१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बुटवल उवासंघको परिषद् सभा : आर्थिक राजधानीका रूपमा विकास गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:५२:oo

बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सरोकारवाला जुट्नुपर्नेमा जोड दिइएको छ । बुटवल पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहँदै आएको तथ्य औँल्याउँदै सरोकारवालाले यहाँको विकासमा ध्यान दिन सके प्रदेशको मात्रै नभएर देशकै आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिनेमा जोड दिए । 

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ३०औँ परिषद् सभामा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्वमन्त्री विष्णु पन्थीले बुटवललाई प्रदेशको व्यवस्थित आर्थिक राजधानी बनाउने भन्नेमा बहस हुन आवश्यक रहेको बताए । सबै मिलेर काम गर्ने हो भने बुटवललाई प्रदेशको मात्रै नभएर देशकै आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने उनको धारणा थियो । 

त्यस्तै, उनले प्रदेशको राजधानी सरेपछि परेको मनोवैज्ञानिक असर र आर्थिक मन्दीले समेत यहाँको उद्योग व्यापार–व्यवसायमा केही जटिलता सिर्जना भएको बताए । 

संघका अध्यक्ष हरिप्रसाद अर्यालले आर्थिक विकाससँग जोडिएका विषयमा निजी क्षेत्र र सरकारको साझा धारणा आवश्यक रहेकोमा जोड दिए । उनले मुलुकको आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्रको विकासका लागि सरकार गम्भीर बन्नुपर्ने बताए । 

उनले सरकारले पूर्वाधार निर्माण गर्दा सहज आवागमनलाई असर नगर्ने गरी काम गर्नुपर्ने बताउँदै बुटवल–नारायणगढ सडक पूर्वाधार निर्माण पूरा नहुँदै पश्चिमको सडक नभत्काउन सरकारको ध्यानाकर्षण गराए । प्रदेश सभा सचिवालय र सभा सञ्चालनका लागि प्रदेश सरकारलाई उपलब्ध गराइएको संघको भवन र सभाहल राजधानी सारेपछि अस्तव्यस्त छाडेको र मर्मत–सम्भारको भुक्तानीमा समेत विलम्ब भइरहेको बताउँदै अध्यक्ष अर्यालले सांसद पन्थीलाई भुक्तानीको प्रबन्ध मिलाइदिनसमेत आग्रह गरे । 

साथै, संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले खेलेको भूमिकाको चर्चा गर्दै विकास र समृद्धिका लागि बुटवल र पहाडी जिल्लाको आवागमनलाई सहज र छिटो–छरितो बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा संघका महासचिव मुक्तिप्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै संघले गत असोजयता सम्पादन गरेका कार्यक्रमहरू र त्यसले पारेका प्रभावहरूबारे जानकारी गराए । 

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, संघका परामर्शदाता सिए हरि लम्साल, बुटवल उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष तथा संघका कार्यसमिति सदस्य नरीश्वर शर्मा पौडेल, क्याटरिङ तथा मिष्ठान्न वस्तुगत समितिका सभापति लक्ष्मण पोखरेललगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।

परिषद् सभामा संघमा गठित वस्तुगत समितिका सभापतिले हालसम्म गरेका गतिविधि, उद्योगी–व्यवसायीका समस्या तथा समाधानका लागि सुझावसहितका प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघमा रहेका २८ वटा वस्तुगत समितिले दिएको प्रतिवेदनका आधारमा व्यवसायीका समस्या समाधानका लागि संघबाट हुन सक्ने पहल संघले गर्ने र केन्द्रमा पहल गर्नुपर्ने कुरा महासंघमार्फत पहल गरिने अध्यक्ष अर्यालले बताए । कार्यक्रममा संघ र संघअन्तर्गत गठित कपडा वस्तुगत समितिले प्रकाशन गरेको ०८१ सालको भित्तेपात्रो विमोचन गरिएको थियो । 

ad
ad