१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
सुशील विके
२o८१ बैशाख २१ शुक्रबार o८:१३:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विश्व सामाजिक मञ्चको सन्देश

Read Time : > 5 मिनेट
सुशील विके
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१३:oo

नेपालमा आयोजित विश्व सामाजिक मञ्चले अन्यायपूर्ण विश्वको विकल्पमा न्याय, समानता, शान्त र स्वतन्त्र विश्वको खोजीमा जोड दिएको छ

दक्षिण एसियामा शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रतासहितको खुलापन नेपालमा बाँकी रहेको सन्देशसहित विश्व सामाजिक मञ्च सम्पन्न भएको छ । त्यसो त नेपालको यही वातावरणका कारण यो विश्व कार्यक्रम नेपालमा गर्न सम्भव भएको थियो । तर, दुःखसाथ भन्नुपर्छ, विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरी सरकारले अहिले त्यही स्वतन्त्रता, खुलापन र ‘सिभिक स्पेस’माथि निरन्तर प्रहार गरिरहेको छ । 

नेपालमा पहिलोपटक आयोजना गरिएको कार्यक्रममा ९८ देशका १४ सयभन्दा बढी विभिन्न सामाजिक आन्दोलनसँग जोडिएका संघसंस्था र प्रत्यक्ष र भर्चुअल गरी ५० हजारको सहभागिता रह्यो । विभिन्न सीमाका बाबजुद सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेर नेपालले विश्वस्तरका यस्ता कार्यक्रम आयोजना गर्न सक्षम रहेको सन्देश मात्र दिएन, लोकतन्त्र प्राप्तिका लागि गरेको संघर्ष र प्राप्त उपलब्धिबारे पनि विश्वसामु अनुभव आदान–प्रदान गर्न सफल भयो ।

नेपालमा पहिलोपटक हुन लागेको र अनुभव पनि नभएको हुँदा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न नेपाल आयोजक समिति बढी नै गम्भीर देखिन्थ्यो । स्रोत–साधनको व्यवस्थादेखि समग्र कार्यक्रमको आयोजना र व्यवस्थापन गर्नु चुनौतीपूर्ण थियो । तर, यहाँका सबै सामाजिक आन्दोलन, मजदुर, किसान, महिला, दलित, जनजाति, मधेसी, अपांगता भएका समुदाय तथा विभिन्न सामाजिक संघसंस्थाको निरन्तरको बहस, छलफल, योजनाबद्ध र निरन्तर खटेर काम गर्ने शैलीका कारण कार्यक्रम सफल रूपमा आयोजना भयो । 

मञ्चले एक्काइसाैँ शताब्दीमा कुनै पनि देशले आफूमा रहेको धनपैसा, प्रविधि, हतियार वा अन्य शक्तिका नाममा लाद्ने हैकमवाद, शोषण, दमन तथा एकाधिकार अस्वीकार्य रहेको सन्देश दिएको छ । निर्विकल्प ठानिएका पुँजीवादी र साम्राज्यवादी नीति र सिद्धान्तमा टेकेर कथित पहिलो विश्वका देशहरू उन्मत्त साँढेजस्तो भएर गरिब देशमाथि मनपरी गर्ने परिपाटीकोे मञ्चले कडा विरोध गर्दै संसारभर भइरहेका आततायी युद्ध र दमन रोक्न माग गरेको छ । मञ्चमा गुञ्जेका नारा, जुलुुस, पोतिएका पोट्रेट, पर्चा–पमप्लेट, नाटक, वक्ताका भनाइ र विभिन्न सामाजिक आन्दोलनले जारी गरेका ६५ भन्दा बढी घोषणापत्रको एउटै सार भनेको यस्तो अन्यायपूर्ण विश्वको विकल्पमा न्याय, समानता, शान्त र स्वतन्त्र विश्वको खोजी हो । 

