१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री श्रेष्ठ आज चीन जाँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:५७:oo

बेइजिङ, छोङछिङ, तिब्बत र सिचुआनमा उच्चस्तरीय भेटवार्ता 

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नाै दिन लामो औपचारिक भ्रमणमा आज (आइतबार) चीन जाँदै छन् । उनले बेइजिङ, छोङछिङ, तिब्बत र सिचुआन प्रान्तमा चीन सरकारका उच्च अधिकारीदेखि चिनियाँ कम्युनिस्ट पार्टीका महत्वपूर्ण नेतासँग नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने तय भएको छ । बेइजिङमा श्रेष्ठले समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री सुन हैयानलगायतसँग भेटवार्ता गर्ने कार्यसूची छ । 

गत असोज ६ देखि १३ सम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको औपचारिक भ्रमण गरेका थिए । प्रधानमन्त्री प्रचण्डकै रुटअनुसार उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङसहित तीन प्रान्तीय सहरको भ्रमण गर्दै छन् । प्रचण्डको भ्रमणमा बेइजिङमा भएका १२ सहमतिपत्र/सम्झौता कार्यान्वयनका विषयमा उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार चिनियाँ समकक्षी यीसँग बेइजिङमा छलफल गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री यीले उप्रधानमन्त्री श्रेष्ठको सम्मानमा मंगलबार रात्रिभोज आयोजना गर्दै छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङमा समकक्षी यी, चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपप्रमुख हैयानबाहेक चिनियाँ कम्युनिस्ट पार्टीका एकजना स्थायी समिति सदस्यसँग पनि भेटवार्ता हुने चिनियाँ सन्देश आएको छ । स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लि छियाङसहित सात सदस्य छन् । स्थायी समिति सदस्यहरू झाओ लेजी, वाङ हुनिङ, काई छी, दिङ सुएसियाङ र ली सीमध्ये एकजनासँग भेटवार्ता हुने जानकारी उपप्रधानमन्त्री श्रेष्ठलाई दिइएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठलाई चीनको छोङछिङ प्रान्तका मेयर युयान जियाजुन, तिब्बतको ल्हासास्थित सिपिसी पार्टी सेक्रेटरी वाङ छुङछेङ र सिचुआन प्रान्तको छेन्दुमा पार्टी सचिव  वाङ सियाओईले रात्रिभोजसहित स्वागत गर्ने कार्यक्रम छ । बेइजिङ र ल्हासामा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएका सहमति कार्यान्वयनबारे विस्तृत छलफल गर्ने कार्यक्रम छ । तर, भ्रमणमा नेपाल र चीनबीच कुनै पनि विषयमा औपचारिक सहमति वा हस्ताक्षर हुने कार्यसूची छैन ।

आइतबार चीन प्रस्थान गरेर उपप्रधानमन्त्री श्रेष्ठ १९ चैतमा स्वदेश फर्किने कार्यक्रम छ । ग्वान्जाओ प्रान्त हुँदै बेइजिङ प्रस्थान गर्न लागेका श्रेष्ठ भ्रमण सकेर सिचुआनको छेन्दु हुँदै स्वदेश फर्किनेछन् । उनले तिब्बतस्थित हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल कैलाश मानसरोवर दर्शनका लागि जाने इच्छा राखेका छन्, तर यसबारे बेइजिङ पुगेपछि मात्रै तय हुने उनी निकटस्थहरूले जानकारी दिए । 

श्रेष्ठको प्रतिनिधिमण्डलमा परराष्ट्रको उत्तरपूर्वी महाशाखा हेर्ने सहसचिव कृष्णप्रसाद ढकाल, श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, शिष्टाचार अधिकृत, महाशाखाका नोट टेकर तथा बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, नियोग उपप्रमुख सुरेन्द्रकुमार यादव, कन्सुलर सविता नकर्मी सहभागी हुनेछन् । 

उपप्रधानमन्त्री श्रेष्ठले चीन भ्रमणका वेला छलफलमा उठाउने विषय तथा यसअघि प्रधानमन्त्रीको भ्रमणमा भएका सहमति कार्यान्वयनको अवस्थाबारे सरोकारवाला अधिकारीसँग परामर्श गरेका छन् । श्रेष्ठले राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, परराष्ट्रसचिव सेवा लम्साल, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, रक्षासचिव किरणराज शर्मा, ऊर्जासचिव गोपालप्रसाद सिग्देल, सिँचाइसचिव सुशीलचन्द्र तिवारीलगायतसँग छलफल गरेका छन् । 

प्रधानमन्त्री प्रचण्ड चीन भ्रम्णमा जाँदा द्विपक्षीय र पारम्परिक सीमानाका क्रमश: खोल्दै जाने, ल्हासा–काठमाडौं उडान सञ्चालन गर्नेलगायत सीमा जोड्ने सडक मर्मत, सीमापार विद्युत्र प्रसारणलाइन निर्माण, सुरक्षालगायतका विषयमा छलफल भएको थियो । नेपाल–चीन सीमाको संयुक्त निरीक्षण गर्ने सहमति भएको थियो।

यसैगरी, चीनको सार्वजनिक सुरक्षा मन्त्रालय र नेपालको गृह मन्त्रालयबीच तीन तहमा सीमा सम्पर्क प्रणाली स्थापना गर्ने प्रोटोकलमा छलफल गर्ने भनिएको थियो । चीनको सीमा सुरक्षा हेर्ने प्रहरी र नेपालको सशस्त्र प्रहरीबीच  सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि र  नेपाली सुरक्षाकर्मीलाई चीनले तालिम दिने विषयमा पनि त्यसवेला छलफल भएको थियो । पारस्परिक कानुनी सहायतासम्बन्धी चीन–नेपाल सन्धि अनुमोदन, नेपालमा रहेका चिनियाँ ठेकेदार र कामदारको सुरक्षाका विषयमा पनि छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले यी सहमति कार्यान्वयनका विषयमा छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्रीको चीन भ्रमणमा केरुङ–रसुवागढी, चिलिमे २२० केभी सीमापार ऊर्जा प्रसारणलाइन निर्माणसम्बन्धी सहमति भएको थियो । नेपालका उत्तरी सीमावर्ती गाउँमा नेपालको लगानीमा तिब्बतबाट ग्रिड ऊर्जा आपूर्तिमार्फत विद्युतीकरण गर्ने सहमति भएको थियो । यीलगायत द्विपक्षीय विषयमा उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी यी र तिब्बतका अधिकारीहरूसँग छलफल गर्नेछन् । 
 

ad
ad