१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जनमतले फिर्ता बोलायो सांसद सापकोटालाई

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२१:oo

जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई फिर्ता बोलाएको छ । सापकोटाले पार्टी हितविपरीत काम गरेको भन्दै १४ फागुनमा फिर्ता बोलाउने निर्णय गरेर जनमत संसदीय दलले संसद् सचिवालयमा जानकारी गराएको थियो । सापकोटालाई सांसदबाट फिर्ता बोलाउने निर्णय भएकाले पदमुक्त गरी सभामा जानकारी गराउन अनुरोध गर्दै आएको पत्रका सम्बन्धमा सभामुख देवराज घिमिरे अध्ययनमा छन् । 

जनमत पार्टीका प्रवक्ता शरद यादवले पार्टीको हितविपरीत काम गरेकाले सापकोटालाई अनुशासन समितिले कारबाही गरेर सांसद पदबाट फिर्ता बोलाउने निर्णय गरेको बताए । कारबाहीका लागि संसद् सचिवालयमा पत्राचार गरिएको उनको भनाइ छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सापकोटालाई फिर्ता बोलाएको पत्र प्राप्त भएको र सभामुखले अध्ययन गरेर निर्णय लिने बताए । 

महात्तरीको मडै निवासी सापकोटालाई जनमतले ४ मंसिर ०७९ को निर्वाचनमा समानुपातिकतर्फ खसआर्य महिला कोटामा सांसद बनाएको थियो । पार्टीको निर्णयका आधारमा सभामुखबाट सापकोटा पदमुक्त भएमा उनको ठाउँमा खसआर्य महिला कोटाबाट काठमाडौंकी नीता नेपाल (घिमिरे) समानुपातिक सांसद बन्नेछिन् । निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सापकोटापछि घिमिरेको नाम छ । 

सांसद सापकोटाले स्वकीय सचिव नियुक्तिको विवादमा आफूलाई पार्टीले कारबाही गरेर अन्याय गरेको प्रतिक्रिया दिइन् । ‘पार्टीले एउटा स्वकीय सचिव राख्न भन्यो । मैले आफूलाई सहयोगी हुने खालको राखेँ । त्यसपछि एकैपटक कारबाही गरियो । कारबाहीको चिठी पठाएको जानकारी थिएन । आइतबार सभामुखलाई भेटेर जानकारी लिएँ,’ उनले भनिन् । पार्टीले आफ्नो विचार नसोधी, पार्टीमा छलफल नगराई एकलौटी निर्णय लिएकोमा उनले आपत्ति जनाएकी छिन् । ‘मैले नगरेको कुरालाई गल्ती ग¥यो भनेको छ, म यसको विरोध गर्छु । अब के गर्ने भन्ने सल्लाहमा छु,’ उनले भनिन् । तर, जनमत पार्टीका प्रवक्ता यादवले भने सापकोटालाई स्पष्टीकरणको मौका दिएर, अध्यक्षसँग छलफल गरेर नै निर्णयमा पुगेको दाबी गरे । 

सापकोटाका अनुसार स्वकीय सचिवको विवाद वैशाखदेखि सुरु भएको हो । अरू सांसद जस्तै आफ्नो स्वकीय सचिव उनले आफैँ राखिन् । सुनिलकुमार झालाई स्वकीय सचिव राखेपछि पार्टीले आपत्ति जनायो । पार्टीले भनेकोलाई स्वकीय सचिव राख्नुपर्ने विषयलाई सापकोटाले वास्ता गरिनन् ।

३० वैशाखमा उनलाई पार्टीको निर्देशन नमानेको, फुटाउने कोसिस गरेको आरोप लगाएर पहिलो स्पष्टीकरण आयो, उनले जवाफ दिइन् । एक महिनापछि २७ जेठमा उस्तै खालको अर्काे स्पष्टीकरण आयो, फेरि जवाफ दिइन् । त्यसपछि पार्टीले उनलाई बोलाएर राखेको स्वकीय सचिव हटाएर पार्टीले भनेको राख्न निर्देशन दियो ।

निर्देशन मानेर सापकोटाले १ असारमा अशोककुमार साहलाई स्वकीय सचिव नियुक्त गरिन् । पाँच महिनासम्म तलब बुझेका साहले सापकोटालाई अपेक्षित सहयोग गरेनन्, अधिकांश समय सम्पर्कमा रहेनन् । त्यहीबीच बिरामी परेकी सापकोटा टिचिङ अस्पताल भर्ना भइन् । गम्भीर बिरामी भएकाले हेरचाह गर्ने सहयोगी चाहियो । साह सम्पर्कमा आएनन् । उनले कात्तिकमा पार्टीमा चिठी लेखिन्, पार्टीले राखेको स्वकीय सचिवले सहयोग गरेन, अर्काे राख्छु भनेर । तर, पार्टीले स्वास्थ्य खराब छ भने राजीनामा दिनू भनेको सापकोटाको दाबी छ । सापकोटाले मंसिरमा नयाँ स्वकीय सचिव राखिन् । तर, त्यसको तलब सबै पार्टीले माग्यो ।

रहमानको ठाउँमा आएकी सांसद अन्सारीको निधन 
जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको ६० वर्षको उमेरमा आइतबार निधन भएको छ । समानुपातिकतर्फ महिला मुस्लिम कोटामा प्रतिनिधिसभा सदस्य सहनाज रहमानको हृदयाघातबाट निधन भएपछि उनको ठाउँमा बन्दसूचीमा महिला मुस्लिम कोटाको दोस्रो नम्बरमा रहेकी अन्सारी ६ चैत ०७९ मा सांसद भएकी थिइन् । सांसद बनेको एक वर्षमा अन्सारीको उपचारका क्रममा सिभिल अस्पतालमा निधन भएको हो । उनको निधनमा सभामुख देवराज घिमिरेले अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् भने प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । 

०४६ को आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी अन्सारी सद्भावना पार्टीमा आबद्ध भई ०४६ देखि ०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन् । उनी हाल जसपा नेपालको पोलिटब्युरो सदस्य थिइन् ।अन्सारीको निधनसँगै आइतबार हुने भनिएको राष्ट्रिय सभाको दुइटा समिति सभापतिको निर्वाचन प्रभावित भएको छ । सभापतिको निर्वाचन सोमबारलाई सारिएको छ । 

समानुपातिकतर्फ महिला मुस्लिम कोटाको दोस्रो नम्बरमा रहँदै सांसद बनेकी अन्सारीको निधनपछि तेस्रो नम्बरमा रहेकी बाँकेकी हसिना खान सांसद बन्ने भएकी छिन् । अन्सारीको पद रिक्त भएको सूचना संसद् सचिवालयले पत्राचार गरेपछि निर्वाचन आयोगले बन्दसूचीअनुसार खानलाई प्रतिनिधिसभा सदस्य निर्वाचित गर्नेछ । 
 

ad
ad