१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:४५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आयात २.३१ प्रतिशत र निर्यात ७ प्रतिशतले गिरावट

चालू आर्थिक वर्षको सात महिनामा आठ खर्ब ९८ अर्बको आयात र ८६ अर्ब ८३ करोडको निर्यात

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:४५:oo

चालू आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म)मा आठ खर्ब ९७ अर्ब ९४ करोडको वस्तु आयात भएको छ । यो गत आवको सात महिनाको तुलनामा वस्तु आयात २.३१ प्रतिशतले कम हो । बुधबार सार्वजनिक भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा २१ अर्ब २२ करोड कम मूल्यका वस्तु आयात भएका छन् । त्यस्तै, निर्यातमा पनि ७.०७ प्रतिशतले गिरावट आएको छ । चालू आर्थिक वर्षको माघसम्म ८६ अर्ब ८३ करोडको वस्तु निर्यात भएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब ६० करोड रुपैयाँ कम हो । 

देशको व्यापारमा आयातको हिस्सा ठूलो भएकाले व्यापार घाटा केही घटिरहेको छ । गत आर्थिक वर्षको माघसम्म आठ खर्ब २५ अर्ब रहेको व्यापार घाटा यो वर्ष आठ खर्ब ११ अर्बमा सीमित भएको छ । विभागका अनुसार १४ अर्ब ६२ करोडले व्यापार घाटामा कमी आएको छ । निर्यातसँगै आयातमा आएको गिरावटले वैदेशिक व्यापारमा समेत गिरावट आएको छ । कुल वैदेशिक व्यापार १० खर्ब १२ अर्बबाट घटेर नौ खर्ब ८४ अर्बमा झरेको छ । 

 भारतबाट आयात भएका प्रमुख वस्तु
नेपालको वैदेशिक व्यापारको प्रमुख साझेदार भारतबाट यस अवधिमा पाँच खर्ब ८७ अर्बको वस्तु आयात भएका छन् । यो कुल आयातको ६१.७८ प्रतिशत हो । भारतबाट आयात हुने प्रमुख १० वस्तुमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामजन्य उत्पादन, औषधि, हवाई इन्धन, फलामको पाता, भटमासको पिना, कोइला र धान छन् । 

कुल आयातमै प्रमुख वस्तुको रूपमा रहेको डिजेल भारतबाट ७७ अर्ब ४१ करोड    को आयात भएको छ । त्यस्तै, पेट्रोल ३८ अर्ब ८२ करोडको, खाना पकाउने ग्याँस ३० अर्ब ३१ करोडको आायात भएको तथ्यांक छ । विभागका अनुसार २२ अर्ब ६६ करोडको फलामजन्य उत्पादन, १४ अर्ब ९२ करोड औषधि, ११ अर्ब ९८ करोडको हवाई इन्धन र १० अर्ब ७४ करोडको फलामको पाता आयात भएको छ । साथै, भटमासको पिना १० अर्ब २९ करोड, कोइला आठ अर्ब ३८ करोड र धान    सात अर्ब ३७ करोड मूल्यबराबरको आयात भएको विभागको तथ्यांक छ । प्रमुख १० वस्तुहरूको कुल आयात दुई खर्ब ३२ अर्बबराबर छन् । 

 चीनबाट तीन अर्बको लाइटर भित्रियो
नेपालको कुल आयातमा चीनको हिस्सा ३१.२० प्रतिशत देखिन्छ । चालू आवको माघसम्म चीनबाट एक खर्ब ७३ अर्बको वस्तु आयात भएको छ । चीनबाट आयात हुने प्रमुख १० वस्तुमा स्मार्टफोन, सय किलोवाटभन्दा कम क्षमताका विद्युतीय गाडी, फलामका पाता, रासायनिक मल, धागो, ल्यापटप र नोटबुक, स्याउ, लाइटर, विद्युत् मिटर र फेब्रिक छन् । 

