१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेवानिको न्यारोबडी सिजनमै एक सय ४२ दिनदेखि ग्राउन्डेड

निगमको उडान कटौती भएपछि एयर इन्डिया, भिस्टारा, इन्डिगो, भुटान एयर धमाधम यात्रु ओसार्न व्यस्त

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:१२:oo

वसन्तयामको सुरुवातसँगै नेपालमा पर्यटकीय सिजन सुरु भएको छ । भारत र चीनलगायत विभिन्न देशबाट आउने पर्यटकको वृद्धि भएसँगै कोभिडपछि सन् २०२४ मा नेपाली पर्यटन क्षेत्र सुखद बन्ने देखिन्छ । यतिवेला नेपाल भ्रमणमा आउने पर्यटकलाई बोक्न विदेशी वायुसेवा कम्पनीहरूलाई भ्याइनभ्याई छ । तर, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले यात्रु बोक्न व्यस्त राख्नुपर्ने जहाजलाई महिनौँदेखि ग्राउन्डेड राखेको छ । 

विदेशी ठूला वायुसेवासँग प्रतिस्पर्धा गर्नुपर्ने निगमसँग यसै पनि जहाज अत्यन्तै कम चारवटा मात्रै छन् । निगमसँग दुईवटा वाइडबडी एयरबस ३३० र दुईवटा न्यारोबडी एयरबस ३२० विमान छन् । अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा व्यस्त रहने न्यारोबडी ९एन–एकेएक्स कलसाइनको जहाज एक सय ४२ दिनदेखि थन्किएको छ । सोही कारण भारतको दिल्ली, मुम्बई, बैंग्लोरलगायत विभिन्न गन्तव्यका निगमले बोक्ने यात्रुलाई विदेशी वायुसेवाले बोकिरहेका छन् । निगमको अन्य देशको उडान पनि अस्तव्यस्त रहँदै आएको छ ।

दायाँ पखेटामा रहेको इन्जिनमा समस्या आएपछि १३ मंसिरदेखि ९एन–एकेएक्स विमान ग्राउन्डेड गरिएको होे । जहाजको इन्जिन फेर्न भन्दै २६ पुसमा इजरायल पठाएको पनि ९९ दिन पुगिसकेको छ । इन्जिन लिजसहित मर्मतको जिम्मेवारी पाएको इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)को लापरबाहीकै कारण व्यस्त सिजनमा जहाज महिनौँ ग्राउन्डेड गरेर राख्नुपरेको हो । निगम नेतृत्वले कमिसन सेटिङमा मेन्टेनेन्स, रिपेयर, ओभरल (एमआरओ) कम्पनी छनोट गरेकै कारण इजरायली कम्पनीले ढिलाइ गर्दै आइरहेको निगमकै उच्च स्रोतको भनाइ छ । 

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेल भन्छन्–इजरायलमा इन्जिन बनिसकेको खबर आएको छ, कम्पनीले ढिलोमा २२ तारिखसम्म जहाज हस्तान्तरण गर्छौँ भनेको छ । तर, जहाज हस्तान्तरण गरेर नउडाउँदै यसै दिन आइहाल्छ भनेर ठोकुवा गर्ने अवस्था छैन ।

सम्झौताबमोजिम आइएआईले जहाज ग्राउन्डेड भएको जानकारी पाएको सात दिनभित्र इन्जिन भाडामा उपलब्ध गराउने र ६५ दिनसम्म इन्जिन मर्मत गरेर हस्तान्तरण गर्नुपर्छ । तर, जहाज ग्राउन्डेड भएको पाँच महिना पुग्न लाग्दा समेत आइएआईले न भाडामै इन्जिन उपलब्ध गराएको छ, न इन्जिन मर्मत नै गरिदिएको छ । बरु, इज्जिन फेर्न पठाएको विमान इजरायली भूमिमा अलपत्र अवस्थामा राखिएको छ । जबकि, अहिले इजरायल युद्धले अशान्त छ ।

 जहाज ग्राउन्डेड हुँदा उडान नै कटौती
भारतको दिल्ली उडान सबैभन्दा आकर्षक गन्तव्य मानिन्छ । निगमले काठमाडौं–दिल्ली एउटा न्यारोबडी र अर्को वाइडबडी जहाजले दैनिक दुईवटा उडान गर्दै आइरहेको थियो । जहाज ग्राउन्डेड भएपछि अहिले निगमले दैनिक एउटा मात्रै उडान गरिरहेको छ । सातामा तीन–तीन उडान गर्दै आइरहेको मुम्बईमा एउटा र बैंग्लोरमा दुईवटा उडान भइरहेका छन् । नेपालमा सबैभन्दा बढी भारतको राजधानी क्षेत्र र दक्षिण भारतबाट पर्यटक आउने गर्छन् । मार्चमा नेपाल आएका एक लाख २८ हजार पर्यटकमध्ये भारतीय मात्रै ३० हजार ६ सय ९८ रहेका छन्, जुन कुल पर्यटकको २४ प्रतिशत हिस्सा हुन आउँछ । निगमको उडान कटौती भएपछि एयर इन्डिया, भिस्टारा, इन्डिगो, भुटान एयर धमाधम यात्रु ओसार्न व्यस्त छन् । 

