१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २१ सोमबार ०८:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शालीनको पोस्टमार्टममा बलात्कार देखिएन, रिपोर्टमा परिवारको आपत्ति

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २१ सोमबार ०८:२६:००

चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोस्टमार्टम रिपोर्ट आएको छ । आइतबार सार्वजनिक पोस्टमार्टमको रिपोर्टमा मृत्युको कारण ‘ह्यांगिङ’ उल्लेख छ । तर, पीडित परिवारले भने अस्पतालले सार्वजनिक गरेको रिपोर्टलाई अस्वीकार गरेको  छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेश रिमालले अनुसन्धानको एउटा पाटो सकिए पनि सूक्ष्म विस्तृत छानबिन भइरहेको जानकारी दिए । ‘प्रारम्भिक हिसाबमा ‘ह्यांगिङ’ भन्ने देखिएको छ, अनुसन्धानको एउटा पाटो सकिए पनि अनुसन्धानमै छौँ । निष्पक्ष र विस्तृत अनुसन्धान भइरहेको छ । भिसेराको रिपोर्ट, ब्लडको रिपोर्ट, मृतक बालिका भेटिएको ठाउँको ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट जाँचको रिपोर्ट आउन बाँकी नै छन् । हत्या र बलात्कार देखिएको छैन,’ रिमालले भने, ‘टेक्निकल अनुसन्धानको पाटो सिसिटिभी फुटेजदेखि मोबाइलको डिजिटल फरेन्सिक, मृतकका साथीहरू, उनीसँग सम्बन्धित व्यक्ति, स्कुलका शिक्षक, क्यान्टिनका मान्छे, स्कुलका सरसफाइकर्मीलगायत सबैलाई अनुसन्धानमा ल्याएका छौँ । बालिकाको मृत्युजस्तो संवेदनशील विषयलाई अत्यन्त गाम्भीर्यका साथ लिएर अनुसन्धानलाई टुंगोमा पुर्‍याउँछौँ ।’

प्रहरी स्रोतका अनुसार अहिलेसम्मको अनुसन्धानमा घटनालाई शंकास्पद मान्ने आधार देखिएका छैनन् । गत १२ फागुनमा रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा १४ वर्षीया शालीन पोखरेल सिलिङको पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । 

बलात्कारपछि हत्या भएको आरोप लगाउँदै आएको शालीन पोखरेलको परिवारले भने पोस्टमार्टम रिपोर्टप्रति आपत्ति जनाएको छ । शालीनका बुबा दीपेन्द्र पोखरेलले भने, ‘अहिलेसम्म रिपोर्ट पाएका छैनौँ । यौनांगमा घाउ भएको अवस्थामा मृत भेटिएकी छोरी बलात्कृत भएकी होइनन् भनेर पत्याउनै सकिन्न । छोरीको शरीरका केही भागमा निलडाम पनि थियो । पुनः अर्को ठाउँमा पनि लगेर परीक्षण गराउन मिल्ने रहेछ । परिवार बसेर सल्लाह गाछौँ, अनि के गर्ने भन्ने निर्णय गछौँ,’ उनले भने ।