१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o६:११:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानाध्यापकद्वारा छात्रामाथि निर्घात कुटपिट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:११:oo

झापाको कमल गाउँपालिका– ५ स्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई निर्घात कुटपिट गरेका छन् । उनले मंगलबार आफ्नै कार्यकक्षमा ल्याएर कुटेका हुन् । 

फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा प्रधानाध्यापक बगालेले कुटपिट गरेको ती बालिकाले बताइन् । ‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्टाटस थियो । त्यसमा मैले थोरै भएन र भनेर कमेन्ट गरेकी थिएँ,’ निर्जलाले भनिन्, ‘मंगलबार स्कुलको अफिसमा हेडसरले खानेपानीको नाला (पाइप)ले खुट्टामा कुट्नुभयो ।’

कुटपिटबाट बालिकाको खुट्टामा निलडाम भएको छ । कुटपिटपछि अभिभावक बोलाएर कागज गरेर उनलाई विद्यालयबाट निकालिएको गुनासोसमेत गरिन् । ‘मलाई कुटेपछि बुबालाई बोलाएर कागजमा साइन गर्न लगाइयो । अब स्कुल नआउनू भन्नुभएको छ,’ उनले भनिन् । 

छोरीलाई कुटपिट गरेपछि तत्कालै आफूलाई विद्यालय बोलाइएको उनका बुबा नवराज बाँस्कोटाले बताए । ‘मलाई फोन आयो । पाँच मिनेटमा जसरी पनि आइपुग्नुपर्छ, अरू म जान्दिनँ भनियो । म जाँदा स्टाटसमा कमेन्ट गरेको कुरा निस्कियो,’ उनले भने, ‘एउटा कागज गरेर मलाई दायाँ–बायाँ सही र ल्याप्चे पनि हनाए । त्यो स्टाटस लेख्ने केटालाई पनि म त्यहीँ हुँदाहुँदै पाइपले तीनपटक हाने । छोरीले गलत गरेको भए कानुनी रूपमा सजाय भोग्न तयार हो । तर, यसरी कुट्न पाइँदैन । यसरी कुट्ने हेडसरलाई कानुनी कारबाही हुनुपर्छ ।’

प्रधानाध्यापक पक्राउ 
कुटपिट गर्ने प्रधानाध्यापक बगालेलाई पीडित विद्यार्थीको निवेदनका आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जानकारी दिए । यद्यपि, पीडितबाट जाहेरी भने नआएको बताए । ‘जाहेरी आएको छैन । तर, हामीले शिक्षकलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘बालिकाको पिँडुलामा निलडाम छ । उपचारका लागि अस्पताल पठाएका छौँ ।’

मंगलमय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ थापाले बालिकामाथि कुटपिट भएको स्वीकार गरे । यसरी बालिकामाथि कुटपिट हुनु गलत भएको बताए पनि उनले यो विषय मंगलबार नै अभिभावकसँग कागज गरेर मिलाएको दाबी गरे । ‘म मंगलबार विद्यालयमा थिइनँ । विषय बुधबार थाहा पाएँ, अभिभावक नै आएर समझदारी कायम भएको रहेछ,’ उनले भने, ‘कसले के स्वार्थमा, के गर्‍यो भन्ने विषयमा हाम्रो आपत्ति हो । कुटपिट गलत भयो भन्ने कुरा मेरो पनि हो ।’  

प्रधानाध्यापक बगालेले विगतदेखि नै विद्यार्थीमाथि कुटपिट गर्दै आएका थिए । कमल गाउँपालिका स्रोतका अनुसार यसअघि पनि बालबालिकालाई कुटपिट गरेको गुनासो आएको थियो । विद्यालयमा अनुगमन गर्दै जनप्रतिनिधिको टोलीले विद्यार्थीमाथि कुटपिट नगर्न निर्देशन दिइएको कमल गाउँपालिका स्रोतले जनाएको छ ।

कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले विद्यालयमा गएर प्रधानाध्यापकसँग बुझ्दा फेसबुकमा अभद्र गाली गरेपछि कुटपिट गरिएको पाइएको बताए । उनले यति निर्मम ढंगले कुटपिट गर्नु गलत भएको बताए । ‘हामीले विद्यालय पुगेर नै बुझ्यौँ । सामाजिक सञ्जालमा अभद्र गाली गरेपछि कुटेको स्वीकार पनि गर्नुभयो । उहाँले कागज गरेर अभिभावकलाई जिम्मा लगाएर पठाएको पायौँ,’ उनले भने, ‘अरू माध्यमबाट कारबाही गर्न सकिन्थ्यो । कुट्नु गलत भयो । निलडाम हेर्दा त्यो ढंगले कुटपिट गर्नु हुँदैन थियो ।’

शिक्षा समितिको बैठकले घटनालाई छानबिन गर्न कमल– ५ का वडाध्यक्ष लालबहादुर विष्टको संयोजकत्वमा पाँचसदस्यीय समिति बनाएको शाखा प्रमुख न्यौपानेले बताए । उक्त समितिलाई तीन दिनको समय दिइएको उनको भनाइ छ । छानबिनपछि आउने प्रतिवेदनका आधारमा गाउँपालिका अघि बढ्ने उनको भनाइ छ । 


 

ad
ad