मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २९ मंगलबार
  • Friday, 10 January, 2025
मिसेल इग्न्याटिफ
२o८o फाल्गुण २९ मंगलबार १o:२३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी वर्चस्वमाथि खतरा

Read Time : > 2 मिनेट
मिसेल इग्न्याटिफ
नयाँ पत्रिका
२o८o फाल्गुण २९ मंगलबार १o:२३:oo

युक्रेनसँग अब करिब एक महिनाका लागि मात्रै तोपका गोला छन् र अमेरिकी कंग्रेस थप गोला पठाउन सहमत हुने देखिँदैन । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भइसकेको छ । गाजा हत्याको शृंखलाको अन्त्य देखिँदैन । यमनका हुथी विद्रोहीले लालसागरमा जहाजमाथि आक्रमण गरिरहेका छन् । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिरहेको छ । सामान्य समयमा निराशावाद एक बौद्धिक सनकजस्तो देखिन सक्छ, तर अहिलेको समयमा निराशावाद यथार्थवादकै एक कडा रूप बनेको छ ।

अन्तर्राष्ट्रिय कानुनमा लेखिएको, राष्ट्रसंघले अनुमोदन गरेको र प्रमुख शक्तिबीचको आणविक आतंकको सन्तुलनले चलेको सन् १९४५ पछिको विश्व व्यवस्था अहिले निकै कमजोर अवस्थामा छ । अमेरिका आफ्नैविरुद्ध जाने गरी विभाजित छ र अमेरिकी क्षमता पनि सीमित भएको छ । नोभेम्बरमा अमेरिकाले नेटो सन्धिको धारा ५ अन्तर्गत आफ्नो सामूहिक–रक्षा दायित्व पूरा गर्न नसक्ने सम्भावनाले युरोपलाई झकझकाएको छ । यो नयाँ अनिश्चितता सामना गर्दै युरोपले आफ्नो रक्षा उत्पादन बढोत्तरी गरिरहेको छ । र, युरोपेली राजनीतिज्ञले आफ्नो सुरक्षाको प्रत्याभूतिका लागि जिडिपीको दुई प्रतिशत हिस्सा प्रयोग गर्न मतदातालाई आश्वस्त बनाउने प्रयास गरिरहेका छन् ।

पश्चिमा गठबन्धनले एट्लान्टिकमा एकता कायम राख्दै रक्षामा दोब्बर हुनुपर्ने चुनौती र ‘एक्सिस अफ रेसिस्टेन्स’को सामना गरिरहेको छ, जसले संगठित चुनौती पेस गरिरहेको छ र पश्चिमा वर्चस्वलाई जोखिममा पारिरहेको छ । यो एक्सिसको आधार रुस–चीनबीचको ‘सीमाहीन’ साझेदारी हो । चीनले रुसलाई हतियार प्रणालीका लागि उन्नत सर्किटरी आपूर्ति गर्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनलाई सस्तो तेल आपूर्ति गर्छन् ।

प्रमुख शक्तिबीचको आणविक आतंकको सन्तुलनले चलेको सन् १९४५ पछिको विश्व व्यवस्था अहिले निकै कमजोर अवस्थामा छ 

युक्रेनका थकित रक्षक क्रिमिया र डोनबास क्षेत्रमा रुसी सार्वभौमसत्ता स्विकार्न बाध्य भएमा चीन र रुस युरोपेली भूमिमा थप अतिक्रमण गर्न सफल हुनेछन् । यसले युरेसियामा रहेका ताइबान, बाल्टिक मुलुक, पोल्यान्डलगायत प्रत्येक राज्यलाई जोखिममा पार्नेछ । दुवै तानाशाही व्यवस्थाले विजयलाई अनुमोदन गर्न राष्ट्रसंघ सुरक्षा परिषद्मा आफ्नो भिटो प्रयोग गर्नेछन् र राष्ट्रसंघको बडापत्रलाई इतिहासको रद्दी टोकरीमा मिल्काउनेछन् । यी तानाशाहको यो साझेदारीले इरान र उत्तर कोरियाको नेतृत्वमा अधिकारको दुरुपयोग गर्ने समूहसँग मिलेर काम गर्छ । उत्तर कोरियाले पुटिनलाई कोरियाली प्रायद्वीपमा आक्रमण गर्ने षड्यन्त्र गर्दै गर्दा तोपका गोला प्रदान गरिरहेको छ । इरानले युक्रेनलाई आतंकित गर्ने गरी ड्रोन निर्माण गरिरहेको छ । यसैबीच इरानका छद्म बल रहेका हमास, हिजबुल्लाह र हुथीले अमेरिका र इजरायललाई कसेर रुस र चीनलाई मद्दत गरिरहेका छन् ।