निगमसँग एउटा मात्र न्यारोबडी उडानमा छ । कुनै कारणले त्यो जहाजको पनि उडान रोकिए विमानस्थलमा यात्रुको बिचल्ली हुने निश्चित छ । पर्यटकीय सिजन सुरु भएसँगै दिल्ली, मुम्बई, बैंग्लोर उडानमा भाडा पनि अचाक्ली बढेको छ । अहिले काठमाडौं–दिल्ली उडानकै भाडादर प्रतियात्रु ४५–५० हजारसम्म पुगेको छ । निगमको उडान कटौती हुँदा भारतीय वायुसेवा कम्पनीले पनि भाडामा मनपरी गर्न थालेका छन् ।  

 एउटैबाट पौने दुई अर्ब आम्दानी गुम्यो
पछिल्लो समय एकेएक्स ग्राउन्डेड हुँदा निगमले एक अर्ब ६२ करोडभन्दा बढी आम्दानी गुमाएको निगम स्रोत बताउँछ । एउटा न्यारोबडीले दैनिक औसतमा एक करोड १५ लाख आम्दानी गर्ने बताइन्छ । सिजनमा यो आम्दानी अझ बढ्ने गर्छ । अहिले निगमकै फ्लाइटमा काठमाडौं–दिल्ली उडानकै भाडा ३५ हजारभन्दा माथि पुगेको छ । अफ सिजनमा यात्रुले आठ हजारमै पनि काठमाडौं–दिल्ली उडान गर्न पाउँछन् ।

 १० वैशाखमा ल्याउने तयारी
इजरायली कम्पनी आइएआईले जहाजको एउटा इन्जिन मर्मत भइसकेको निगमलाई जानकारी पठाएको छ । तर, अझै इन्जिन जहाजमा जोडेर परीक्षण गर्ने काम भने भएको छैन । २२ अप्रिल (१० भदौ)मा जहाज ल्याउने मिति तोकिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । ‘इजरायलमा इन्जिन बनिसकेको खबर आएको छ, कम्पनीले ढिलोमा २२ तारिखसम्म जहाज हस्तान्तरण गर्छौँ भनेको छ,’ उनले भने, ‘तर, जहाज हस्तान्तरण गरेर नउडाउँदै यसै दिन आइहाल्छ भनेर ठोकुवा गर्ने अवस्था छैन ।’ 

 इन्जिन मर्मत गर्न दुई सय १८ दिन लगाइयो 
चालू आर्थिक वर्षको नौ महिनामा एकेएक्स जहाजले करिब दुई महिना मात्र उडान गरेको छ । यसअघि ३१ असार ०८० मा यही जहाजको बायाँ पखेटामा रहेको इन्जिनमा समस्या आएर ग्राउन्डेड गरिएको थियो । सो इन्जिन मर्मतका लागि निगमले ३१ भदौमा जहाज इजरायल पठाएर आइएआई कम्पनीलाई हस्तान्तरण गरेको थियो । त्यतिवेला आइएआईले उपलब्ध गराएको भाडाको इन्जिन राखेर अढाई महिनापछि ११ असोजमा नियमित उडानमा फर्किएको थियो ।

तर, नियमित उडानमा फर्किएको दुई महिनामै फेरि बायाँ पखेटामा समस्या आएपछि १३ मंसिरयता जहाज ग्राउन्डेड छ । अहिले आइएआईले ३१ भदौमा छाडेको इन्जिन मर्मत गरेको बताइन्छ । सम्झौताबमोजिम ६५ दिनमा मर्मत गरिदिनुपर्ने इन्जिन मर्मतका लागि दुई सय १८ दिन लगाएको छ । त्यो पनि १० वैशाखसम्म तयार हुन्छ–हुँदैन अझै यकिन छैन । तैपनि, जहाज तोकिएकै मितिमा ल्याउन निगमको कन्टिन्युइङ एयरवर्थिनेस म्यानेजमेन्ट डिपार्टमेन्ट कस्सिएर लागेको छ । अब जहाजमा एउटा आफ्नै र अर्को भाडाको इन्जिन जोडेर नियमित उडानमा फर्किनेछ । जहाजमा ११ असोजमै एउटा भाडाको इन्जिन जडान गरिएको छ । 

‘पहिल्यै छाडेको इन्जिन मर्मत गरेको खबर आएको छ, पछिल्लोपटक छाडेको इन्जिनको कम्पनीले अझै खर्च स्टिमेट नै पठाएको छैन, त्यो इन्जिन उतै छाडेर जहाज फर्किनेछ,’ स्रोतले भन्यो, ‘अहिलेसम्म इस्टिमेट कस्ट नै आएको छैन, कम्पनीले कहिले स्टिमेट कस्ट पठाउला, निगमले कहिले स्वीकृत गर्ला, इन्जिन कहिले मर्मत सकिएला ?’ जबकि, कम्पनीले ३१ भदौमा छाडेको इन्जिन अर्को वर्षको १० वैशाखमा बल्ल हस्तान्तरण गर्ने जानकारी पठाएको छ । 

ad
ad