मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Wednesday, 05 February, 2025
रमेश सुवेदी काठमाडौं
२o८o फाल्गुण १८ शुक्रबार १५:१२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिदेशीय शृंखलामा नेपालको पहिलो जित

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार १५:१२:oo

त्रिदेशीय शृंखलाको तेस्रो खेलमा नामिबियालाई तीन रनले हराउँदै घरेलु टोली नेपालले पहिलो जित निकालेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नामिबियाले पूरा २० ओभर खेल्दा सात विकेट गुमाएर एक सय ७७ रन बनाएको हो। 

नेपालको इनिङ्समा कुशल मल्ल र नामिबियाका लागि कप्तान जेजे स्मिथले अर्धशतकीय इनिङ्स खेलेका थिए। अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै करण केसीले नेपाललाई जित दिलाएका हुन्। अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा नामिबियाले मात्र आठ रन जोडेको थियो। 

यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग २० तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो। नेपालले अन्तिम खेल शनिबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।

नामिबियाको इनिङ्समा कप्तान जेजे स्मिथले अर्धसतकीय इनिङ्स खेले। २६ बलमा उनले ६ चौका र दुई छक्का प्रहार गरेका हुन्। जान फ्रेलिन्कले ३७, जेपी कोट्जेले २५ रनको योगदान गरेका हुन्।

७.२ ओभरमा ५०–३ को अवस्थामा रहेको नामिबियालाई स्मिथ र जानले बलियो स्थितिमा पुर्‍याएका थिए। दुई खेलाडीले चौथो विकेटको लागि ८३ रनको साझेदारी भएको थियो।

दीपेन्द्रसिंह ऐरीले १५.१ र १५.२ ओभरमा लगातार महत्वपूर्ण विकेट लिएपछि खेल नेपालतर्फ ढल्किएको थियो। आइसिसी विश्वकप क्रिकेट लिग– २ मा कीर्तिमानी शतक बनाएका इटोनलाई दीपेन्द्रले गोल्डेन डक गरेपछि नामिबिया दबाबमा आएको थियो। 

अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा रुवेन ट्रुमपेल्मन र जान ग्रिन क्रिजमा थिए। तर, करण केसीले उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित दिलाएका हुन्। रुवेन १४ मा आउट भए। जानले १३ बलमा २४ रन बनाए। 

नेपालका लागि सोमपाल कामी, करण केसी र  दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । अभिनाश बोहराको नाममा एक विकेट रह्यो। प्रतीश जिसी र कप्तान रोहितकुमार पौडेल भने विकेटविहीन भएका छन्। 

नेपालको इनिङ्समा १९ वर्षीय अलराउन्डर कुशल मल्लले ३७ बलमा ५५ रन बनाए । उनले आक्रामक ब्याटिङ गर्दै एक चौका र चार छक्का प्रहार गरेका हुन्। उनको करियरको यो चौथो अर्धशतक हो । 

मध्यक्रमका ब्याटर आरिफ शेखले २४ बलमा चार चौकासहित ३१ रन बनाए। गुल्सन झाले एलबिडब्लू धरापमा पर्दा २६ रनको योगदान गरेका हुन्। दीपेन्द्रसिंह ऐरी पनि आठ बलमा १६ रन बनाउँदा एलबिडब्लू धरापमा परे।  

कुशल भुर्तेलले विश्राम पाएको खेलमा ओपनर रहेका अनिल शाहले १७ बल तीन छक्कासहित २३ रन बनाए । अर्का ओपनर आसिफ शेख भने दुई बलमा एक रन बनाएर आउट भएका हुन्। कप्तान रोहितकुमार पौडेल पनि जम्मा १० रन मात्रै जोड्न सके। 

३.४ ओभरमा दुई विकेट गुमाएपछि दबाबमा आएको नेपालका लागि अनिल र गुल्सनले २८ रन जोड्दै नेपालको इनिङ्स उकासेका हुन्। आरिफ र कुशलले पाँचौँ विकेटको लागि सर्वाधिक ८५ रनको साझेदारी गर्दै नेपाललाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्‍याएका हुन्। ७‍.२ ओभरमा ६४–४ अवस्थामा रहेको नेपाललाई दुई खेलाडीले अगाडि बढाएका हुन्। 

नामिबियाका बेन सिकोन्गोले चार ओभरमा २८ रन खर्चिँदै सर्वाधिक तीन विकेट हात पारे। ज्याक ब्रासेलले दुई तथा रुवेन थ्रुप्लेल्मन, जान निकोल इटोन र बेर्नाल्डले समान एक विकेट हात पारे।