१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
दीपक शर्मा सल्यान
२o८१ बैशाख २१ शुक्रबार o७:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पढाइसँगै विद्यार्थीलाई व्यावहारिक सीप सिकाइँदै

Read Time : > 1 मिनेट
दीपक शर्मा सल्यान
नयाँ पत्रिका सल्यान
२o८१ बैशाख २१ शुक्रबार o७:२३:oo

सल्यानका सामुदायिक विद्यालयले विद्यार्थीलाई पठनपाठनसँगै व्यावहारिक सीप सिकाउन थालेका छन् । शिक्षालाई प्रयोगात्मक बनाई जीवनसँग जोड्न भन्दै सामुदायिक विद्यालयहरूले जीवनउपयोगी शिक्षा प्रदान गर्न थालेका हुन् ।कपुरकोट गाउँपालिकाका पाँच, सिद्धकुमाख गाउँपालिकाको एक र छत्रेश्वरी गाउँपालिकाको एक गरी सात विद्यालयले अहिले विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाइरहेका छन् । कपुरकोट गाउँपालिकामा हाउस वाइरिङ, पेन्टिङ, डकर्मी, प्लम्बिङलगायत सीप प्रदान गरिएको छ । सिद्धकुमाख गाउँपालिका– ३ मा रहेको निराजन माध्यमिक विद्यालयमा खानाका परिकार बनाउनेसम्बन्धी सीप सिकाउने गरिन्छ ।

पढाइपछि रोजगारीको अवसर राम्रो भएकाले प्लम्बिङसम्बन्धी सीप सिकिरहेको कपुरकोट गाउँपालिका– ३ धनवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्र प्रकाश विकले बताए । पाएको सीपले आफूलाई पढाइमा उत्साह थपिएको उनको भनाइ छ ।

कालिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा जीवना डाँगीले पेन्टिङसम्बन्धी सीपले आत्मनिर्भर बनाउन सहयोग मिलेको बताइन् । आफ्नो हातमा सीप भएमा विदेश नै जानुपर्छ भन्ने सोचलाई परिवर्तन गर्न तालिमले सहयोग मिलेको उनको भनाइ छ ।

निराजन माध्यमिक विद्यालय ढोरचौरमा पशु विज्ञानतर्फ कक्षा १० मा अध्ययनरत विद्यार्थीले दूधजन्य परिकार बनाउने सीप सिकिरहेका छन् । पढाइलाई व्यावहारिक रूपमा अघि बढाउँदा अध्ययन थप सहज बनेको कक्षा १० मा अध्ययनरत विद्यार्थी यमराज सुनारले बताए । ‘सीप सिकेर दक्षता बढाएमा भविष्यमा केही गर्न सकिन्छ कि भन्ने आत्मविश्वास दिलाएको छ,’ उनले भने ।

सबै कुरा किताबमा लेखेको पढेर मात्र हुँदैन भन्ने निष्कर्षसहित प्रयोगात्मक कक्षालाई पनि प्राथमिकता दिएको निराजन माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीमगरले बताए । पशुपालन व्यवसायतर्फ आकर्षित गर्न विद्यार्थीलाई दूधजन्य परिकार बनाउने तालिम सिकाइरहेको उनको भनाइ छ । ‘गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले शिक्षासँगै व्यावहारिक ज्ञानलाई पनि विशेष महत्व दिएर शिक्षा प्रदान गर्ने गरेको छ,’ उनले भने ।

मानिसलाई जीवनोपयोगी सीपले जीवनपर्यन्त सफल जीवन बिताउन सहयोग पुग्ने भएकाले विद्यालय तहदेखि नै विद्यार्थीलाई विभिन्न सीप सिकाउन आवश्यक रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर शर्माले बताए । ‘जीवनोपयोगी सीपले जीवनमा आइपर्ने समस्या र चुनौतीलाई सामना गर्न बल पुग्छ । सीपले विद्यार्थीलाई जिम्मेवार बनाउनुका साथै बौद्धिक क्षमतामा समेत सहयोग पु¥याउने गर्छ,’ उनले भने ।

ad
ad