मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १७ शनिबार
  • Monday, 16 December, 2024
रमेश सुवेदी काठमाडाैं
२o८o चैत १७ शनिबार o७:o६:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियाडको त्यो पहिलो कांस्य पदक

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत १७ शनिबार o७:o६:oo

एसियन गेम्समा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने महिला खेलाडी हुन्, सीताकुमारी राई । सन् १९९४ मा जापानको हिरोसिमामा भएको एसियन खेलकुदमा उनले देशलाई कांस्य पदक दिलाइन् । पहिलो सहभागितामै जापानिज खेलाडीसँग पराजित हुँदा पनि उनले पदक जितिन् । एसियनस्तरमा पदक जितेपछि राईले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइनन् । तर, ओलम्पिक खेल्ने रहर भने उनको कहिल्यै पूरा भएन । बिर्तामोडमा कराँतेका खेलाडी उत्पादन गरिरहेकी राईले हिरोसिमामा कांस्य जितेको स्मरण नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई यसरी सुनाइन् :

झापाको गोल्धाप जनजागृति माध्यमिक विद्यालयबाट कराँते प्रशिक्षण लिएँ । कलिलै उमेरमा मैले कराँते खेल्न थालेँ । एक किसिमले मैले कराँते खेल ख्यालठट्टामै सुरु गरेकी थिएँ । ०४६ सालमा म भर्खर १३ वर्षकी भएकी थिएँ । वास्तवमा त्यसवेलासम्म मलाई कराँते खेलबारे राम्रो जानकारी थिएन । केवल साथीहरूले मैदानमा जस्तो गरेका हुन्थे, मैले त्यसैलाई फलो मात्र गर्थेँ । सबैजसो साथीहरू सेतो ड्रेसमा कराँते खेलिरहँदा मलाई पनि खेलूँ–खेलूँ लागेको थियो । कराँतमै करिअर बनाउँछु वा यही खेल खेल्छु भनेर कल्पना पनि गरेकी थिइनँ । केवल साथीहरूको देखासिकीमै मैले यो खेल खेलेकी हुँ । 

जापानिज खेलाडी मभन्दा निकै अनुभवी थिइन् । उनीसँग पराजित हुँदा त्यति दुःख लागेन । खेल हारे पनि कांस्य पदक जितेँ ।

सन् १९९४ मा जापानको हिरोसिमामा एसियाली खेलकुद प्रतियोगिता (एसियाड) हुने भयो । एसियाडमा सहभागी हुनुअघि मलेसियामा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आयोजना भएको थियो । हिरोसिमामा एसियाड हुनु तीन महिनाअघि मलेसियामा अन्तर्राष्ट्रियस्तरको कराँते भएको हो । यसलाई हामी सबैले एसियाडको अभ्यास र तयारीका रूपमा लियौँ । मलेसियामा मात्र होइन, त्यो समयमा नेपालमा आयोजना भएका सबैजसो अन्तर्राष्ट्रिय कराँतेमा भाग लिएँ । त्यही समयमा धरानमा भएको बिपी स्मृति अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप खेलेँ । त्यसपछि धनगढीमा आयोजित शिव स्मृति कराँतेमा भाग लिएँ । 

जापानमा हुने एसियन गेम्सका लागि बिर्तामोडमा खेलाडी छनोट भएको थियो । यो ०५० सालतिरको हो । मैले सहभागिता जनाएको तौल समूहमा म उपविजेता भएँ । खासमा छनोट प्रतियोगितामा स्वर्ण जित्ने लक्ष्य नै राखेकी थिएँ । तर, दोस्रोमै चित्त बुझाएँ । छनोट प्रतियोगितामा विजेता र उपविजेता खेलाडीलाई एसियाडको क्लोज क्याम्पमा सहभागी गराउने भनिएको थियो । यसैकारण एसियाडको तयारीका लागि म काठमाडौंमा क्लोज क्याम्पमा सहभागी हुन आएँ । 

छोरीलाई हराएर छनोट 
एसियाडको तयारीअनुरूप काठमाडौंमा तीन महिना छनोट हुने भनिएको थियो । मेरो गाउँमा बत्ती थिएन । मट्टीतेल बालेर रात कटाउनुपथ्र्यो । मैले त्यसरी नै पढेँ र खेलेँ । सैनिक सम्रदाजस्तो स्थानबाट काठमाडौंमा पहिलोपटक टेक्दा ठूलो सहर लागेको थियो । यहाँको विकास हेर्दा धेरै खुसी लाग्यो । काठमाडौं बस्दा–बस्दा विदेश जाने अवसर पाएँ । काठमाडौंमा आयोजना भएको छनोटमा पहिलो स्थान हासिल गर्ने खेलाडीलाई नै एसियाडमा सहभागी गराउने निर्णय थियो । 

एसियाडको छनोटमा म पहिलो भएँ । बिर्तामोडमा मलाई हराएकी छोरी डंगोललाई नै हराउँदै हिरोसिमा एसियाडमा मैले आफ्नो स्थान सुरक्षित गरेँ । मेरो तौल कम थियो । तर, मलाई बढी तौल समूहमा राखियो । त्यसैले पनि छोरीसँग फाइट परेको थियो । छोरी निकै अग्ली र म भने होचो हाइट भएकी । एरिनामा छोरीले किक प्रहार गर्दा म केवल रक्षात्मक हुँदै भागी मात्र रहेँ । एसियनमा छनोट हुँदा म १९ वर्षकी मात्र थिएँ । मलेसियामा आयोजना भएको एक प्रतियोगिता खेल्न पुगेकी थिएँ । मलेसियाभन्दा जापान धेरै विकसित भइसकेको थियो । मलेसियामा तीन महिनाको अभ्यासले हिरोसिमामा भएको एसियाडमा धेरै सहयोग गरेको थियो । 

