Skip This
अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन राष्ट्रसंघमा प्रस्ताव गर्छौँ : गृहमन्त्री श्रेष्ठ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २० आइतबार
  • Saturday, 27 July, 2024
दीपेश पछाई लुम्बिनी
२o८o फाल्गुण २० आइतबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन राष्ट्रसंघमा प्रस्ताव गर्छौँ : गृहमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
नयाँ पत्रिका
२o८o फाल्गुण २० आइतबार १८:१२:oo

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्धको शिक्षा विश्वव्यापी बनाउन ध्यान दिवस घोषणा गराउन पहल गर्ने बताएका छन्। बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसात गरेको बताउँदै उनले यस्तो बताएका हुन्।

लुम्बिनीमा आइतबारदेखि सुरु तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोहको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले भने, ‘एउटा मेरो मनको इच्छा छ, प्रधानमन्त्रीसँग पनि छलफल गरेर बुद्धको मेन टिचिङ जुन छ, त्यसलाई विश्वव्यापी बनाउन इन्टरनेसनल मेडिटेसन डेका रूपमा घोषणा गर्न संयुक्त राष्ट्रसंघमा प्रस्ताव गर्ने पक्षमा छु।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनी भ्रमणपछि काठमाडौंमा भेट हुँदा आफूले बुद्धको शिक्षाको मुख्य भागका रूपमा रहेको ध्यान विधिलाई ‘योग दिवस’ मनाएजस्तै गरी ‘ध्यान दिवस’ घोषणाका लागि सघाउन अनुरोध गरेको सुनाए।

‘कुन डे भन्ने कुरा छलफल गरौँला, तर मेरो हृदयमा भएको ध्यान दिवसका बारेमा सरकारले प्रस्ताव लैजान्छ,’ उनले भने। गृहमन्त्री श्रेष्ठले ध्यानलाई गृह मन्त्रालयले सुरुवात गरिसकेको उल्लेख गरे।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिरपरिसरमा त्रिपिटक वाचन सुरु गरिएको हो।

कार्यक्रममा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धको दर्शन र विचारलाई विश्वले अंगीकार गरेकाले त्यसलाई फैलाउन त्रिपिटक वाचनजस्ता कार्यक्रमले ठूलो सहयोग गर्ने बताए। त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाहरूको संग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने उनको भनाइ छ।