१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आठ विकेटले हराउँदै नेदरल्यान्ड्सले लियो बदला, नेपालको न ब्याट चल्यो न बल

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:५७:oo

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाललाई आठ विकेटले हराउँदै नेदरल्यान्ड्सले दोस्रो जित निकालेको छ । 

जितसँगै नेदरल्यान्ड्सले महत्वपूर्ण दुई अंक आर्जन गर्‍याे । चार खेल खेलेको नेदरल्यान्ड्सको दुई जितसँगै चार अंक भएको छ । समान खेलमा नेपालको दुई अंक मात्र छ । यो शृंखलामा समान चार खेल खेलेको नामिबियाले तीनमा जित निकल्दै ६ अंक हासिल गरेको छ । 

जारी शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई ९ विकेटले हराउन सफल भएको थियो । तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटले हार व्यहोरेको नेपाल चौथोमा नेदरल्यान्ड्ससँग आठ विकेटले हार व्यहोर्न बाध्य भयो । 

कीर्तिपुर मैदानमा ओपनर कुशल भुर्तेलले अर्धशतक बनाए पनि तीन बलअघि अलआउट हुँदै नेपालले जम्मा एक सय ७२ रन बनाएको थियो । एक सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले दुई विकेट गुमाउँदै ३७.५ ओभरमा पूरा गरेको हो । नेदरल्यान्ड्सको जितमा विक्रमजित सिंहले अर्धशतकीय इनिङ्स खेले । 

नेदरल्यान्ड्सको इनिङ्समा ओपनर मिचेल लेभितले ३९ र म्याक्स ओ डाबडले २८ रनको योगदान गरेका थिए । दुई ओपनरले पहिलो विकेटको लागि ६१ रन बनाउँदै सानदार सुरुवात गरेका हुन् ।

विक्रमजित सिंहले ९२ बलमा सात चौकासहित ५८ र सेब्रान्ड इन्गेलब्रेचले ७५ बलमा तीन चौकासहित ४६ रनको योगदान गरे । ११.४ ओभरमा ७१–२ को अवस्थामा रहेको नेदरल्यान्ड्सलाई विक्रमजित र सेब्रान्डले शतकीय साझेदारी गर्दै जित सुनिश्चित गरेका थिए । 

नेपालका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेलले ९३ बलमा आठ चौकासहित सर्वाधिक ६६ रन बनाए । उनले नै नेपालको इनिङ्स उकासेका थिए । अन्य खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । 

आरिफ शेखले २२ र करण केसीले २६ रनको योगदान गरे । करण र आरिफले आठौँ विकेटका लागि ३६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्‍याएका थिए । ओपनर आसिफ शेख २७ बलमा १७ रन, कप्तान रोहितकुमार पौडेलले १६ रन बनाए । 

ओपनर आसिफ र भुर्तेलले ४२ रनको सर्वाधिक ठूलो साझेदारी गरे । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेपछि गतिलो साझेदारी नै हुन सकेन । ८.२ ओभरमा ४२ रन बनाउँदै ओपनरद्वय आसिफ र भुर्तेलले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर, यसपछि १२ रन जोड्दा तीन गुमाएर नेपाल दबाबमा आएको थियो । 

अनिल शाह सात र कुशल मल्ल दुई रनमा आउट भए । आशा गरिएका दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुल्सन झाले पनि राम्रो प्रदर्शन गर्न नसकेपछि नेपालको ब्याटिङक्रम धर्मराएको थियो । 

नेदरल्यान्ड्सका आर्यद दत्त र भिभिअन किंमाले सर्वाधिक समान तीन विकेट हात पारे । बास डी लिडले दुई र रोएलोफ भान डेर मेर्वीले एक विकेट हात पारेका छन् । 

कीर्तिपुर मैदानमा टस हारेको नेपालले सुरुवाती ब्याटिङ गरेको थियो । प्रशिक्षक मोन्टी देसाईले सोमपाल कामी र देव खनाल बाहिर राख्दा आसिफ शेख र गुल्सन झालाई कमब्याक गराएका थिए ।

ad
ad