१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महिलामैत्री नीति र कानुन निर्माणका लागि निरन्तर भूमिका खेल्नेछु : देउवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४४:oo

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समिति सभापति डा. आरजु देउवाले महिलामैत्री नीति र कानुन निर्माणका लागि संसदमा क्रियाशील रहने बताएकी छिन् । महिला हकअधिकारका लागि लामो समयदेखि पैरवी गर्दै आएकी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद देउवाले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै सूचना प्रविधिमा महिलाको पहुँच स्थापित गर्न नीतिगत सुधारमा क्रियाशील रहने बताएकी हुन् ।

‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले व्यक्तिगत रूपमा महिलामैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु । प्रविधिको पहुँचमा लैंगिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्नेछु,’ उनले भनेकी छिन्, ‘आजको दिन ग्रामीण र सीमान्तकृत समुदायका महिलाको प्रविधि साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरूको पहुँच पुर्‍याउन नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । महिला सशक्तीकरणको विषय केवल महिलाको मात्र मुद्दा होइन, यसका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक पर्दछ ।’

उनले विश्वभर आज पनि महिलामाथि कुनै न कुनै प्रकारका विभेद कायमै रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अवसरमा महिलाको पहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न नसकेको बताएकी छिन्। ‘महिलाले कार्यस्थलमा विभेदका साथै समान अवसरहरूका क्षेत्रमा बाधा र भेदभाव भोग्दै आएका छन् । तर, हामी सबैले हातेमाले गरेर यी चुनौतीहरू पन्छाउँदै जानुपर्नेछ । आपसी सहकार्यबाट महिलाका लागि विभिन्न क्षेत्रमा भएका अवरोधहरू तोड्न सबै लागि पर्नुपर्ने अवस्था छ,’ कृषि समिति सभापति देउवाले भनेकी छन् । 

विकसित मुलुकहरूको तुलनामा नेपाली नारीहरूले आधारभूत आवश्यकतामै विभेद र शोषण भोग्दै आएको उनको दाबी छ। ‘उनीहरूलाई न्याय र समानता दिलाउने उद्देश्य हामी सम्पूर्ण नारीहरूको मात्रै नभई नारी र पुरुष दुवैको हो । महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत अभ्यासमा आएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नारीहरूले आफूले पाएका अवसरमा सफलता प्रमाणित गरिसकेका पनि छन् । हामी महिलाहरू परिवार, समुदाय र राष्ट्रकै नेतृत्वकर्ता हौँ । महिलाहरू समाजका हरेक क्षेत्रमा सफल हुँदै आएको हाम्रो गौरवमय इतिहास पनि छ । यद्यपि, हामीले अझै पनि धेरै काम गर्न बाँकी छ ।’ आज अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ ।

ad
ad