१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पाँच वर्षमा पाँच करोड ३३ लाखको गैरकानुनी सम्पत्ति आर्जन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१६:oo

आफ्नै नाममा ताल बनाउने बागमतीका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगर क्षेत्रमा आफ्नै नाममा विशाल ताल बनाएर चर्चित सर्लाहीको बागमती नगरपालिकाका बहालवाला मेयर भरतकुमार थापाविरुद्ध पाँच करोड ३३ लाख ५३ हजारबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । मेयर भएको पाँच वर्षमा उनले अकुत सम्पत्ति आर्जन गरेको भन्दै बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

मेयर थापाको १३ करोड २० लाख तीन हजार ३९१ रुपैयाँ कुल सम्पत्ति देखिएकोमा सात करोड ८६ लाख ५० हजार २०१ रुपैयाँको मात्रै वैधानिक स्रोत खुलेको अख्तियारको दाबी छ । अख्तियारले दोहोरिएर मेयर भएका थापा पहिलो कार्यकालका लागि निर्वाचित भएको ७ असोज ०७४ देखि २९ माघ ०७९ सम्मको आम्दानी र खर्चको विश्लेषण गरेको थियो । उक्त अवधिमा उनको आम्दानीभन्दा खर्च तथा लगानी अत्यधिक देखिएपछि अख्तियारले मुद्दा दायर गरेको हो । 

जाँच अवधिको वैधानिक आयको विश्लेषणका क्रममा अख्तियारले मेयरका रूपमा सार्वजनिक सेवामा प्रवेश गर्नुअघि उनी र एकासगोल परिवारका सदस्यहरूको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात रकम, सार्वजनिक सेवामा प्रवेशपश्चात् उनले प्राप्त गरेको पारिश्रमिक बचत, पत्नीको पारिश्रमिक बचत, बैठक भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण, जग्गा बिक्री, कम्पनी आय र कृषि आम्दानीसमेत गरी जम्मा सात करोड ८६ लाख ५० हजार २०१ रुपैयाँको वैधानिक स्रोत खुलेको अख्तियारको दाबी छ ।

त्यसैअवधिमा मेयर थापाको सम्पूर्ण व्यय (खर्च तथा लगानी)को पनि अख्तियारले विश्लेषण गरेको थियो । त्यसक्रममा घरजग्गा खरिद, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट उपभोग गरेको कर्जाको सावाँ–ब्याज तिरेको रकम, जीवन बिमा प्रिमियम भुक्तानीमा भएको खर्च, विभिन्न कम्पनीहरूमा लगानी भएको खर्च, अध्ययन खर्च, सेयर खरिद खर्च, सवारीसाधन खरिदमा भएको खर्च, सेवा दस्तुरबापत तिरेको रकम र बैंक मौज्दात रकमसमेत गरी जम्मा १३ करोड २० लाख तीन हजार ३९१ रुपैयाँ खर्च तथा लगानी गरेको देखिन्छ ।

यसरी अनुसन्धानको जाँच अवधिमा स्रोत खुल्न आएको मेयर थापाको वैध आयको अनुपातमा सोही अवधिमा खर्च तथा लगानी पाँच करोड ३३ लाख ५३ हजार १९१  रुपैयाँबराबरको सम्पत्ति ऋणात्मक देखिएको छ । स्रोत नखुलेको यही रकमलाई गैरकानुनी ठहर गरी अख्तियारले मेयर थापाविरुद्ध मुद्दा दायर गरेको हो । यसैलाई अख्तियारले बिगो कायम गरेको छ । 

थापाले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दाबी छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद तथा जरिवानाको सजायको मागदाबी अख्तियारले गरेको छ । 

सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति थापाले श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइ बुहारी द्वारिका राउतको नाममा घरजग्गा, विभिन्न कम्पनीमा लगानी, सेयर खरिद, जीवन बिमा प्रिमियम भुक्तानी र बैंक खातामा मौज्दात रकम राखेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । त्यसमध्ये स्रोत नखुलेको, आंशिक स्रोत खुलेको तथा पूरै स्रोत खुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्तिबाट जफत प्रयोजनका लागि श्रीमती, भाइ र भाइ बुहारीसमेतलाई अख्तियारले प्रतिवादी कायम गरेको छ ।
 

ad
ad