१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बुटवल बाइपास रोडमा पहिले बजेट फ्रिज, अहिले अपुग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:३४:oo

बुटवल उपमहानगरभित्रका सडक व्यवस्थित गर्न अघि बढाइएको ‘बुटवल लिंक रोड (बाइपास) परियोजनाअन्तर्गतका ६ सडकमध्ये तीनवटा मात्रै निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीनमध्ये बुटवल उपमहानगरपालिका–११ मा पर्ने रंगशाला–हात्तीसुढ सडक भने बजेट अभावका कारण अघि बढ्न सकेको छैन ।

पहिलोपटक ०७४ मा यो सडक निर्माणका लागि डेढ करोड विनियोजन भएको थियो । तर, स्थानीय अवरोधले काम नहुँदा पहिलो वर्षको बजेट फ्रिज भएको बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए । ‘यो सडक विस्तार गरी कालोपत्रे गर्ने योजना ०७४ सालमा अगाडि बढेकोमा वर्षौँसम्म कामले गति लिन सकेन । तर, अहिले स्थानीयको सक्रियतामा कामले गति लिन थालेको छ,’ उनले भने, ‘पहिलो वर्षको बजेट फ्रिज भएपछि ०७५ मा यो सडकका लागि ६८ लाख बजेट पर्‍यो, तर त्यो पनि फ्रिज भयो ।’

सडकका लागि बजेट परिरहँदा स्थानीयले निर्माणको आस गरेका थिए, तर बाटो विस्तारका क्रममा प्रभावित २३ जनाले जिल्ला अदालतमा रिट दायर गरेपछि भने निर्माण रोकिएको थियो । अदालतले दुई वर्षअघि फैसला गर्दै कसैलाई क्षति नहुने गरी ५१ फिट चौडाइको बाटो बनाउन आदेश दिएयता भने निर्माण पुनः सुरु भएको वडाध्यक्ष क्षेत्रीले बताए ।

अहिले सबै समस्या समाधान गरेर सडक निर्माणलाई गति दिन खोज्दा बजेटको अभाव भएको उनले गुनासो गरे । ‘प्रदेश सरकारले योजना राख्ने, तर संघीय सरकारको खातामा बजेट हुनेजस्ता समस्यालाई पनि समाधान गरेर अहिले निर्माणलाई गति दिन खोजेका छौँ, तर पर्याप्त बजेट नै आउन सकेको छैन,’ उनले भने ।

एक हजार तीन सय ४० मिटर लामो सडक निर्माणका लागि २९ साउन ०७८ मा ठेक्का सम्झौता भएको डिभिजन सडक कार्यालय, बुटवलका इन्जिनियर देवचन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार भ्याटसहित ६ करोड ४९ लाख रुपैयाँ ठेक्का सम्झौता भएको छ । २९ साउन ०७९ मै निर्माण सकिने गरी सम्झौता भएको यस सडकको प्रगति हालसम्म २६ प्रतिशत मात्र छ । डिभिजन सडक कार्यालय बुटवलका अनुसार हालसम्म ७१ लाख ७५ हजार खर्च भएको छ । यस आर्थिक वर्षमा चार करोड बजेट आवश्यक पर्नेमा जम्मा २५ लाख मात्रै विनियोजन भएको छ ।

अहिले सडकमा दायाँ–बायाँ नाली बनाउने काम जारी छ । इन्जिनियर भण्डारीका अनुसार हालसम्म दुवैतर्फ नौ–नौ सय मिटर नाली बनेको छ ।नाली बनिसकेपछि सडकको क्षेत्र स्पष्ट हुने हुँदा कामले गति लिने उनको भनाइ छ । सडक निर्माणमा हाल साइड क्लियरको समस्या रहेकाले साइड क्लियर गर्दै नाली निर्माणमा जोड दिइएको छ । 

डिभिजन सडक कार्यालय, बुटवलका सूचना अधिकारीसमेत रहेका इन्जिनियर महेश्वर लम्सालका अनुसार चालू आर्थिक वर्षका लागि लिंक रोडमा रहेका धागो कारखाना–योगीकुटी –मगरघाट–तामनगर सडकका लागि ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, रंगशाला–हात्तीसुढ, बेलवास–नयाँगाउँ र मिलनचोक–हात्तीसुढ–बेलवास सडकमा समान २५–२५ लाख रुपैयाँ तथा गोलपार्क–चाँदबारी–सिजनगर सडक र मैनाबगर–श्रीरामनगर सम्पर्क सडकमा समान ३५–३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो वर्ष बाइपास रोडमा राखिएको बजेट

  • धागो कारखाना–योगीकुटी –मगरघाट–तामनगर सडकका लागि ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ 
  • रंगशाला–हात्तीसुढ, बेलवास–नयाँगाउँ र मिलनचोक–हात्तीसुढ–बेलवास सडकमा समान २५–२५ लाख रुपैयाँ विनियोजन 
  • गोलपार्क–चाँदबारी–सिजनगर सडक र मैनाबगर–श्रीरामनगर सम्पर्क सडकमा समान ३५–३५ लाख रुपैयाँ बजेट
     
ad
ad