१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २२ मंगलबार ०६:२३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

झापा गोल्डकपको सेमिफाइनलमा एपिएफ

Read Time : > 1 मिनेट
२०८० फाल्गुण २२ मंगलबार ०६:२३:००

विभागीय टोली एपिएफले सोमबार बागमती युथ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान सुरक्षित गरेको छ । एपिएफको जितमा गोलरक्षक एञ्जल श्रेष्ठ नायक बने । उनले पहिलो क्वार्टरफाइनलको टाइब्रेकरमा बागमतीका दुई पेनाल्टी रोकेका थिए । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा निर्धारित ९० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

टाइब्रेकरमा एपिएफका गोलरक्षक श्रेष्ठले बागमतीका निर्मल घिसिङ र अनिल मगरको प्रहार बचाउ गरेका थिए । बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूको प्रहारले टाइब्रेकरमा गोल गरे । एपिएफका फोडे फोफोना, श्याम मगर, कुलदीप कार्की र प्रदीप लामाले गोल गर्न सफल भए । गोलरक्षक एञ्जलले यसअघिको पहिलो खेलमा संकटाविरुद्धको खेलमा पनि टाइब्रेकर उत्कृष्ट प्रदर्शन गरी एपिएफलाई अन्तिम आठको स्थान पक्का पारेका थिए । बागमती सीधै बाई’ पाएर अन्तिम आठमा पुगेको हो । 

प्रतिस्पर्धाको पहिलो हाफमा बागमती एपिएफमाथि हाबी भएको थियो । दोस्रो हाफमा एपिएफले बागमतीलाई दबाबमा राख्यो । यद्यपि दुवै टोलीको फिनिसिङ लाइन कमजोर हुँदा स्कोर भएन । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा घटुवा भएको एपिएफ झापा गोल्डकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

खेलको अन्तिम इन्जुरी समयमा बागमतीका खेलाडीलाई फल गरेपछि दोहोरो पहेँलो कार्ड खाँदै एपिएफका डिफेन्डर दिपेश धिमाल मैदानबाट बाहिरिएका थिए ।  प्रतिस्पर्धात्मक पहिलो क्वार्टरफाइनलको १०औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरको सशक्त प्रहार वारनजिक हुँदै बाहिरिएको थियो । खेलको २६औँ मिनेटमा बागमतीका सनम धिमालले डिबक्सबाट गरेको प्रहार एपिएफका गोलरक्षक एञ्जलले पञ्च गर्दै खतरा टारे । 

 रणनीतिअनुसार खेल भएन
सुमन श्रेष्ठ, प्रशिक्षक, एपिएफ

बागमतीविरुद्ध जसरी खेल्नुपर्ने थियो, खेलाडीले खेल्न सकेनन् । आज रणनीतिअनुसार प्रदर्शन भएन । झापा गोल्डकपजस्तो प्रतिष्ठित प्रतियोगितामा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आएको छ । यो लज्जास्पद हो । 

 प्राप्त अवसरमा गोल भएन
सुनिल श्रेष्ठ, प्रशिक्षक, बागमती

हामीले एपिएफविरुद्ध राम्रो गोल अवसर सिर्जना गरेका थियौँ । तर, खेलाडीले प्राप्त अवसरमा गोल गर्न नसक्दा हारको सामना गर्नुपरेको हो । खेल रणनीतिअनुसार निर्धारित समयमा बागमतीले गोल निकाल्नुपर्ने थियो ।