१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रासस काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जसपाको महाधिवेशन ताेकिएकै मितिमा, कार्यतालिका सार्वजनिक

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:o७:oo

जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै सोका लागि आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यतालगायत वैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुनेसमेत निर्णय गरेको छ।

कार्यतालिकाअनुसार वैशाख १० गतेभित्र संगठन विभागले आवश्यकताअनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने, संगठित सदस्यतामा त्रुटि देखिएमा वैशाख १५ भित्र सच्याउनुपर्ने, १६ गते संगठित सदस्यताको अभिलेख सार्वजनिक गरिनेछ।

त्यसैगरी, वैशाख १७ देखि २० सम्म संगठित सदस्यतामाथि उजुरी गर्ने र २१ गतेदेखि २५ भित्र ती उजुरीमाथि छानबिन गरिसक्ने समय तोकिएको छ।

संगठित पार्टी सदस्यको अन्तिम नामावलीसहितको विवरण वैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ। वैशाख ३० गतेदेखि जेठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नुपर्ने तालिका सार्वजनिक गरिएको छ।

यसैगरी, मधेश प्रदेश सरकारका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि प्रतिनिधि निर्वाचनसम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय  समिति गठन भएको छ। समितिको सदस्यमा शिवलाल थापा र मनीषकुमार सुमन रहेका छन्।

गत पुसमा जसपाको सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो।

संगठित पार्टी सदस्यताको विवरण पठाउँदा पार्टी सदस्यता प्राप्त गरेको मिति छुट्न गएको वा उल्लेख नभएको खण्डमा त्यस्ता संगठित सदस्यको सदस्यता प्राप्त मितिसहितको विवरण सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिने र सम्बन्धित प्रदेशले संगठन विभागमा यथाशीघ्र पठाउनुपर्ने जसपाले जनाएको छ।

ad
ad