अहिलेको विश्व व्यवस्थाले अँगालेका नीतिले विभिन्न समस्या सिर्जना गर्ने, तर समाधानको ठोस पहल गर्न नसक्ने परिपाटीले विश्व जनसंख्याको ठूलो हिस्सा बहुमुखी समस्याको सामना गर्न बाध्य छ । जलवायु परिवर्तन सिर्जित वातावरणीय संकट, भोकमरी, महामारी, गरिबी, बेरोजगारी, आप्रवासन, विभेद, असमानता, वञ्चितीकरण, द्वन्द्व तथा युद्धजस्ता गम्भीर समस्याले पृथ्वी र मानव जातिलाई गम्भीर संकटमा धकेलिरहँदा अहिलेको विश्व रमिते बनेको देखिन्छ । यस्तो परिवेशमा अर्को विश्व निर्माण गर्ने यात्रालाई मञ्चको १६औँ संस्करणले थप गतिशील र ऊर्जाशील बनाउने काम गरेको छ । मञ्चका माध्यमबाट एक ठाउँमा जुटेका सीमान्तकृत नागरिकले आफ्ना कुरा खुलेर राखेका छन् भने आफ्ना मुद्दा सम्बोधन गर्नका लागि सुझाव, दबाब र खबरदारी चर्को रूपमा गरेका छन् । 

पछिल्लो समयमा विश्व व्यवस्थासँग जोडिएका नीति, सिद्धान्तमा आलोचनात्मक बहस र छलफल कम भएको परिवेशमा मञ्चमा निर्विकल्प सिद्धान्तका रूपमा वर्तमान विश्वले अँगालेका नवउदारवादी, पुँजीवादी नीति र यसले पारेका नकारात्मक प्रभावबारे गम्भीर चिरफार भएको छ । वैकल्पिक विचारको मन्थनले शोषण, दमन र विभेदमा परेका नागरिकमा यो विश्वबाट न्याय नमिले अर्को बनाउन पनि सकिन्छ र त्यसले न्याय दिन सक्छ भन्ने आशाको सञ्चारसमेत गराएकोे छ ।

कार्यक्रम सुरु हुनुअघिसांस्कृतिक झाँकीसहित गरिएको ‘सोलिडारिटी मार्च’मा ‘जस्टिस फर प्यालेस्टाइन’ भन्ने चर्को नारा लाग्यो । ठूलो संख्यामा नेपाली र अन्य विदेशी डेलिगेट्सहरूले झन्डासहित प्यालेस्टाइनका पक्षमा ठूलो ऐक्यबद्धता प्रकट गरे । गाजा क्षेत्रमा महिला, बालबालिका र निःशस्त्र नागरिकमाथि भइरहेको नरसंहार रोक्न विभिन्न सत्रमा गम्भीर बहस भए । यति मात्र होइन, विश्वमा भइरहेका अन्य युद्ध रोक्न, सैनिकीकरण र हतियारको व्यापार रोक्नुपर्ने आवाज सशक्त रूपमा उठ्यो ।

मञ्चको उद्देश्यअनुरूप चार सयभन्दा बढी सभा, सम्मलेन, फोरम, डिस्कोर्सजस्ता कार्यक्रम सम्पन्न भए । अधिकांश कार्यक्रममा सबै महादेशबाट प्रतिनिधित्व हुने गरी वक्ता चयन गरिएका थिए भने सोहीअनुसार छलफल पनि भएको थियो । यसले सबै देशका सहभागीलाई एक–अर्काको देशका विषयमा सिक्न र बुझ्न सम्भव भयो । विश्वका सामाजिक आन्दोलन कसरी अघि बढेका छन् ? तिनका चुनौती र भविष्यबारे महत्वपूर्ण छलफल भएको छ । पुँजीवादी कर्पोरेट हाउस र बहुराष्ट्रिय कम्पनीका नाफामुखी नीतिका कारण कृृषि क्षेत्र र किसानमा परेको असरदेखि मजदुरमाथि परेको प्रभावसम्म छलफलका महत्वपूर्ण विषय बने । जलवायु परिवर्तनले संसारलाई पारेको प्रभावबारे बहस हुँदा हिउँ पग्लेर काला हुँदै गएका नेपालका हिमालको चर्चा नहुने कुरै भएन । यति मात्र होइन, विश्वभर महिलाले भोग्दै आएका हिंसाका कुरा, दलित समुदायले भोग्दै आएका छुवाछुतका कुरा, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता समुदायले भोगेका पीडाका कुरा तथा जनजाति समुदाय, बालबालिका तथा युवाका सवाल कार्यक्रममा छलफलमा आए । विश्वले भोगेका संकट मात्र होइन, मिडियाले भोगेका संकटदेखि समाजवादको भविष्यबारे समेत बहस भए ।