अमेरिकाले इजरायललाई दीर्घकालीन युद्धविराम गर्न बाध्य पार्न नसकेसम्म तीनवटा मोर्चा अर्थात् एसिया, युरोप र मध्यपूर्वमा द्वन्द्व नियन्त्रणका लागि संघर्ष गरिरहनुपर्नेछ । रक्षामा आफ्ना प्रतिद्वन्द्वीलाई दुई–एकले उछिनेको देशले पनि यति धेरै मोर्चामा एकैसाथ युद्ध कायम गर्न सक्दैन । अधिनायकवादविरुद्ध विश्वभरका लोकतन्त्र अमेरिका र युरोपसँग मिलेर जाने विचार भ्रमजस्तै देखिन्छ । दक्षिणी गोलाद्र्धका ब्राजिल, भारत र दक्षिण अफ्रिकाजस्ता मुलुक उइगुर मुसलमान समेट्ने सम्पूर्ण जनसंख्यालाई थुनेर दमन गरिरहेको चीन र विपक्षीको हत्या गर्ने रुससँग जोडिएको देख्दा लाजमर्दो देखिन्छ । 

निःसन्देह यो अधिनायकवादी पक्ष हाल अमेरिका विरोधका कारण मात्रै एकताबद्ध छ । नत्र यो पक्ष आ–आफ्नो स्वार्थमा विभाजित छन् । उदाहरणका लागि चीन हुथीले लाल सागरको माध्यमबाट माल ढुवानीमा रोक लगाएकोमा खुसी हुन सक्दैन । विश्वको दोस्रो सबैभन्दा शक्तिशाली अर्थतन्त्र र गरिब मुस्लिम प्रतिरोधी विद्रोही वा ईश्वरतान्त्रिक इरानबीच खासै धेरै समानता छैन ।

यसबाहेक रुस र चीन दुवै अमेरिकी गठबन्धन र प्रतिरोधद्वारा टिकेको विश्वव्यापी अर्थतन्त्रका परजीवी लाभार्थी हुन् । यसैकारण यी दुई मुलुक वर्चस्वशाली अमेरिकालाई प्रत्यक्ष रूपमा चुनौती दिन हिचकिचाउँछन् । यी दुई मुलुक अमेरिकी प्रतिबन्धबाट जोगिएका मात्रै नभई ल्याटिन अमेरिका, एसिया र भारतका नयाँ बजार निर्भर हुँदै समृद्धितर्फ लागेका छन् । रुस र चीन दुवैले विश्वव्यापी अर्थतन्त्रमा अमेरिकी नियन्त्रण पहिले जस्तो छैन भन्ने पत्ता लगाएका छन् ।

अमेरिकी कमजोरीको जानकारीका कारण यी दुई मुलुकले संयुक्त सैन्य जोखिम मोल्न पनि सक्छन् । तर, अमेरिकी कूटनीति र प्रतिरोधले अधिनायकवादी पक्षलाई सफलतापूर्वक विभाजित गरेको छ । इरानविरुद्ध प्रत्याक्रमणकारी अमेरिकी हमलाले स्पष्ट रूपमा ईश्वरवादी इरानलाई हिजबुल्लाह र इराकमा रहेका मिलिसियामा लगाम लगाउन विश्वस्त बनाएको छ । तर, यसरी लाग्ने लगाममा हुथी पर्दैनन्, किनभने यिनलाई कसैले पनि नियन्त्रण गर्ने ल्याकत राख्दैन । चीन र रुसले सोचिरहेका अवसरलाई हेर्न कुनै रणनीतिक प्रतिभाको आवश्यकता पर्दैन । यदि यी दुई मुलुकले युक्रेन र ताइबानमा एकैसाथ आक्रमण गरेर अमेरिकी वर्चस्वलाई खुला चुनौती दिने निर्णय गरे भने अमेरिकालाई प्रतिकार गर्न द्रुत रूपमा आवश्यक हतियार र प्रविधि परिचालन गर्न गाह्रो हुनेछ ।

ताइबान र बाँकी युक्रेनलाई अतिक्रमण गर्ने समन्वित प्रयासलाई आणविक हतियारले नरोक्न सक्छ । चीन र रुस दुवैले अमेरिकी वर्चस्वलाई भत्काउने योभन्दा उपयुक्त क्षण कहिल्यै हुनेछैन भनेर विश्वास गर्न सक्छन् । यदि यी दुई शक्ति गठबन्धन गर्छन् भने हामीले सन् १९४५ पछिको विश्वव्यापी आर्थिक र रणनीतिक व्यवस्थामा सबैभन्दा गम्भीर चुनौतीको सामना गर्नेछौँ ।

यस्तो सम्भावित द्वन्द्वको नतिजा कसैलाई थाहा छैन । विगतमा जस्तै अमेरिका विजयी हुन्छ भनेर हामी अनुमान गर्न सक्दैनौँ । अधिनायकवादी पक्षलाई पूर्ण गठबन्धन बनाउनबाट रोक्नु अमेरिकाको सर्वोच्च प्राथमिकता हुनुपर्छ ।

(इग्न्याटिफ सेन्ट्रल युनिभर्सिटी इन भियनाका इतिहासका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट