१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २० बिहीबार o६:११:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सम्पर्कविहीन ३१० सहकारीको  खोजी गर्दै मधेश सरकार

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:११:oo

सिराहाका १२१, सप्तरीका ९४, धनुषाका ५६ र महोत्तरीका ३९ सहकारी मन्त्रालयको सम्पर्कमै छैनन्

मधेश प्रदेश सरकारले लामो समयदेखि सम्पर्कविहीन तीन सय १० सहकारी संस्थाबारे खोजबिन थालेको छ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत असोजमा प्रदेश सहकारी ऐन, २०७९ र २५ फागुनमा सहकारी नियमावली, २०८० जारी भएपछि खोजबिन गर्दा तीन सय १० वटा सहकारी गायब भएको फेला परेको जनाएको छ ।

राममणि अधिकारी, रजिस्ट्रार, कृषि तथा सहकारी मन्त्रालय, मधेश
सम्पर्कमा नरहेका सहकारीलाई सम्पर्कमा आउन सूचना प्रकाशित गरिएको छ । यदि सूचना जारी गर्दा पनि सम्पर्कमा नआएमा ती सहकारीमाथि कारबाही प्रक्रिया अगाडि बढ्नेछ ।

सम्पर्कविहीन हुनेमा सिराहाका एक सय २१, सप्तरीका ९४, धनुषाका ५६ र महोत्तरीका ३९ सहकारी छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत मंगलबार सूचना जारी गर्दै सम्पर्कविहीन सहकारीलाई ३५ दिनभित्र सम्पर्कमा आउन भनेको छ । ती सहकारी संस्था सम्पर्कमा नरहेको, विवरण नबुझाएको, कोपोमिस प्रणालीमा आबद्ध नभएको र कोपोमिसमा आबद्ध भएकाले पनि प्रतिवेदन पेस नगरेको तथा पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहकारी रजिस्ट्रार राममणि अधिकारीले जानकारी दिए । 

सहकारी ऐन, २०७९ र सहकारी नियमावली, २०८० लागू भएपछि मधेश सरकारलाई आठ सय २२ वटा सहकारी संस्था हस्तान्तरण गरिएको थियो । ती सहकारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको सहकारी महाशाखामा आफ्ना मासिक प्रतिवेदन बुझाउनुपर्ने प्रावधान तोकिएको थियो । तर, प्रदेश सरकारले सहकारीसम्बन्धी कानुन बनाउन ढिलाइ गरेपछि त्यसको फाइदा उठाउँदै सहकारीहरू आफूखुसी सञ्चालन हुँदै आएका थिए ।

प्रदेश सरकारले सहकारी ऐन र सहकारी नियमावली बनाई अनुगमन थालेपछि तीन सय १० वटा सहकारी संस्था लामो समयदेखि सम्पर्कविहीन रहेको फेला परेको रजिस्ट्रार अधिकारीले बताए । प्रदेशमा हस्तान्तरण भई आएका आठ सय २२ सहकारीमध्ये दुई सय १५ सहकारीले नियमित रूपमा मासिक प्रतिवेदन बुझाउने गरेका छन् ।

५० वटा सहकारीले मात्रै नियमित रूपमा कोपोमिस प्रणालीमा नियमित विवरण बुझाउने गरेको अनुसन्धानमा भेटिएको अधिकारीले बताए । ‘सम्पर्कमा नरहेका सहकारीलाई सम्पर्कमा आउन सूचना प्रकाशित गरिएको छ,’ उनले भने, ‘यदि सूचना जारी गर्दा पनि सम्पर्कमा नआएमा ती सहकारीमाथि कारबाही प्रक्रिया अगाडि बढ्नेछ ।’

ad
ad