१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नगरपालिका नै सुनसान पारेर रौतहटको गरुडाका मेयरसहित कर्मचारी भारत भ्रमणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:४१:oo

जिल्लाको गरुडा नगरपालिकाका मेयरसहित ३० जनाको टोली भारत भ्रमणमा हिँडेपछि नगरपालिकाको दैनिक कामकाजमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो रहेको छ । मेयर कन्थमणिप्रसाद कलवार, उपप्रमुख पुनमकुमारी चौधरी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगर परिषद् सदस्यहरूसहितका तीन दर्जनको जम्बो टोली भ्रमणमा हिँडेपछि दैनिक कामकाजमा समस्या भएको गरुडाका सेवाग्राही दीनानाथ सहनीले गुनासो गरे ।

जनप्रतिनिधिहरू नै नगरपालिका र वडा कार्यालयमा नभएपछि सेवा प्रवाहमा समस्या भएको उनको भनाइ छ । रोचक कुरा त के छ भने सो नगरपालिकाका मेयरविरुद्ध आन्दोलनमा उत्रेकी उपमेयरसमेत हिसाबकिताब मिलेपछि मेयरसँगै  भ्रमणमा निस्केकी हुन् । उपमेयर पुनमकुमारी चौकरी  मेयरले नगरपालिकाको रकम हिनामिना गरेको भन्दै केही समय पहिला नगरपालिकाको मूलगेटमा ताला लगाएर धर्नामा बसेकी थिइन् ।

अहिले नगरपालिकाका सबै जनप्रतिनिधि धार्मिक भ्रमणको नाममा झोलीतुम्बा बोकेर भारततिर लागेपछि अहिले गरुडा नगरपालिकाको कार्यालय सुनसान देखिएको छ । यहाँका जनप्रतिनिधि र कर्मचारी  भ्रमणका लागि जिल्लाबाहिर मात्र नभई छिमेकी मुलुक भारतमा पुगेका छन् । उनीहरू तीर्थयात्रा भनी भारतको हरिद्वार, अयोध्यालगायतका ठाउँमा तीर्थ भ्रमणमा पुग्ने योजना रहेको भ्रमण दलका एक सदस्यले बताए ।

नगरपालिकाका जनप्रतिनिधिसहित कर्मचारी र सदस्यहरूको टोली भ्रमणमा गएको हो ।  टोली नै एकैपटक भ्रमणमा निस्किएपछि नगरपालिकाको दैनिक काम प्रभावित भएको छ । नगरपालिकामा विभिन्न कामले आउने सेवाग्राही यतिवेला नगरपालिकाबाट रित्तो हात फर्कन बाध्य छन् ।

जनप्रतिनिधि नभएपछि नगरपालिकाको प्राविधिक, स्वास्थ्य, कृषि, पशु, सामाजिक सुरक्षा, महिला विकासलगायत शाखाका कर्मचारीहरूसमेत मोबाइल चलाएर  दिन बिताउँदै देखिन्छन् । अहिले नगर प्रमुख कलवारसहितकाे टोली भारत पुगेकाे छ। गरुडा नगरपालिकाका प्रमुख कन्थमणि कलवारसहित नगरको टोली भारतको विभिन्न धार्मिक तीर्थस्थल  भ्रमणका लागि ६ लाख खर्च गरेर भारतको अयोध्यासम्म पुग्न लागेको स्रोतको भनाइ छ । रामनवमी पर्व पारेर नगर प्रमुख कलवारले कार्यपालिकाका असन्तुष्ट पक्षलाई  तीर्थस्थलको भ्रमण गराएर खुसी पार्न खोजेको आरोप स्थानीयको  छ ।

ad
ad