष निकालेको थियो । त्यही बैठकमा ओलीले समीकरण फेरिएसँगै कामको प्राथमिकता बदलिएको भन्दै विभागहरूलाई सरकारी मोर्चाको काममा समन्वय गर्ने गरी केन्द्रित हुन निर्देशनसमेत दिएका थिए । त्यसलाई समेत मध्यनजर गर्दै एमालेले मन्त्रीहरूलाई पालैपालो केन्द्रीय कार्यालयमा उपस्थित गराएर काममा केन्द्रित गराउने गरी योजना बनाएको हो । 

‘केन्द्रीय विभागहरूले पार्टी सत्तामा हुँदा नीतिगत हिसाबले सही काम गर्न र कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्नुपर्छ, प्रतिपक्षमा हुँदा दबाबको भूमिका खेल्नुपर्छ त्यसैले अहिले भूमिका बदलिएको छ,’ ओलीले निर्देशन दिँदै भनेका थिए, ‘अहिलेको काम सरकारलाई सफल बनाउने हो, पार्टीबाट सरकारमा सहभागी मन्त्री र अरू मन्त्रीहरूलाई सुझाव दिने, काम गर्न र गराउन समन्वय गर्ने हो ।’ 

पार्टीले बनाएको योजनाले जनताका सरोकारमा केन्द्रित भएर समस्या समाधान गर्न सहजता थपिने मन्त्रीहरूको प्रतिक्रिया छ । ‘पार्टीले पालैपालो कार्यालयमा उपस्थित भएर हामीलाई समस्या समाधानमा केन्द्रित गराउन जे–जस्ता योजना बनायो, त्यो एकदम ठीक छ, किनभने हामीले जनताका सरोकार र समस्या सुन्नैपर्ने हुन्छ,’ खानेपानीमन्त्री राजेन्द्र राईले भने, ‘त्यसले हामीलाई नियमित प्रतिक्रिया र सुझाव प्राप्त हुन्छ, काम गर्न सहजता थपिने गरी सहयोग पुग्नेछ र पार्टीको निर्देशनअनुसार काम गर्न पनि सजिलो हुनेछ ।’ २५ फागुनमा बालकोटस्थित निवासमै बोलाएर पनि अध्यक्ष ओलीले पार्टीबाट सरकारमा सामेल मन्त्रीहरूलाई बोलाएर अलग्गै निर्देशन दिएका थिए । प्रलोभनबाट जोगिएर देशको हितमा काम गर्न ओलीले सुझाएका थिए । 

ad
ad