पूर्वी नवलपरासीको गैँडाकोटमा स्कुलबसको ठक्करबाट एकजनाको घटनास्थलमै निधन भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट- ५ सरस्वती स्कुल चोकस्थित भित्री सडकमा ओमशान्ति चोकबाट सरस्वती स्कुलचोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कुलको बसले स्कुटरलाई ठक्कर दिएको हो।
बालविकास बोर्डिङ स्कुलको ना.४ख १०४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी स्कुटरमा सवार पर्वत जिल्लाको फलेबास नगरपालिका- ४ घर भई हाल भरतपुर महानगरपालिका– २६ निवासी ६८ वर्षीया पार्वती पौडेलको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी दुर्घटनामा परी गैँडाकोट नगरपालिका– ५ निवासी २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छिन्।
उनको उपचारका लागि भरतपुर पठाएको जिल्ला जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।