पहिलो खेलमा इन्डोनेसियनलाई हराएँ
बिर्तामोडमा मेरो गुरु मदन उप्रेती हुनुहुन्थ्यो । त्यसपछि काठमाडौंमा हीरा र अकबर शाह गुरुले सिकाउनुभयो ।एसियाडको अन्तिम तयारीको सिलसिलाको तीन महिनापछि फ्रान्सबाट एन्जोलो गुरु आउनुभयो । हिरोसिमा पुग्दा दावा गुरुङ नै मुख्य प्रशिक्षक हुनुहुन्थ्यो । जापानमा दुई बाउट खेलेकी थिएँ । त्यसवेला फ्री वेट थियो । अहिले यस्तो प्रावधान छैन । अहिले हेभिवेट हुन्छ । मैले पहिलो बाउटमा इन्डोनेसियन खेलाडी मेइटी जाहाना कासेगेरलाई हराएँ । दोस्रो खेलमा म पराजित भएँ । एसियन खेलजस्तो आयोजना भइरहेको हलको एरिना निकै ठूलो थियो । त्यो देख्दा निकै आश्चर्यमा परेँ । 
नेपालमा हामीले कहिल्यै राम्रो म्याटमा अभ्यास गरेनौँ । त्रिपालभित्र र धुलैधुलो खाएर खेलेको अनुभव मात्र थियो ।

 यसकारण म जापानमा नर्भस भएँ । त्यहाँको माहोल बेग्लै थियो । यद्यपि, मेरो तयारी राम्रो, तर मनमा डर थियो । मुख्य प्रतिस्पर्धामा हारिन्छ कि भन्ने थियो । दोस्रो खेलमा जापानिज खेलाडी मिरोमी हिरोससँग म ६–० को नमिठो अन्तरले पराजित भएँ । केवल तीन मिनेटमा खेलमा जापानिज खेलाडीले यसरी अंक बटुलिन्, त्यसको कल्पना गर्न सक्दिनँ । दोस्रो खेलमा पराजित हुँदा नै मेरो कांस्य पदक पक्का थियो । जापानिज खेलाडी मभन्दा निकै अनुभवी थिइन् । यसकारण उनीसँग पराजित हुँदा त्यति दुःख लागेन । तर, अगाडि बढ्न पाए झनै राम्रो हुने थियो । खेलमा हारे पनि कांस्य पदक जितेँ । मभन्दा अगाडि एसियाडमा नेपाली महिलाले पदक जितेको भन्ने मलाई थाहा थिएन । 

जापानमा बस्न सकिनँ 
एसियाडमा पहिलो सहभागितामै कांस्य जितेपछि खुसी नलाग्ने कुरै भएन । कताकता म दुःखी थिएँ भने मन अशान्त थियो । जापानमा रहँदा कतिखेर प्रतियोगिता सकिन्छ र घर जाऊँ भइसकेको थियो । प्रतियोगिताअघि त्यस्तै अनुभव भएको थियो । जापानको खाना नै मीठो लागेन । जापानिजको खाना नै फरक थियो । नेपालका अफिसियल दाइहरूले साथमा खुर्सानी लगेका रहेछन् । खानाको स्वाद नमिल्दा मैले खुर्सानी मागेर खाएँ । जापान बसाइका क्रममा एक दिन पनि भात खान पाइनँ । मलाई विदेशमा बस्नै मन लागेन ।

त्रिभुवन विमानस्थल झरेपछि धेरै साथीले एउटै प्रश्न गरेका थिए, ‘तँ किन जापान नबसेकी ? किन घर फर्किएकी ? त्यहीँ सेवा–सुविधा थियो ।’ धेरै सेवा–सुविधा भए पनि मलाई नेपाल नै प्यारो लागेको थियो । हामीसँगै हिसोसिमामा एसियाड खेल्न गएका कराँते, बक्सिङ र जुडोका साथीहरू त्यहीँ नै लुकेका थिए । त्यसवेला विमानस्थलमा स्वागत गर्ने अहिलेजस्तो चलन थिएन । अहिले विमानस्थलमा स्वागत गर्न जाने प्रचलन छ । कांस्य पदक जितेपछि मेरो चर्चा भने भइरह्यो । 

चाँडै चर्चितसहित गुमनाम पनि भएँ
मेरो खेल करिअर चार–पाँच वर्षको मात्रै भयो । एकै समयमा नतिजा आयो । त्यसैवेला मेरो ख्याति पनि चुर्लिएको थियो । धेरैले मलाई प्रोत्साहित गरे । एसियन गेम्समा मेडल आएपछि तल्लो स्तरको खेल खेल्न मन लागेन । दक्षिण एसियाली खेलकुद प्रतियोगिता खेलिनँ । यो प्रतियोगिता मलाई सानो गेमजस्तो लाग्यो । मेरो लक्ष्य ओलम्पिक थियो । तर, ओलम्पिकमा हाम्रो खेल नै भएन । गुरुहरूले मलाई दक्षिण एसियालीभन्दा माथिको स्तरमा खेल्नुपर्ने सुझाव दिनुभयो । त्यसैले पनि अरू खेल खेलिनँ । ‘हुन पनि हो, एसियन गेम्समा मेडल ल्याएको खेलाडी सागमा पराजित भयो भने बेइज्जत हुन्छ’ भनेर खेलिनँ । मेरो विशेषता भनेकै एकाएक चर्चासहित गुमनाम पनि सँगै भयो ।