मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Saturday, 12 July, 2025
गणेश लम्साल विराटनगर
२o८o चैत १५ बिहीबार १o:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्वदेशी उत्पादन प्रयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार १o:५९:oo

कोशी प्रदेश सरकारले सबै सार्वजनिक निकायमा स्वदेशी उत्पादन अनिवार्य उपभोग गनुपर्ने निर्णय गरेको छ । धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा बसेको कोशी प्रदेश सरकारको बैठकले प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेशका सार्वजनिक निकायले स्वदेशी उत्पादन उपभोग गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकले स्वदेशी तथा विदेशी पाहुनालाई कोसेली तथा उपहार दिनुपर्दा कोशी प्रदेशका स्वदेशी उत्पादन नै प्रयोग गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले कुनै पनि कार्यक्रममा अतिथिलाई मायाको चिनो प्रदान गर्दा प्रदेशभित्रै उत्पादन भएको वस्तु हुनुपर्ने निर्णय गरेको कोशी प्रदेशका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए ।

उनका अनुसार बैठकले त्रिवेणीमा रहेको खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने निर्णय गरेको छ । महिनाको एकपटक धनकुटामा बस्ने निर्णयसमेत गरेको छ । प्रदेश राजधानीको माग गर्दै आन्दोलित धनकुटामा कोशी प्रदेशका प्रथम मुख्यमन्त्री शेरधन राईले धनकुटामा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय स्थापना गराए पनि मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।  

मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालयमै मंगलबार प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठक पनि बसेको थियो । बैठकले आगामी जेठ ६,७ र ८ गते विश्व चिया सम्मेलन गर्ने निर्णय गर्दै त्यसका लागि निर्देशक समिति गठन गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार बैठकले धनकुटाको भेडेटारमा निर्माण भएको स्काई वाकको राजस्व बाँडफाँटका लागि प्रदेश सरकार, धरान उपमहानगरपालिका र साँघुरीगढी गाउँपालिकाको प्रतिनिधि रहेको समितिसमेत गठन गरेको छ ।

मुख्यमन्त्री कार्कीले धनकुटा औधोगिक ग्रामको अनुगमन गर्दै १५ दिनभित्र सबै उद्योग सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । उद्योग सञ्चालनमा ल्याउने  कार्यक्रम तयार गर्न र चाँडै कार्यान्वयन नभए अध्यक्ष तिलक महतलाई कारबाही गर्ने चेतावनीसहित निर्देशन पनि उनले दिएका छन् ।