आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा–आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।
यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गएरातिदेखि नै पशुपतिमा भिड लागेको छ । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए ।
उनका अनुसार अहिले भक्तजनलाई मन्दिर प्रवेशदेखि भगवानकाे दर्शनका लागि भिड कम भएका कारण सहज भएको छ । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकपटकमा नौजनादेखि १० जनासम्मले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ विकास कोषले जनाएको छ ।
पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन् । यस वर्षको महाशिवरात्रिमा कम्तीमा पनि २० लाखजना भक्तजनले पशुपतिको दर्शन गर्ने विकास कोषले अनुमान गरेको छ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ ।