
खेलकुद विकास ऐन २०७७ विपरीत पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएपछि सोधिएको स्पष्टीकरणमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई चित्तबुझ्दो जवाफ पठाएन । राखेपले गत बिहीबार एन्फालाई ध्यानाकर्षणसहित २४ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । एन्फाले शुक्रबार साँझ पत्र बुझाएको थियो । एन्फाले राखेपलाई दिएको जवाफ चित्तबुझ्दो नभएको राखेप संघ–संस्था समन्वय शाखा प्रमुख चन्द्र राईले नयाँ पत्रिकालाई बताएका छन् । एन्फा घटनाबाट पन्छिन खोजेको राईले बताए ।
‘एन्फाबाट आएको पत्र नै भएन । हामीले उहाँहरूलाई मैखिक रूपमा सधैँ ऐन हेर्नुस् भन्ने गरेको छौँ, तर उहाँहरूले त्यसलाई पालना नगरेको देखियो, एन्फा पन्छिन मात्रै खोज्यो,’ राईले भने । राईका अनुसार एन्फाले बहराइन वा मलेसिया पठाएका पदाधिकारहरू मध्ये कसका लागि स्वीकृति पत्र पठाएको भन्ने नै स्पष्ट छैन । ‘बहराइन गएकाहरूको स्वीकृति मागेको कि मलेसिया पुगेकाहरूको स्वीकृत मागेको हो, त्यो नै क्लियर भएको छैन,’ उनले भने, ‘कहिले जाने भनेर खुलाइएको छैन । त्यसैले ध्यानाकर्षणसहित पुनः जवाफ मागिएको छ ।’
एन्फाबाट क्लियर जवाफ आएन
चन्द्र राई, संघसंस्था समन्वय प्रमुख, राखेप
एन्फाले पठाएको चिठी नै भएन, मैखिकमा हामीले सधैँ ऐन पढ्नु भन्न गरेका छौँ । एन्फा पन्छिन मात्रै खोज्यो । उहाँहरूको आफ्नै ठूलो कुरा भयो । मलेसिया वा बहराइन गइसकेको मागेको हो कि अब जानेको नाम मागेको हो त्यो नै क्लियर भएको छैन । त्यसैले ध्यानाकर्षणसहित पुनः जवाफ मागिएको छ ।
नेपालले ८ र १३ चैतमा फिफा विश्वकप २०२६ र एसियन कप २०२७ छनोटअन्तर्गत दोस्रो चरणमा बहराइनसँग खेल्दै छ । एन्फाले २३ खेलाडी र ११ पदाधिकारी मलेसिया हुँदै बहराइनमा टोली पठाएको छ । गत शुक्रबार मलेसियाविरुद्ध खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । चारपटक ३५–३५ मिनेट खेलाइएको खेल बन्द रंगशालामा आयोजना भएको थियो ।
एन्फाले पदाधिकारी स्पष्ट पारेन
खेलकुद ऐनअन्तर्गत स्वीकृत नलिई एन्फाले ३० फागुनमा नेपाली टोलीलाई मलेसिया पठाएको थियो । नेपाली टोलीमा ऐनविपरीत पदाधिकारी पठाएपछि खेलकुद मन्त्रालयले एन्फामाथि कारबाही गर्न राखेपलाई निर्देशन दिएको थियो । अनावश्यक रूपमा पदाधिकारी किन पठाएको भनी एन्फासँग राखेपले प्रश्न सोधेको थियो । ‘उनीहरूको प्रचलन यस्तै थियो भनेका छन् । तर, खेलकुद विकास ऐन २०७७ पठाएको भनी जवाफ आएको छ,’ राईले भने, ‘मलेसियामा १० जना को–को गएका हुन् भनेर सोधेका थियौँ ।
एन्फाले कसैको नाम दिएन, केवल प्रभावशाली मात्रै भनियो ।’ राईले बहराइन को–को जाने भनेर पनि नखुलाइएकाले तत्कालीन स्वीकृति दिने अवस्था नरहेको स्पष्ट पारेका छन् । उनले सोमबार एन्फाका पदाधिकारीसँग फेरि छलफल हुने जनाए । ‘४१ जनाको लिस्ट आएको छ । बहराइनमा केही गइसकेका छन् । अरू पनि गएका छन् कि यही छन् ? केही पत्तो छैन,’ उनले भने, ‘त्यही मान्छे दोहोरिएको र अर्काे स्वीकृत मागेको नै कागजमा खुलाइएको छैन । त्यो मान्छे नै गइसकेको भए, हामीले किन स्वीकृत दिने ? आज पुनः छलफलपछि नै निर्णय होला ।’
बहराइन जाने ४१ जना
एन्फाले राखेपलाई उपलब्ध गराएको बहराइन जाने सूचीमा २३ खेलाडी, ११ पदाधिकारी र सात अफिसियलसहित ४१ जना छन् । बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट छन् । डाक्टर राजु डंगोल महर्जनसँगै राजकाजी श्रेष्ठ (श्री भगवती क्लब), शेरबहादुर बस्नेत( झापा जिल्ला फुटबल संघ), रञ्जन कार्की (अध्यक्ष उदयपुर जिल्ला फुटबल संघ), डोलेशकुमार केसी (जिल्ला सदस्य), रामचन्द्र लामा (अध्यक्ष, बारा जिल्ला फुटबल संघ), जिल्ला सदस्यहरू महेशचन्द्र महत र भरत बुढक्षेत्री छन् ।
मलेसिया हुँदै बहराइन जाने टोलीमा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक) छन् ।