सुआरेज र मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीको सानदार जित

आइतबार, २० फागुन, २०८०
डिजिटल संस्करण

उत्कृष्ट फर्ममा देखिएका लुइस सुआरेजको दुई गोल र दुई असिस्टको मद्दतमा इन्टर मियामीले अमेरिकन फुटबल लिग मेजर लिग सकरको आफ्नो तेस्रो खेलमा सानदार जित निकालेको छ। 

नेपाली समयअनुसार आज बिहान भएको खेलमा गृह मैदानमा मियामीले ओरलान्डो सिटीलाई ५–० गोलले पराजित गर्‍यो। सुआरेज र लिओन मेसीले दुई–दुई गोल गरे भने एक गोल रोबर्ट टेलरको नाममा रह्यो। जितपछि तीन खेलबाट सात अंकसहित मियामी लिगको शीर्ष स्थानमा कायम छ। 

खेलमा अग्रता भने सुआरेजले दिलाएका थिए। चौथो मिनेटमा जुलियन ग्रेसलको पासमा वन टचमा उत्कृष्ट फिनिसिङ गर्दै सुआरेजले पहिलो बारबाट बललाई जाली चुमाए। १२औँ मिनेटमा सुआरेजले अग्रता दोब्बर पारे। यस क्रममा पनि उनलाई जुयिनले नै असिस्ट गरेका थिए। सानदार फर्ममा देखिएका सुआरेजले गोल मात्र गरेनन्, २८औँ मिनेटमा उत्कृष्ट असिस्ट गर्दै इन्टरलाई तेस्रो गोलको वातावरण बनाए। सुआरेजको पासमा रोबर्ट टेलरले सहज गोल गरेका थिए। 

बाँकी दुई गोल मेसीको नाममा रह्यो। ५७औँ मिनेटमा जोर्डी अल्बाले गोलकिपरलाई बिट गर्दै बललाई पोस्टको दिशा दिएका थिए। तर, गोल लाइनबाट ओर्लान्डोका डिफेन्डरले उत्कृष्ट बचाउ गरे। त्यही बललाई छातीले नियन्त्रणमा लिँदै मेसीले पोस्टभित्र पठाएपछि इन्टर ४–० ले अघि बढ्यो। 

६२औँ मिनेटमा सुआरेजको उत्कृष्ट असिस्टमा हेर्डर गोल गर्दै मेसीले व्यक्तिगत दोस्रो गोल गरे। जारी लिगमा मेसीको यो तेस्रो गोल हो। 

सुझावित समाचार