आइसिसी विश्वकप लिग– २ को आफ्नो दोस्रो खेलमा राम्रो सुरुवात गरेर पनि लगातार विकेट गुमाएपछि समस्यामा देखिएको नेपाली ब्याटिङ पुनः सम्हालिएको छ ।
ओपनर आसिफ शेख र अलराउन्डर कुशल मल्लले क्रिजमा डटेर खेलेपछि नेपाली ब्याटिङ सम्हालिएको हो । यी दुईबीच अर्धशतकीय साझेदारी बनिसकेको छ ।
आज बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएपछि आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर, १८ रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेल आउट भएपछि नेपालले लगातार तीन विकेट गुमाउन पुग्यो ।
टिमको स्कोर ३८ हुँदा कुशल आउट भएका थिए । त्यसपछि क्रिजमा आएका अनिल साह शून्य रनमा आउट भए । राष्ट्रिय टिममा पुनरागमनपछि लगातार राम्रो फर्ममा रहेका अनिल दुई बल मात्र खेली आउट भए ।
उनी आउट भएपछि पाँच रन मात्र जोडेको अवस्थामा नेपालले तेस्रो विकेट गुमायो । यू–१९ टिमका कप्तान देव खनाल पनि डकआउट हुन पुगे । उनले पाँच बल खेलेका थिए ।
राम्रो सुरुवात गरेर पनि एकाएक संकटमा परेको नेपाली ब्याटिङलाई त्यसपछि क्रिजमा आएका कुशल मल्ल र ओपनर आसिफले सम्हालिरहेका छन् । यसबीच आसिफले एकदिवसीय क्रिकेटमा १२औँ अर्धशतक प्रहार गरिसकेका छन् भने कुशल २२ रन बनाएर खेलिरहेका छन् ।