वर्तमानमा खबरदारी गर्दै भविष्यलाई मार्गदर्शन गर्ने यस्ता कार्यक्रममा स्वदेश तथा विदेशका युवाको आकर्षण र उपस्थितिले सामाजिक आन्दोलनमा अन्तरपुस्ता बहस र पुस्तान्तरणको आवश्यकता र महत्व दर्साएको छ । यसले सामाजिक रूपान्तरणको अभियानमा सकारात्मक आशा जगाएको छ भने बुद्धिजीवी र मिडियामाझ अपेक्षाकृत बहस हुन नसक्दा एक खालको निराशा पनि पैदा भएको छ ।

विश्वका कुनै पनि कुनामा भएका घटना, विषय र पात्रबारे बुझ्न, कुरा गर्न र स्टोरी बनाउन नेपालबाट त्यहीँ पुग्न सहज हुँदैन । तर, ग्रासरुटको आन्दोलनदेखि अन्तर्राष्ट्रिय आन्दोलनसम्म जोडिएका विश्वका विभिन्न देशका मानिस दैलोमै आउँदा उनीहरूले देखेका, भोगेका समस्या र उनीहरूले गरेका संघर्ष र अनुभव सुन्न र स्टोरी वनाउन नेपाली मिडियालाई निकै ठूलो अवसर थियो । त्यसो त बुद्धिजीवी तथा लेखकलाई पनि यो अवसर थियो । तर, अधिकांश मिडिया र बुद्धिजीवीले बेवास्ता गरेको देखियो । 

प्यालेस्टाइनबारे प्रशस्त बहस भयो । तर, त्यति ठूलो नरसंहार, युद्ध अपराध, हतियारको व्यापार र साम्राज्यवादी हर्कतबारे नेपाली मिडियामा कुनै सामग्री देखिएन । मञ्चका अन्य कार्यक्रमलाई एकाधबाहेकका मिडियाले न अपेक्षाकृत कभरेज गरे, न आलोचनात्मक बहसको पहल नै । कतिपयले कार्यक्रमको सामान्य समाचार प्रकाशन गरेर झारा टार्ने काम गरे भने कतिपयले त त्यो पनि गरेनन् । विश्वका विभिन्न भागबाट आएका विभिन्न पृष्ठभूमिका व्यक्तिबाट गहिराइमा पुगेर विभिन्न सूचना, ज्ञान र अनुभव लिन मिडियाले आवश्यक ठानेनन्, चाहेनन्, सकेनन् वा भाषा या अरू कुनै अवरोध भयो, त्यो बुझ्न सकिएन । 

क्युबामा बस्ने चे ग्वेभाराकी छोरी तथा समाजवादी राजनीतिज्ञ एलेदा ग्वेभारा हुन् या भारतकी अधिकारकर्मी मेधा पाटकर, उनीहरूजस्ता कैयौँ विश्वप्रसिद्ध नेतृत्व र ग्रासरुटमा संघर्ष गरिरहेका योद्धा तथा विज्ञसँग नेपाली मिडियाले विशेष साक्षात्कार गर्न सक्थ्यो । तर, उनीहरूका सामान्य विचारसम्म पनि मिडियाले लिन आवश्यक ठानेनन् । यसले हाम्रो मिडियाको साँघुरो र कमजोर धरातल मात्र देखाउँदैन, नेपालबाहिरको दुनियाँबारे चासो राख्न नचाहेको पनि देखियो । गुगलमा सर्च गरेर वा कुनै विषय अनुवाद गरेर कभरेज गर्नु र व्यक्तिसँग प्रत्यक्ष कुरा गरेर लेख्नुमा आकाश–जमिनको अन्तर हुन्छ भन्ने तथ्य मिडियाले कहिले बुझ्ने ?

