१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २९ मंगलबार
  • Wednesday, 26 June, 2024
२o८o फाल्गुण २९ मंगलबार १२:o४:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

मधेशमा बिमाको पहुँच ८.६१ प्रतिशत मात्रै

बागमतीमा जनसंख्याभन्दा धेरै ‘बिमा पोलिसी’

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २९ मंगलबार १२:o४:oo

देशभरका ४३.१४ प्रतिशत नागरिकमा बिमा पहुँच पुग्दा मधेश प्रदेशमा भने ८.६१ प्रतिशत नागरिकले मात्रै बिमाको सेवा लिएका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार माघ मसान्तसम्म जीवन बिमा गर्ने जनसंख्या सबैभन्दा बढी बागमती प्रदेशमा एक सय ५२ प्रतिशत रहेको देखिएको छ । भौगोलिक अवस्थाका आधारमा सुगम मानिने मधेशका अधिकांश नागरिकको आर्थिक अवस्था भने कमजोर छ । कमजोर नागरिक रहेका मधेश, कर्णालीजस्ता प्रदेशमा बिमाको पहुँच न्यून रहेको प्राधिकरणको तथ्यांकले पुष्टि गरेको छ । 

०७८ को जनगणनाअनुसार मधेशको जनसंख्या ६१ लाख १४ हजार ६ सय छ । तर, त्यहाँ पाँच लाख ५४ हजार एक सय ९० वटा मात्रै बिमा पोलिसी जारी भएका छन् । जुन कुल जनसंख्याको ९.०६ प्रतिशत हो । दोहोरो बिमालेख खरिदलाई दृष्टिगत गर्दै कुल बिमालेखको संख्यालाई ५ प्रतिशतले घटाएर बिमा पहुँच गणना गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ ।

नेपालमा पनि सोहीअनुसार बिमा पहुँच गणना गरिँदै आइएको छ । जसअनुसार मधेशका पाँच लाख २६ हजार चार सय ८१ जना नागरिक बिमाको पहुँचमा रहेको देखिन्छ, यो मधेशको जनसंख्याको ८.६१ प्रतिशत हो । प्रदेशस्थित जीवन बिमा कम्पनीका शाखाले बिक्री गरेको पोलिसीका आधारमा यस्तो आँकडा निकालिएको हो । आठ जिल्ला भएको मधेश प्रदेशमा जीवन बिमा कम्पनीका दुई सय २७ शाखा छन् । वीरगन्जमा नियामक निकाय नेपाल बिमा प्राधिकरणको शाखा कार्यालयसमेत छ ।  

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि मधेश प्रदेशमा बिमा पहुँच बढ्न नसकेको स्वीकार गर्छन् । ‘पछिल्लो चार–पाँच वर्षदेखि हामीले स्थानीय तहमा बिमा ज्ञानसम्बन्धी अन्तक्र्रिया गर्दै आएका छौँ । अब भने मधेशमा बिमाको पहुँच बढ्न सक्छ भन्ने विश्वास छ ।’

कम्पनीहरू सहरकेन्द्रित हुँदा पनि यस्तो अवस्था आएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । ‘सामान्यत मधेश प्रदेशका जनताको बिमा गर्ने क्षमता कमजोर छ । त्यसमाथि त्यहाँ बिमासम्बन्धी ज्ञान पनि राम्रो छजस्तो लाग्दैन,’ उनले भने, ‘त्यसमाथि बिमा कम्पनीहरू सहरकेन्द्रित छन् । त्यसले गर्दा मधेशमा मात्रै होइन, कर्णालीजस्ता विकट प्रदेशमा बिमाको पहुँच आवश्यकताअनुसार बढ्न सकेको छैन ।’ हिमालयन लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार लाल कर्णले आर्थिक अवस्था र बिमा चेतनाको कमीले सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा बिमाको पहुँच कम देखिएको बताए ।

 कर्णालीमा १२% बिमाको पहुँच 
भौगोलिक रूपमा समेत विकट मानिने कर्णाली प्रदेशका १२.४२ प्रतिशत नागरिक मात्रै बिमाको पहुँचमा देखिएका छन् । १६ लाख ८८ हजार चार सय १२ जनसंख्या रहेको कर्णाली प्रदेशमा दुई लाख २० हजार सात सय ५२ वटा पोलिसी बिक्री भएको छ । त्यसमा ५ प्रतिशत घटाउँदा दुई लाख नौ हजार सात सय १४ अर्थात् साढे १२ प्रतिशत नागरिक मात्रै बिमाको पहुँचमा देखिन्छन् । १० जिल्ला रहेको कर्णाली प्रदेशमा जीवन बिमा कम्पनीका एक सय पाँच शाखा छन् । 

