राष्ट्रिय सभा उपाध्यक्ष : एमालेबाट विमला घिमिरे उम्मेदवार, एकीकृत समाजवादीको पनि दाबी
राष्ट्रिय सभा उपाध्यक्षका लागि एमालेले सांसद विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । एमाले केन्द्रीय कमिटी सदस्यसमेत रहेकी घिमिरे कपिलवस्तुबाट प्रतिनिधित्व गर्छिन् । एमालेले सत्तागठबन्धनमा आबद्ध दलहरूबीचको सहमतिअनुसार उम्मेदवार अगाडि सारेको बताएको छ । तर, एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो दाबी पेस गरेको छ ।
२७ चैतमा उम्मेदवारी मनोनयन हुने गरी संसद्ले निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुँदै छ । एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तारुढ पाँच दलको शीर्ष तहमा भएको सहमतिअनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने बताए । ‘पहिले हामीले नै पाउने सहमति हो, तर एकीकृत समाजवादी सरकारमा सामेल भएपछि उहाँहरूले पनि दाबी गरेका कारण पछि छलफल गरौँला भन्ने भएको रहेछ,’ दाहालले भने, ‘तर, पछिल्लो छलफलमा शीर्ष तहमा हामीले नै उपाध्यक्ष लिने सहमति भएकाले उम्मेदवारी दिने तयारी गरेका छौँ ।’
एमालेले घिमिरेलाई संघीय संसद् संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति बनाउने तयारी गरेको थियो । दलीय भागबन्डामा सो समितिको नेतृत्व एमालेको भागमा परेको थियो । तर, समिति गठनमा ढिलाइ भएपछि घिमिरे सभापति बन्न सकेकी थिइनन् । एकीकृत समाजवादीका नेताहरूले पार्टी सरकारमा सामेल हुने क्रममै उपाध्यक्ष आफ्नो पार्टीले पाउने समझदारी बनेको दाबी गरेका छन् ।
यसअनुसार उम्मेदवारी दिइने एकीकृत समाजवादीका नेताहरूको भनाइ छ । एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले पूर्वसमझदारीअनुसार आफ्नो पार्टी उम्मेदवारी दिने मनस्थितिमै रहेको बताए । ‘एमालेले उठाए पनि हाम्रो दाबी कायमै छ, पूर्वसमझदारीअनुसार कुराकानी चलिरहेको छ, तर निष्कर्षमा पुगिसकेको छैन ।’ हमालले नयाँ पत्रिकासँग भने, ‘सरकारमा सामेल हुने क्रममा पाँच दलबीचको सहमति त्यसअघि ४ दलबीच भएकोभन्दा भिन्न छ, हामीले उपाध्यक्ष पाउने समझदारीअनुसार पहिलेको सहमति हटाएर शीर्ष तहमा हस्ताक्षर भएर सहमति सार्र्वजनिक भएको हो ।’