१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

२१ वर्षपछि पनि अपूरै हस्तान्तरण हुँदै च:मति जग्गा एकीकरण आयोजना

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:३८:oo

गत असार मसान्तमै हस्तान्तरण गर्ने तयारी भएको च:मति जग्गा एकीकरण आयोजना एक वर्ष धकेलिँदै आगामी असार मसान्तमा हस्तान्तरण हुने भएको छ । काठमाडौं महानगरपालिकाले निर्माण गरेको यो आयोजना २१ वर्षपछि स्थानीयलाई हस्तान्तरण गर्न लागिएको हो ।

च:मति जग्गा एकीकरण आयोजनाका अनुसार हस्तान्तरणका सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । च:मति तथा मनोहरा जग्गा एकीकरण आयोजनाका उपनिर्देशक निर्मलराज बरालका अनुसार आगामी असार मसान्तमा आयोजना हस्तान्तरणको तयारी भइरहेको छ । ‘असारमा आयोजना हस्तान्तरण गर्ने गरी तयारी गरिरहेका छौँ । करिब ९५ प्रतिशत जग्गाको पुर्जा हस्तान्तरण गरिसकेका छौँ,’ बरालले भने, ‘बाँकी छिटपुट काम वडामार्फत गर्ने गरी हस्तान्तरण गर्न लागेका हौँ ।’ 

निर्मलराज बराल उपनिर्देशक, चःमति तथा मनोहरा जग्गा एकीकरण आयोजना
आगामी असार मसान्तभित्रै आयोजना हस्तान्तरणको तयारी छ । करिब ९५ प्रतिशत जग्गाको पुर्जा हस्तान्तरण गरिसकेका छौँ । बाँकी छिटपुट काम वडामार्फत गर्ने गरी हस्तान्तरण गर्छौँ ।

कुल १३ सय ६९ रोपनी क्षेत्रफलमा रहेको आयोजनाको ७२ प्रतिशत आवासीय छ । जसमध्ये सडक २४.४७ प्रतिशत, पार्क तथा खुला क्षेत्र दुई, धार्मिक तथा सांस्कृतिक क्षेत्र ०.५० र भचाखुसी खोलाले १.०३ प्रतिशत ओगटेको छ । यो आयोजना सरकारबाट ५ वैशाख ०६० मा स्वीकृत भएको थियो । सोही वर्षको १ मंसिरमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएर काम सुरु भएको थियो । अयोजनामा १७ वटा ब्लक छन् । पाँचदेखि ६ वर्षभित्रै काम सम्पन्न गर्ने गरी आयोजना सुरु भएको थियो । आयोजना महानगरको १५ र १६ वडामा फैलिएको छ । तर, आयोजनाले विभिन्न समयमा मुद्दा–मामिलालगायत कारण आयोजना ढिला भएको हो ।

आयोजनामा अझै बाँकी छन् यी काम
महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले आयोजना छिटो हस्तान्तरणका लागि जोड दिए पनि केही काम भने अझै बाँकी छन् । अघिल्लो वर्ष नै हस्तान्तरणका लागि जोडबल गरिए पनि धेरै काम बाँकी रहेकाले एक वर्ष पछाडि सारिएको थियो । 

आयोजनाभित्रका १० वटा पार्क अझै पनि निर्माण सम्पन्न भइसकेका छैनन् । यस्तै, दुईवटा बहुतले प्रशासनिक भवनमध्ये एउटाको मात्रै चौथो तला ढलान भएको छ । पाँचतले उक्त भवनको एक तला ढलान हुन बाँकी छ । अर्को भवन निर्माण सुरु नै भएको छैन । ‘छिटपुट जग्गाा हस्तान्तरणको काम अझै भइरहेको छ । विदेशमा भएका, मुद्दा–मामिला परेकाबाहेक अन्य जग्गा हस्तान्तरण भइसकेको छ । पूर्वाधार निर्माण अनुगमन, निरीक्षणजस्ता काम गरिरहेका छौँ,’ बरालले भने ।

आर्थिक वर्ष ०८०/८१ को महानगरको नीति तथा कार्यक्रममा मिश्रित घनाबस्ती क्षेत्रभित्र रहेका सहरी पुनर्विकास सम्भाव्यता अध्ययन गरिने र हाल सञ्चालनमा रहेका जग्गा एकीकरण आयोजनालाई चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने उल्लेख छ । सोहीअनुसार असार मसान्तभित्रै सम्पन्न गरी हस्तान्तरण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ । 

ढिलाइका कारण दुई गुणाभन्दा पनि बढी पुग्यो लागत 
२१ वर्षअघि आयोजनाको लागत २६ करोड थियो, जुन अहिले बढेर ६२ करोडभन्दा बढी पुगेको छ । तर, आयोजनासँग लागतबारे यकिन तथ्यांक भने छैन । आयोजनाअन्तर्गत पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भू भगवान्पाउ–वनस्थली सडक पर्छ भने उत्तरमा बालाजु–वनस्थली चक्रपथ र दक्षिणमा स्वयम्भू–भगवान्पाउ–बिजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको छ । आयोजना ढिलो हुनुका कारणमध्ये सुरुवाती दिनमा केही स्थानीय आयोजनाविरुद्ध सर्वोच्च अदालत पुग्नु पनि हो । करिब तीन वर्ष (मुद्दा चलिन्जेल) आयोजनाको काम शून्य अवस्थामा रह्यो ।

कसैलाई विस्थापित पनि नगर्नु, आयोजना पनि अगाडि बढाउनु भन्ने सर्वोच्चको फैसलापछि आयोजना सुरु भएको थियो । यसबीच जनप्रतिनिधि नहुनु, आयोजना प्रमुख पटक–पटक फेरिनु, ऐन–कानुनी झन्झटका कारणसमेत आयोजनाले गति लिन सकेन । अब भने आयोजना हस्तान्तरणका लागि कुनै पनि समस्या नभएको आयोजनाले जनाएको छ । 

ad
ad