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १८–१८ प्रतिशत नागरिकले बिमा गरेको देखिन्छ । ५१ लाख २२ हजार ७८ जनसंख्या रहेको लुम्बिनीमा नौ लाख ६२ हजार तीन सय १० बिमा पोलिसी बिक्री भएका छन् । त्यसको ५ प्रतिशत घटाउँदा नौ लाख १४ हजार १९५ अर्थात्, १८ प्रतिशत नागरिक बिमाको पहुँचमा देखिन्छन् । १२ जिल्ला भएको लुम्बिनीमा जीवन बिमाका दुई सय ९७ वटा शाखा कार्यालय छन् । 

यसैगरी, २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या भएको सुदूरपश्चिममा पाँच लाख चार हजार ६ सय ७० पोलिसी बिक्री भएको छ । त्यसमा ५ प्रतिशत घटाउँदा चार लाख ७९ हजार चार सय ३७ अर्थात् १७.७९ प्रतिशत नागरिक बिमाको दायरामा देखिन्छन् । नौ जिल्ला भएको सुदूरपश्चिममा जीवन बिमाका एक सय ८५ शाखा छन् । 

 गण्डकी र कोशीमा २२% माथि
कोशी र गण्डकी प्रदेशमा भने २२ प्रतिशतभन्दा बढी नागरिकमा बिमा पहुँच पुगेको देखिन्छ । ४९ लाख ६१ हजार चार सय १२ जनसंख्या भएको कोशीमा ११ लाख ६५ हजार सात सय ८० वटा बिमा पोलिसी बिक्री भएका छन् । त्यसमा ५ प्रतिशत घटाउँदा ११ लाख सात हजार चार सय ९१ जना अर्थात्, २२.३२ प्रतिशत नागरिक बिमाको दायरामा देखिन्छन् । १४ जिल्ला भएको कोशी प्रदेशमा जीवन बिमा कम्पनीका तीन सय दुईवटा शाखा कार्यालय छन् । 

२४ लाख ६६ हजार चार सय २७ जनसंख्या भएको गण्डकीमा पाँच लाख ९२ हजार एक सय ५६ वटा पोलिसी बिक्री भएका छन् । त्यसमा ५ प्रतिशत घटाउँदा पाँच लाख ६२ हजार पाँच सय ४८ जना अर्थात् २२.८० प्रतिशत नागरिक बिमाको दायरामा देखिन्छन् । ११ जिल्लाको गण्डकी प्रदेशमा जीवन बिमा कम्पनीका एक सय ९६ शाखा छन् । 

 बागमतीमा जनसंख्याभन्दा बढी बिमा
यता संघीय राजधानीसँग जोडिएको बागमती प्रदेशमा भने जनसंख्याभन्दा पनि बढी बिमा पोलिसी बिक्री भएका छन् । बागमती प्रदेशमा ६१ लाख १६ हजार आठ सय ६६ जनसंख्या छ । तर, यो प्रदेशमा ९७ लाख ९४ हजार दुई सय ७९ वटा बिमा पोलिसी बिक्री भएका छन् । १३ जिल्ला प्रदेशमा भएको यो प्रदेशमा जीवन बिमा कम्पनीका चार सय ७७ शाखा छन् । 

यही प्रदेशमा संघीय राजधानी काठमाडौं छ । सबै बिमा कम्पनीका प्रधान कार्यालय यहीँ छन् । अध्ययन तथा रोजगारीका लागि यहाँ बसोवास गर्ने अन्य प्रदेशका व्यक्तिको संख्या पनि बढी छ । कतिपय व्यक्तिहरूले लगानीका लागि भनेर पनि दुईभन्दा बढी बिमा पोलिसी खरिद गरेका हुन्छन् । त्यसले गर्दा बागमती प्रदेशबाट जनसंख्याभन्दा बढी बिमा पोलिसी बिक्री भएको प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले बताए । जनसंख्याभन्दा बढी पोलिसी बिक्री भए पनि बागमतीका सबै नागरिक भने बिमाको दायरामा नभएको उनी बताउँछन् । 

‘यसै पनि अझै पनि बिमा कम्पनीहरू सहरकेन्द्रित छन् । त्यसको असर पनि प्रदेशगत बिमा सेवा विस्तारमा परेको छ । साथै, बागमती प्रदेशमा देशभरका मानिस आएर बसोवास गर्छन् । उनीहरूले बागमतीमै रहेका बिमा कम्पनीका शाखा कार्यालयबाट बिमा पोलिसी खरिद गरेका हुन्छन् । त्यसैले यस्तो आँकडा देखिएको हो,’ उनले भने, ‘तर, प्रदेशगत रूपमा समान रूपमा बिमा पहुँच विस्तार हुन नसकेको भने सत्य हो । त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

ad
ad
ad
ad