१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

१५ फागुनबाट हिउँदे अधिवेशन, १३ गते सर्वदलीय बैठक बस्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:२६:oo

गत २२ असोजमा दुईवटा विधेयक पास गरेर स्थगित भएको बागमती प्रदेश सभाको बैठक यही १५ फागुनमा बस्ने भएको छ। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको हिउँदे अधिवेशन १५ फागुनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले एक सूचना जारी गर्दै प्रदेश सभाको तेह्रौँ अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले जारी गरेको सूचनामा यही फागुन १५ गते मंगलबार दिनको ३ बजे प्रदेश सभाको बैठक बस्ने उल्लेख गरिएको छ । 

यसअघि ८ फागुनमा बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको तेह्रौँ अधिवेशन आह्वान गरेका हुन् । योसँगै झन्डै साढे चार महिनादेखि सञ्चालन हुन नसकेको बागमती प्रदेश सभाको हिउँदे अधिवेशन १५ फागुनमा बस्ने निश्चित भएको छ । 

१३ फागुनमा सर्वदलीय बैठक आह्वान
यसैबीच, बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले फागुन १३ गते आइतबारका लागि बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आह्वान गरेका छन् । बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले आइतबार दिउँसो दुई बजेका लागि सभामुखबाट सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । उनले सर्वदलीय बैठकमा संसदीय समितिको सभापति चयन, प्रदेश सरकार र विपक्षी दलबीच भएको सहमति र आगामी प्रदेश सभामाको कार्यसूचीको विषयमा पनि छलफल हुन सक्ने बताए ।

सभामुख भुवनकुमार पाठकले लामो समयदेखि बागमती प्रदेश सभाअन्तर्गतका समितिको सभापति चयन, प्रदेश सरकार र विपक्षी दलबीच बजेटका सम्बन्धमा भएको सहमति कार्यान्वयन र प्रदेश सभा बैठकलगायतका विषयमा विवाद कायम रहेकै अवस्थामा सर्वदलीय बैठक आह्वान गरेका हुन् । यसअघि १७ मंसिरमा पनि संसदीय समितिको सभापति चयन, प्रदेश सरकार र विपक्षी दलबीच भएको सहमति, प्रदेश सभा बैठक सञ्चालन गर्नेलगायतका विषयमा बसेको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि बैठक विनानिष्कर्ष टुंगिएको थियो । 

संसदीय समिति अझै नेतृत्वविहीन
बागमती प्रदेश सभा गठन भएको एकवर्ष भइसक्दासमेत प्रदेश सभाअन्तर्गत रहेका समितिहरूले नेतृत्व पाउन सकेका छैनन्। दलबीच भागबन्डा नमिल्दा संसदीय समितिहरूले नेतृत्व पाउन नसकेका हुन्। संसदीय समितिहरू जेष्ठ सदस्यहरूको भरमा सञ्चालन भइरहेका छन्।

एक वर्षको अवधिमा प्रदेश सभाको ५६ वटा बैठक बसेको थियो। पहिलो अधिवेशनबाट चार र दोस्रो अधिवेशनबाट तीन गरी जम्मा सातवटा विधेयक पारित भएका छन् । यस अवधिमा बसेको बैठकबाट २ वटा सालबसाली विधेयक र अन्य ५ वटा विधेयकहरू पारित भएका छन्। जसमा २ वटा संशोधन विधेयक र ३ वटा मूल विधेयकसमेत रहेका छन्। 

यही वर्ष प्रदेश सभाबाट पारित भएर प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाइएको एउटा विधेयक भने प्रदेश प्रमुखबाट पुनर्विचारका लागि फिर्ता भएको छ । चिट्ठासम्बन्धी विधेयक प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुनर्विचार गर्नुपर्ने भन्दै प्रदेश सभामै फिर्ता पठाएका थिए । जुन संसद् सचिवालयमा अहिले पनि विचाराधीन अवस्थामा छ । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाले समितिहरूमा पठाएका ३ वटा विधेयकहरू अझै पनि संसदीय समितिमै दफावार छलफल कै क्रममा छन् ।

प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तक तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा छलफलका क्रममा छन्। यस्तै, प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने संसदमा दर्ता भएर थन्किएको छ।

ad
ad