आश्चर्यलाग्दो विषय त यो थियो कि यही अवधिमा कर्पोरेट हाउसले प्रायोजन गरेका फेस्टिबलका प्रत्येक सेसनको ‘लाइभ’ गर्नेदेखि ठुल्ठूला समाचार प्रकाशन गर्न भने मिडियाको होडबाजी नै थियो । मञ्चका कार्यक्रम राजधानीमा चलिरहँदा पोखरामा लिचरेचर फेस्टिबल र सुर्खेतमा कर्णाली महोत्सव चलेका थिए । यता पीडा र संघर्षमा रहेका नागरिकले स्वस्पूmर्त आयोजना गरेका अन्तर्राष्ट्रिय कार्यक्रममा चासो नराख्ने मिडिया पोखरा र सुर्खेतबाट हरेक सेसनको लाइभ र विशेष कभरेज गर्दै थिए । यताका कार्यक्रममा चासो नराख्ने बुद्धिजीवी र नेताको ती कार्यक्रममा सशक्त उपस्थिति देखिन्थ्यो । यसले के पुष्टि गर्छ भने सीमान्तकृत नागरिकका आवाज उठाउने विश्व सामाजिक मञ्चभन्दा कर्पोरेट हाउसको प्रायोजनमा नाफा कमाउने उद्देश्यले गरिएका फेस्टिबलमा अधिकांश मिडिया, नेता र बुद्धिजीवीको बढी चासो छ ।

सधैँ सबै ठाउँमा र प्रत्येक महोत्सवमा बोलिरहने र उनीहरूले के बोल्छन् भन्ने पूर्वानुमान लगाउन सकिने र कतिपय अवस्थामा पाठकले सुन्न र पढ्नसमेत विरक्त मान्ने स्वदेशी वक्ता बोलेका विषय मिडियाको प्राथामिकतामा पर्ने तर ग्रासरुटमा काम गरेका र अर्को विश्व वनाउन एक खालको त्याग, समर्पण र बलिदान गरेका विश्वका आन्दोलनकारीका विचार र अनुभव चासोमा नपर्ने, यो कस्तो विडम्बना हो ?

अहिलेको विश्व र अर्को विश्वबीचको भेदबारे गम्भीर आलोचनात्मक बहस गर्ने र विश्वका विभिन्न कुनाका संघर्षका सूचना र ज्ञानलाई खोतलेर नेपाली जनता र सरोकारवालासमक्ष प्रस्तुत गर्न बुद्धिजीवी तथा मिडिया चुकेको देखियो । सामाजिक दायित्व निर्वाह गरी आवाजविहीनको आवाज बन्नेभन्दा पनि कतै न कतै विश्वव्यापी फैलिएको कर्पोरेट पुँजीवाद र नाफाखोरको प्रभावमा नेपाली मिडिया परेको देखियो । के यसैले देखाउँदैन र नेपाली समाजको चेतनाको क्षितिज ?

अन्त्यमा, सीमित धनाढ्यको वर्चस्व रहने विश्वका अरू सभा–सम्मेलन तथा फोरमभन्दा सबैको पहुँच पुग्ने र नागरिकका आवाज गुञ्जने यस्ता फोरमको अलग महत्व हुने गर्छ । अनुभव र सिकाइ आदान–प्रदानसहित सन् २०२६ मा अफ्रिकाको वेनिनमा हुने १७औँ संस्करण र सिंगो मञ्चका लागि नेपाल संस्करणले एक खालको ऊर्जा पैदा गराएको छ । यसले न्याय, समानता, स्वतन्त्रता, मानव मर्यादासहितको विश्व, विभेदरहित विश्व, मानवमुक्ति भएको अर्को विश्व निर्माणमा महत्वपूर्ण योगदान गर्नेछ ।

विभेद र असमानता सिर्जना गर्ने, त्यसलाई विकास गर्दै टिकाउने धार्मिक सत्ता, जातीय सत्ता, पितृसत्ता, रंगभेदी सत्ता र असमावेशी आर्थिक सत्ताको अन्त्यविना अर्को विश्व सम्भव छैन । यसैले, यस्ता सत्ता टिकाउने मुख्य वैचारिक हतियार नवउदारवाद, पुँजीवाद, साम्राज्यवाद, नवउपनिवेशवाद र यसैका आडमा लादिने शोषण, दमन र हैकमवादविरुद्ध निरन्तर संघर्षको खाँचो छ । मञ्चको समापनसँगै विश्वभरका आमनागरिकतर्फ एउटा गम्भीर प्रश्न तेर्सिएको छ– ‘मुठीभरका धनाढ्यको कब्जामा रहेको अहिलेको विश्व व्यवस्था र उल्लिखित सत्ताले पस्केर दिएका अन्यायपूर्ण चिजलाई दास मानसिकतासाथ निर्विकल्प स्वीकार गर्ने कि एक मानवका रूपमा अस्वीकार गरी न्यायपूर्ण विश्व बनाउन संघर्ष गर्ने ?’
 

ad
ad