विभागका अनुसार ११ अर्ब ८५ करोडको स्मार्टफोन, आठ अर्ब ६५ करोडको सय किलोवाटभन्दा कम क्षमताका विद्युतीय गाडी, आठ अर्ब ११ करोडको फलामका पाता, ६ अर्ब २६ करोडको रासायनिक मल आयात भएका छन् । त्यस्तै, चार अर्ब ४४ करोडको धागो, चार अर्ब २२ करोडको ल्यापटप तथा नोटबुक, चार अर्ब १६ करोडको स्याउ, दुई अर्ब ९३ करोडको लाइटर, दुई अर्ब नौ करोडको विद्युत् मिटर र एक अर्ब ६७ करोडको फेब्रिक आयात भएको तथ्यांकले देखाएको छ । 

भारतले आफ्नो मुलुकमा २० भारुभन्दा सस्तो दरका लाइटरमा प्रतिबन्ध लगाएपछि नेपालमा चीनबाट बढी मात्रामा लाइटर भित्रिन थालेको राजस्व अनुसन्धान विभागका अधिकारीहरू बताउँछन् । विभागका एक अधिकारीले भने, ‘हामीले चीनबाट अस्वाभाविक रूपमा वृद्धि भइरहेको लाइटर आयातलाई सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौँ । भारतमा अवैध तवरले निकासी भइरहेको केही जानकारी आइरहेका छन् ।’

 १० मुलुकमा १२ करोडभन्दा बढीको मदिरा बिक्री
नेपालले पछिल्लो सात महिनामा विभिन्न १० मुलुकमा मदिरा तथा बियर निर्यात गरेको छ । यस अवधिमा १२ करोड १० लाख ६७ हजार मूल्यबराबर मदिरा निर्यात भएको छ । नेपालबाट ६ करोड ३४ लाख रुपैयाँबराबरको बियर निर्यात भएको देखिएको छ । नेपालले अस्ट्रेलिया, बेल्जियम, हङकङ, हंगेरी, भारत, जापान र अमेरिकामा बियर निर्यात गरेको छ । नेपाली बियरको बढी माग भारत र अस्ट्रेलियामा छ ।एक करोड ४७ लाखभन्दा बढी मूल्यबराबरका ह्विस्की निर्यात भएको छ । नेपाली ह्विस्की बेल्जियम, हङकङ, भारत र जापान निर्यात भएको तथ्यांकले देखाएको छ । 

त्यस्तै, तीन करोड २९ लाखभन्दा बढीको रम निर्यात भएको छ । यसरी सिंगापुर, हङकङ, इटाली, जापान, अमेरिका र अस्ट्रेलियामा निर्यात भएको विभागले जनाएको छ । बेल्जियम, हङकङ र जापानमा भोड्का निर्यात भएको छ । त्यस्तै, न्यूजिल्यान्डमा पनि नेपाली मदिराको बजार रहेको तथ्यांकले देखाएको छ । पछिल्लो समय निर्यातमा सम्भावना बढाइरहेको सिमेन्ट र क्लिंकर माघसम्म दुई अर्ब ६ करोडबराबर निर्यात भएको तथ्यांक छ । सबैभन्दा बढी निर्यात हुनेमा कार्पेट, अलैँची, पाम तेल, जुस र धागो छन् । 

 ५८ मुलुकबाट भित्रियो १७ अर्ब ३८ करोडको स्मार्टफोन
विभागका अनुसार ५८ मुलुकबाट सात महिनामा १७ अर्ब ३८ करोडको स्मार्टफोन भित्रिएका छन् । जसमा ११ अर्ब ८५ करोडभन्दा बढीको स्मार्टफोन चीनबाट र पाँच अर्ब २४ करोड बढीको स्मार्टफोन भारतबाट आयात भएको छ । तेस्र्रोमा अमेरिकाबाट पाँच करोड ९६ लाखबराबरको स्मार्टफोन आयात भएको छ । भियतनाम, जापान, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया र कोरियाबाट बढी मात्रामा स्मार्टफोन आयात भइरहेको तथ्यांकले देखाएको छ । भारत, युएई र टर्कीबाट १२ अर्ब ९५ करोडबराबरको सुन आयात भएको छ । १६ अर्ब सात करोड २३ लाख रुपैयाँ मूल्यको विद्युतीय गाडी आयात भएको विभागले जानकारी दिएको छ । 

ad
ad