मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Tuesday, 11 March, 2025
एजेन्सी लन्डन
२o८o फाल्गुण ९ बुधबार o८:११:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिका सुपुर्दगी रोक्न बेलायती अदालतमा असान्जको अन्तिम प्रयास

Read Time : < 1 मिनेट
एजेन्सी, लन्डन
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार o८:११:oo

बेलायतको उच्च अदालतले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई सुपुर्दगी गर्नुपर्ने अमेरिकाको अनुरोधविरुद्ध असान्जको अपिलमा मंगलबार र बुधबार सुनुवाइ तोकेको छ । असान्ज अमेरिका सुपुर्दगी भए भने उनलाई अधिकतम १७५ वर्षको जेल सजायसम्म हुन सक्छ ।

असान्जकी पत्नी स्टेलाले त्यस्तो सजाय असान्जका लागि मृत्युदण्डको हुने चिन्ता व्यक्त गर्दै आएकी छिन् । ‘उनको शारीरिक र मानसिक स्वास्थ्य दुवै कमजोर हुँदै गएको छ । उनको जेलजीवन हरेक दिन कष्टकर बन्दै गएको छ । उनलाई सुपुर्दगी गरियो भने त्यो मृत्युदण्ड दिइएबराबर हुन्छ,’ स्टेला असान्जले हालै पत्रकारहरूलाई बताइन् । 

यदि ब्रिटिस अदालतले बुधबार असान्जविरुद्ध निर्णय सुनायो भने उनको कानुनी टोलीले ‘मानव अधिकारको लागि युरोपेली अदालत’मा अपिल गर्ने योजना बनाएको छ । तथापि युरोपेली अदालतले असान्जअनुकूल फैसला नै गर्‍यो भने पनि त्यसवेलासम्म असान्ज अमेरिका सुपुरर्दगी भइसकेका हुन सक्नेछन् । मंगलबार र बुधबारको सुनुवाइका क्रममा बिरामीका कारण असान्ज अदालतमा उपस्थित नहुने उनका वकिलले जानकारी दिए । तर, अमेरिकाले निरन्तर असान्जको सुपुर्दगीका लागि दबाब दिइरहेको छ । अमेरिकाको पूर्वी भर्जिनियास्थित जिल्ला अदालतमा असान्जविरुद्ध जासुसीका १७ आरोप दर्ता भएका छन् । 

ती आरोप सबै असान्जले उनको वेबसाइट विकिलिक्समा प्रकाशित गरेका लाखौँ पृष्ठको गोप्य दस्ताबेजसँग सम्बन्धित छन् । अमेरिकी सरकारी वकिलहरूले असान्जविरुद्ध दायर गरेका मुद्दामा उनले अमेरिकी गुप्तचर विश्लेषक चेल्सी म्यानिङसँग मिलेर ती गोप्य कागजात हासिल गर्न पेन्टागनको सर्भर ह्याक गर्न षड्यन्त्र गरेको आरोप लगाइएको छ । पश्चिमी मिडियाले पनि पछ्याएको उक्त लिकमा अमेरिकी सेनाले इराक र अफगानिस्तानमा गरेको युद्ध अवराधका विवरण समावेश छन् ।